✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ चैत २९ गते तद्अनुसार सन् २०२५ अप्रिल ११ तारिख शुक्रबार चैत्र शुक्ल पक्षको चतुर्दशी तिथि उत्तरा फाल्गुनी नक्षत्र ध्रुव योग गर करण आनन्दादिमा शुभ योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४६ मा भयो र सूर्यास्त साँझ १८ः२६ बजे हुनेछ ।
आजको राशिफल
मेष – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि फाइदा हुनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । तथापि, दिनको अघिल्लो खण्ड शुभदायी रहेपनि साँझदेखि केही समस्या देखापर्नसक्ने सम्भावना रहेकोले सावधान रहनु उचित होला । यात्रागत कार्यमा सफलता मिल्नेछ । विपरीतलिंगीको विशेष सहयोग रहनेछ ।
वृष – रोकिएका काम बन्न शुरु गर्ने र नयाँ कामसमेत पाइने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् भने बोली र ब्यक्तित्वको प्रभाव बढ्नेछ । प्रेमभाव वृद्धि होला । यात्रा शुभदायी रहनेछ । मित्रहरुको साथ मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक तथा रचनात्मक काममा विशेष सफलता मिल्ने एवम् पारिवारिक समस्याको समाधान हुने देखिन्छ । तर, पुरानो समस्याले झमेला आइलाग्ने योग रहेकोले सजगताको खाँचो छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ, होसियार रहनु उचित होला ।
मिथुन – अनावश्यक दौडधुपमा समय बित्ने सम्भावना रहेकोले आजको दिन कामको महत्व मनन गरी प्राथमिकताका आधारमा कार्य गर्नु हितकर होला । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ तर व्यापारमा होसियारीसाथ काम लिनुपर्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – आजको दिन नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने सम्भावना छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । पढाइलेखाइमा समय दिन नसकिएला । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वादिष्ट भोजनमा मन रमाउनेछ । निकट मित्रको सहयोगले दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने योग छ, समय चिनेर कर्म गर्ने प्रयास गर्नुहोला । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – केही चुनौती बढ्नसक्ने समय छ । काममा रोकावट र कममात्र फाइदा हुने देखिन्छ । नियमित कार्यमा आलश्यका कारण बाधा पर्नसक्छ । सहयोगीहरूले हात झिक्नाले अलिक अप्ठ्यारोमा परिएला । फजुल खर्चको योग छ, आर्जित धन तत्काल खर्च हुन सक्छ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । विपरीतलिंगीको साथ-सहयोग रहनेछ । कलात्मक कार्यमा विशेष सफलता मिल्नेछ ।
कन्या – नयाँ काममा हात हाल्ने समय छ । नसोचेको ठाउबाट धनलाभ हुने देखिन्छ । तर, बाध्यतामा अलमलिनुपर्दा काम रोकिन सक्छ । काममा मातापिताको सहयोग प्राप्त भएपनि काम बिग्रने डरले सताइरहने देखिन्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । आरोग्यबल बढ्नेछ । यात्रामा साथीभाइको सहयोग रहनेछ । पराक्रम वृद्धिसँगै कार्यगति बढ्नेछ ।
तुला – रचनात्मक काम सुरु गर्ने समय छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्ला । कामको सन्दर्भमा यात्रा हुनसक्छ, यात्रा फलदायी रहनेछ । धनलाभको योग छ । कृषिजन्य पेशामा हुनेका लागि विशेष फलदायी समय छ । मित्रहरूको राम्रो साथ रहला । यश वर्चश्व बढ्नेछ । समग्रमा दिन रमाइलैसँग बित्नेछ ।
वृश्चिक – पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका जुर्ने देखिन्छ । सामर्थ्य वृद्धि हुनेछ । नियमित कार्यमा जाँगर रहनेछ । साझेदारीको काममा केही समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ, ध्यान राख्नुहोला । अरूको फाइदाका लागि उपयोग हुनसक्ने सम्भावनाप्रति सजग रहनु हितकर होला । सबल स्वास्थ्यका लागि मसलाजन्य खानाबाट बच्नु हितकर होला । जथाभावी खर्चबाट जोगिन योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । कृषि क्षेत्रबाट विशेष लाभ उठाउन सकिएला । पढाइलेखाइमा प्रगति हुनेछ । सोचेको काम सफलतापूर्वक सम्पन्न होला । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने योग छ, तर असंयम व्यवहारले सम्बन्ध बिग्रन सक्छ, सजग रहनुहोला । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ ।
मकर – भाग्यबल बढ्नेछ । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव वृद्धि होला । भूमि तथा मातृधनबाट विशेष लाभ मिल्ने समय छ । पारिवारिक जमघटमा मन रमाउनेछ, तर भेटघाटको अलमलले नोक्सान पुऱ्याउन सक्छ, ध्यान राख्नुहोला । सहयोगीहरूले राम्रै साथ दिनाले प्रतिस्पर्धी परास्त हुनेछन् । कृषि तथा पशुपालन कार्यमा खर्च केही बढ्नेछ । अध्ययन-अध्यापनमा खासै मन नलागे पनि आत्मविश्वास बढ्नेछ । परिवारिक सुख र आफन्तको साथले उत्साह बढ्नेछ ।
कुम्भ – विगतका कमजोरी र बिग्रिएको सम्बन्धलाई सुधार गर्ने अवसर मिल्ला । अरूले बाधा पुऱ्याए पनि शुभचिन्तकहरूले साथ दिनेछन् । महत्वाकांक्षी योजना फलीभूत हुने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला तर मिहेनत फलदायी रहनेछ । विदेश भ्रमणको लागि प्रयत्न गरिरहनुभएको छ भने प्रयास परिणामदायी हुने समय छ । धन आर्जनको योग छ । उद्योग र व्यापारमा विशेष फाइदा हुने देखिन्छ ।
मीन – मेहनतले प्रशस्त लाभ उठाउन सकिने समय छ । व्यापारमा राम्रै फाइदा हुनेछ भने काममा विशिष्ट व्यक्तित्वको सहयोग रहला । तर, निकट सहयोगीहरूबाट अलिक धोका पाइने योग छ, सचेत रहनु उचित हुनेछ । अध्ययन कार्यमा पछि परिने सम्भावना छ । साझेदारीको काममा आलस्यले घर गर्ला । दाम्पत्य एवम् प्रेम सम्बनध सुखद रहनेछ । सुख विलास पनि बढ्ने देखिन्छ ।
प्रतिक्रिया