इरानविरुद्ध आक्रमण भए आणविक हतियारको विकल्प नरहेको चेतावनी
इरानका राष्ट्रपति मसूद पेजेस्कियानले आफ्नो देश अमेरिकासँग समान रुपमा वार्ता गर्न इच्छुक रहेको बताएका छन् । अमेरिकासँग प्रत्यक्ष वार्तामा सहभागी हुने वा नहुने स्पष्ट नगरी तेहरानको यो भनाइ सार्वजनिक भएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानलाई आफ्नो आणविक कार्यक्रमबारे प्रत्यक्ष वार्ता गर्न आह्वान गर्दै कूटनीति असफल भएमा इरानमाथि आक्रमण हुने चेतावनी दिएका थिए ।
इरानले वार्ताका लागि तयार रहेको तर धम्की र दबाबमा परेर प्रत्यक्ष वार्ता गर्न नसकिने जनाएको छ ।
‘इस्लामिक गणतन्त्र इरानले समान स्तरमा वार्ता चाहेको छ’- राष्ट्रपतिको वेबसाइटमा जारी विज्ञप्तिमा पेजेस्कियानले भनेका छन् । गत बिहीबार राष्ट्रपति ट्रम्पले इरानसँग ‘सिधा वार्ता’ गर्न चाहेको बताएका थिए ।
‘मलाई लाग्छ कि यो सोचेभन्दा छिटो जान्छ र तपाईं मध्यस्थहरूमार्फत अर्को पक्षलाई धेरै राम्रोसँग बुझ्नुहुन्छ’, अमेरिकी राष्ट्रपतिको भनाइ छ ।
पेजेस्कियानले ट्रम्पको भनाइबारे प्रतिप्रश्न गदै भनेका छन्, ‘यदि तपाईं वार्ता चाहनुहुन्छ भने चेतावनी दिनुको अर्थ के हो ?’
ट्रम्पले आयातित सामानमा कर लगाउनेलगायतका पछिल्ला नीतिलाई सङ्केत गर्दै पेजेस्कियानले आज अमेरिकाले इरानलाई मात्र नभइ विश्वलाई नै अपमानित गरिरहेको जिकिर गरेका छन् ।
संयुक्त राज्य अमेरिकाको नेतृत्वमा पश्चिमा देशहरूले दशकौँदेखि तेहरानले आणविक हतियार खोजेको आरोप लगाउँदै आएका छन् । इरानले यी आरोपहरूको खण्डन गर्दै आफ्नो आणविक गतिविधिहरू केवल नागरिक उद्देश्यका लागि मात्र भएको बताउँदै आएको छ ।
सन् २०१५ मा इरानले संयुक्त राज्य सुरक्षा परिषद्का स्थायी सदस्यहरू अर्थात् संयुक्त राज्य अमेरिका, फ्रान्स, चीन, रूस र संयुक्त अधिराज्यका साथै जर्मनीसँग आफ्नो आणविक गतिविधिहरू नियमन गर्न ऐतिहासिक सम्झौता गरेको थियो । यस सम्झौताले इरानी आणविक गतिविधिमा नियन्त्रणको बदलामा अन्य प्रतिबन्धहरू हटाएर राहत प्रदान गरेको थियो ।
सन् २०१८ मा ट्रम्पको पहिलो कार्यकालमा अमेरिका सम्झौताबाट पछि हटेको थियो र पुनः आर्थिक तथा राजनीतिक प्रतिबन्धहरूको घोषणा गरेको थियो । त्यसको जवाफमा इरानले सम्झौताअन्तर्गतका आफ्ना प्रतिबद्धताबाट पछि हटेको थियो र आफ्नो आणविक कार्यक्रमलाई तीव्रता दिएको थियो ।
इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका निकट सल्लाहकार अली लारिजानीले गत सोमबार इरानले आणविक अस्त्रको खोजी नगरे पनि इरानविरुद्ध आक्रमण भएमा आफूसँग आणविक हतियारको विकल्प नरहेको चेतावनी दिएका छन् ।
प्रतिक्रिया