राष्ट्रपति पौडेलद्वारा रामनवमी पर्वको शुभकामना

राष्ट्रपति पौडेलद्वारा रामनवमी पर्वको शुभकामना


रामनवमी पर्व, २०८१ का अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको नवमी तिथिका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्मदिनको रुपमा ‘राम नवमी’ पर्व धुमधामका साथ मनाउने परम्परा रहिआएको छ । यस दिन भगवान् श्रीरामको विशेष पूजाअर्चना, व्रत अनुष्ठान र जप ध्यान गर्नाले भगवत् कृपा प्राप्त भई आफूले चिताएको सम्पूर्ण कार्य पूरा हुने जनविश्वास रहेको राष्ट्रपति पौडेलले जारी गर्नुभएको शुभकामना सन्देशमा उल्लेख छ ।

शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले हाम्रो प्राचीन सभ्यताका साथै धर्म र संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ । रामनवमी भगवान् श्रीरामको जन्म दिवस मात्र नभई यो दिनलाई समस्त पृथ्वीमा अधर्मको पराजय र धर्मको स्थापना भएको खुसीयालीको दिवसका रुपमा पनि लिइन्छ । यस दिन मुलतः देशको विभिन्न स्थान एवं जनकपुरस्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्दछ ।

“राम नवमीजस्ता सांस्कृतिक तथा ऐतिहासिक पर्वहरूले हाम्रो विविध जातजाति, भाषाभाषी, सांस्कृतिक एवं भौगोलिक क्षेत्रका नेपालीको बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा लिएको छु”, राष्ट्रपति पौडेलले सन्देशमा भन्नुभएको छ । नेपालीको मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गरी यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावना अभिवृद्धि गर्न उत्प्रेरित गर्न सकोस् भन्ने कामना पनि उहाँले शुभकामना सन्देशमार्फत व्यक्त गर्नुभएको छ ।

  • रासस