✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ चैत २६ गते तद्अनुसार सन् २०२५ अप्रिल ८ तारीख मंगलबार चैत्र शुक्ल पक्षको एकादशी तिथि अश्लेषा नक्षत्र शूल योग वणि करण आनन्दादिमा आनन्द योग चन्द्रमा कर्कट राशिमा १०ः५० बजेसम्म त्यसपछि सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४९ मा भयो र सूर्यास्त साँझ १८ः२४ बजेमा हुनेछ । कामदा एकादशी व्रत ।
आजको राशिफल
मेष – नयाँ कामको सुरुवात खासै राम्रो नभएपनि आजको दिन कीर्तिमानी काम सम्पादन हुनसक्ने योग छ । विभिन्न अवसर पाइनेछ, तर कार्यमा हैरानीको मात्र बढ्न सक्छ, विवेक प्रयोग गरी अघि बढ्नुहोला । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । मिठो भोजन प्राप्त हुनेछ । यात्रामा सफलता मिल्नेछ । आमोदप्रमोदको माहोल रहला ।
वृष – सानातिना समस्या आइरहे पनि सामाजिक कार्यमा रुचि बढ्ने समय छ । तपाईंबाट गरिएका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको सही उपयोगले लक्ष्य प्राप्त गर्न सकिएला । शुभ समाचार प्राप्त हुने र समाचारले उत्साह बढाउन सक्छ । आनन्द वृद्धि हुनेछ । जस्तोसुकै पारिवारिक समस्याको समाधान मिल्नेछ । उत्साह वृद्धि होला ।
मिथुन – दन मनोरञ्जनपूर्ण रहनेछ । सरसफाइ, वागबगैंचासम्बन्धी काममा आकर्षण बढ्नेसमय छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने देखिन्छ । विशेष योजनाहरू बन्नेछन् भने नयाँ ज्ञान सिक्ने मौका जुर्ला । पढाइलेखाइमा प्रगति हुनेछ । आत्मीयजनसँगको भेटघाटले मनमा प्रशन्नता बढाउनेछ । पराक्रम वृद्धिका साथै ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – नियमित कार्यमा समस्या नरहेपनि नयाँ काममा हात हाल्न केही समय पर्खंनु उचित होला । काममा बाधा दिन खोज्ने तथा पीडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदम सजक रही व्यवहार गर्नु हितकर हुनेछ । कामका कतिपय अवसर फुत्कने सम्भावना देखिन्छ, ध्यान राख्नुहोला । आरोग्यबल बढ्नेछ । यात्रागत कार्य सार्थक रहनुका साथै मनोरञ्जनात्मक माहोलले पछ्याउने देखिन्छ । खेलकुद, भ्रमण् एवम् रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ भने बोली र व्यक्तित्वको प्रभाव रहला । आध्यात्मिक भाव जागृत हुनुका साथै सामाजिक कार्यप्रति रुचि बढ्ने देखिन्छ । परोपकारी कार्यले प्रतिष्ठा बढाउला । मनोरञ्जनात्मक क्रियाकलापमा सरिक हुनुका साथै मित्रजनसँगको साथमा मिष्ठान्न भोजनको अवसर जुर्नेछ । बौद्धिक एवम् रचनात्मक काममा विशेष सफलता मिल्नेछ ।
कन्या – दौडधुप नगरी घरै बसेर विभिन्न काम सम्पादन गर्न सकिने समय छ । काममा परिवारजनको सहयोग प्राप्त होला । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । व्यापारमा फाइदाको योग छ । भौतिक साधन जुट्नेछन् । प्राकृतिक पर्यावरणमा रमाउने दिन छ । आयबल वृद्धि हुनुका साथै आर्थिक समस्या समाधान होला । कार्यगति बढ्नेछ । कामको लागि यात्रा गर्दै हुनुहुन्छ भने यात्रा सार्थक रहनेछ ।
तुला – कर्मबल वृद्धिका साथै अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । मेहनतले सफलताको मार्ग चुम्ला । व्यवसायका लागि यात्राको सम्भावना छ । स्वास्थ्य सबल रहनेछ भने दाम्पत्यजीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । साहसिक कार्यमा आकर्षण रहनेछ ।
वृश्चिक – मिश्रित फलदायी दिन छ । रोकिएका कामहरू कठोर मिहिनेतले अघि बढे पनि सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । कसैबाट प्राप्त अस्वाभाविक प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ । यसले आफ्नो स्वतन्त्रतामा बाधा पुऱ्याउन सक्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ, तर खर्च वृद्धिको योग छ । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । चुनौतीका बाबजुद शत्रुपक्षलाई परास्त गर्न सकिनेछ ।
धनु – दौडधुप वा ब्यस्तता बढ्ने समय छ । लगानी, परिश्रम र प्रयत्नको उचित मूल्य नमिल्न सक्छ । तथापि, शुभ समाचारले हर्ष र उत्साह बढाउन सक्छ । महत्वपूर्ण योजनामा हात हाल्दै हुनुहुन्छ भने आज थाती राख्नु उचित हुनेछ । चिताएको काम पुरा नहुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ, तर सबल स्वास्थ्यका लागि खानपानमा विशेष ख्याल राख्नुहोला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मकर – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्न सकिनेछ । बुद्धि–विवेकले सही काम गर्नुका साथै तार्किक क्षमता बढ्नेछ । प्रेमभाव बढ्नेछ । दाम्पत्य सम्बन्ध सुमधुर रहला ।
कुम्भ – अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्ने समय छ । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुनसक्छ । नियमित कार्यमा जाँगर बढ्ने देखिन्छ । व्यवसायमा लाभ नै हुनेछ । गुरुजनको विशेष साथ–सहयोग रहनेछ । साहसर सामर्थ्य वृद्धि हुनेछ भने यात्रागत कार्य सार्थक रहनेछ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा बल पुग्ला ।
मीन – आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । गोपनीयतामा ध्यान दिँदै विशेष सतर्क रही नियमित कार्यमा जुट्नु उचित होला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही चिसोपन बढ्ने सम्भावना छ, संयमपूर्ण व्यवहार गर्नु हितकर हुनेछ । निश्चय भएको काम अचानक बिग्रन सक्ने योग छ । आरोग्यबल बढ्नेछ । साझेदारीको काम बन्नेछ ।
प्रतिक्रिया