इरानसँग प्रत्यक्ष ‘आणविक वार्ता’ गर्ने ट्रम्पको घोषणा

इरानसँग प्रत्यक्ष ‘आणविक वार्ता’ गर्ने ट्रम्पको घोषणा


संयुक्त राज्य अमेरिकाले इरानसँग उसको आणविक कार्यक्रमलाई लिएर प्रत्यक्ष, उच्चस्तरीय वार्ता सुरु गर्न गइरहेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको ह्वाइट हाउस बैठकमा यो आश्चर्यजनक घोषणा गरेका हुन् ।

सोमबार (७ अप्रिल) ओभल अफिसमा बोल्दै ट्रम्पले तेहरानसँग सम्झौतामा पुग्ने आशावादी रहेको तर वार्ता असफल भएमा इरान ‘ठूलो खतरामा’ पर्ने चेतावनी दिए ।

तेहरानले ओमानमा शनिबारका लागि छलफल तय भएको पुष्टि गरेको छ तर ती ‘अप्रत्यक्ष’ वार्ताहरू रहेकोमा जोड दिएको छ । इरानी समाचार एजेन्सी तस्निमका अनुसार विदेशमन्त्री अब्बास अराघची र मध्यपूर्वका लागि शीर्ष अमेरिकी दूत स्टिभ विटकफले वार्तामा भाग लिनेछन् ।

‘यो जति एउटा परीक्षा हो त्यति नै एउटा अवसर पनि हो’, अराघचीले एक्समा लेखेका छन्, ‘बल अमेरिकाको कोर्टमा छ ।’

यसैबीच नेतन्याहुले संयुक्त राज्य अमेरिका र इजरायलले युद्धग्रस्त गाजाबाट बन्धकहरू मुक्त गर्ने अर्को सम्झौतामा काम गरिरहेको बताएका छन् । गाजामा इजरायल र इरानको सहयोगी हमाससँगको शान्ति सम्झौता भङ्ग भएको छ ।

‘हामी इरानीहरूसँग व्यवहार गर्दैछौँ, हामीले शनिबार एउटा ठूलो बैठक गरेका छौँ र हामी उनीहरूसँग प्रत्यक्ष व्यवहार गर्दैछौँ’, अमेरिकी भन्सार महसुलबाट इजरायललाई बचाउने प्रयासमा केन्द्रित हुने भनिएको बैठकपछि ट्रम्पले पत्रकारहरूसँग भनेका छन् । उनले वार्ता कहाँ हुने बताएनन् तर यसमा प्रतिनिधिहरू समावेश नहुने र ‘लगभग उच्चतम स्तर’मा वार्ता हुनेमा जोड दिए ।

इरानले देशको आणविक कार्यक्रमलाई रोक्नका लागि नयाँ सम्झौतामा प्रत्यक्ष वार्तालाई अस्वीकार गरेपछि ट्रम्पको आश्चर्यजनक घोषणा आएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१८ मा आफ्नो पहिलो राष्ट्रपति कार्यकालमा अघिल्लो सम्झौताबाट हात झिकेका थिए र कुनै नयाँ सम्झौता हुन नसकेमा सम्भवतः अमेरिकी सहयोगमा इजरायलले इरानी सुविधाहरूमा आक्रमण गर्न सक्ने व्यापक अनुमान छ ।

तर ट्रम्पले तेहरानलाई कडा चेतावनी दिएका छन् । ‘यदि इरानसँगको वार्ता सफल भएन भने मलाई लाग्छ कि इरान ठूलो खतरामा पर्नेछ र म यो भन्न चाहँदिन, ठूलो खतरा, किनकि उनीहरूसँग आणविक हतियार हुन सक्दैन’, उनको भनाइ छ ।

नेतन्याहु व्यक्तिगत रूपमा विश्वलाई हल्लाउने अमेरिकी करबाट मुक्तिका लागि अनुरोध गर्ने पहिलो विदेशी नेता बनेपछि ट्रम्पको यस्तो खुलासा भएको हो ।

– गाजा वार्ता –

नेतन्याहु र ट्रम्पले गाजाको बारेमा पनि छलफल गरेका छन् । गाजामा अमेरिकी–मध्यस्थता गरिएको इजरायल र हमासबीचको अल्पकालीन युद्धविराम भङ्ग भएको छ ।

नेतन्याहुले सन् २०२३ अक्टोबरमा इजरायलमा भएको अभूतपूर्व आक्रमणका क्रममा हमासले लिएका थप बन्धकहरूलाई मुक्त गर्ने उद्देश्यले नयाँ वार्ता भइरहेको बताए । ‘हामी अहिले अर्को सम्झौतामा काम गरिरहेका छौँ जुन सफल होस् भन्ने आशा छ र हामी सबै बन्धकलाई बाहिर निकाल्न प्रतिबद्ध छौँ’, उनले भने ।

ट्रम्पले पनि गाजा पट्टीलाई ‘नियन्त्रण’ गर्ने आफ्नो योजनामा जोड दिए । यसलाई उनले ‘एक उत्कृष्ट भूखण्ड’ भनेर वर्णन गरे । उनले यो योजना पहिलो पटक फेब्रुअरीमा नेतन्याहुले उनलाई भेट्दा घोषणा गरेका थिए ।

यसअघि ट्रम्पले वेस्ट विङ बाहिर नेतन्याहुलाई स्वागत गरे र दुई नेताहरू ओभल अफिसमा बैठकका लागि भित्र जानुअघि आफ्नो मुठी हल्लाएका थिए ।

गत हप्ता राष्ट्रपतिले आफ्नो ‘मुक्ति दिवस’को घोषणामा इजरायलमाथि १७ प्रतिशत कर लगाएको केही दिनपछि ट्रम्प सत्तामा फर्किएपछि इजरायली प्रधानमन्त्रीको वासिङ्टनको यो दोस्रो भ्रमण हो ।

वासिङ्टनको इजरायलसँग उल्लेखनीय व्यापार घाटा रहेको भन्दै ट्रम्पले अमेरिकी सैन्य सहायताको सबैभन्दा ठूलो लाभार्थी इजरायललाई आफ्नो विश्वव्यापी भन्सार प्रहारबाट छुट दिन अस्वीकार गरे । नेतन्याहुले आइतबार आफ्नो आगमनपछि तुरुन्तै वाणिज्यमन्त्री हावर्ड लुटनिक र व्यापार प्रतिनिधि जेमिसन ग्रिरसँग भेट गरे ।