गाजामा इजरायली आक्रमण : २९ जनाको मृत्यु

गाजामा इजरायली आक्रमण : २९ जनाको मृत्यु


इजरायली हवाई आक्रमणले गाजा सिटीको शुजैय्या क्षेत्रमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् । यसैगरी, भग्नावशेषमा केही मानिसहरू फसेका गाजा सिभिल डिफेन्सले जनाएको छ ।

गाजा सिभिल डिफेन्सका प्रवक्ता महमूद बसलले उद्धार टोलीहरूले भग्नावशेषमा फसेका जीवित र मृतकहरूलाई निकाल्ने काम गरिरहेका बताएका छन् ।

आक्रमणमा आठ वटा घरलाई निशाना बनाइएको तर त्यसबाट वरपरका पुरै क्षेत्रलाई नष्ट गरेको फिलिस्तीनी सुरक्षा स्रोतहरूले जनाएका छन् भने इजरायली सेनाले यस बारेमा केही बोलेको छैन ।

गाजा स्वास्थ्य अधिकारीहरूका अनुसार चौबिस घण्टामा ३६ शव र ४१ घाइते व्यक्तिहरू अस्पतालमा ल्याइएका छन् । इजरायलले १८ मार्चमा सैन्य कारबाही सुरु गरेपछि एक हजार ४८२ प्यालेस्टिनीको मृत्यु भएको र तीन हजार ६८८ घाइते भएका बताइएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म कम्तीमा ५० हजार ८४६ प्यालेस्टिनीको मृत्यु भएको छ । मृतकमध्ये कति नागरिक वा लडाकूहरू थिए भनेर सम्बद्ध मन्त्रालयले स्पष्ट गरेको छैन । इजरायली आक्रमणमा थप एक लाख १५ हजार सात सय २९ जना घाइते भएको मन्त्रालयले जनाएको छ । इजरायलले कुनै प्रमाण नदिइ करिब २० हजार लडाकू मारिएको उल्लेख गरेको छ ।