नाइट क्लबको छत खस्दा साठी जनाको मृत्यु, दर्जनौँ घाइते

नाइट क्लबको छत खस्दा साठी जनाको मृत्यु, दर्जनौँ घाइते


डोमिनिकन रिपब्लिकको राजधानी सान्तो डोमिङ्गोस्थित जेट सेट नाइट क्लबको छत खस्दा कम्तीमा साठी जनाको मृत्यु भएको र दर्जनौँ मानिस घाइते भएका छन् ।

प्रसिद्ध डोमिनिकन मेरेंग गायक रुबी पेरेजले स्टेजमा प्रदर्शन गरिरहेका बेला अचानक अँध्यारो भयो र त्यहि समयमा क्लबको छत खस्न थालेको थियो । दुर्घटना हुँदा क्लबमा ५०० देखि एक हजार जनासम्म मानिस रहेका बताइएको छ ।

मंगलबार (८ अप्रिल) भएको घटनापछि चार सय भन्दा बढी उद्धारकर्मी र दर्जनौं एम्बुलेन्सहरू घाइतेहरूको उद्धारमा संलग्न गराइएको थियो ।

राष्ट्रपति लुइस अबिनाडेरले उद्धार कार्यलाई प्राथमिकता दिन घटनास्थलको अनुगमन गरेका थिए ।

सान्टो डोमिङ्गोमा रहेको उक्त एकतले जेट सेट नाइटक्लबमा भग्नावशेषमा बाँचेकाहरूको खोजी उद्धारटोलीले गरिरहेको जानकारी दिँदै आपतकालीन सञ्चालन केन्द्रका निर्देशक जुआन म्यानुएल मेन्डेजले भनेका छन्, ‘हामी अनुमान गर्छौं कि तिनीहरूमध्ये धेरै अझै जीवित छन् र त्यसैले यहाँका अधिकारीहरूले त्यो भग्नावशेषमुनि एक जना पनि नरहेको बेलासम्म उद्धार कार्य जारी रहख्नेछन् ।’

नाइटक्लबको माथिल्लो भाग दर्शकहरुमाथि खसेको घण्टौँसम्म पनि उद्धार टोलीहरूले भग्नावशेषबाट बाँचेकाहरूलाई बाहिर निकालिरहेका बताइएको छ ।