ट्रम्पको ‘अधिकतम दबाब’ अभियान र बारम्बार सैन्य धम्कीका बावजुद बैठकका लागि सहमत भएको तेहरानले वार्तालाई निरन्तरता दिने बताएको छ । ओमानमा शनिबार साढे दुई घण्टाभन्दा बढी अप्रत्यक्ष वार्तापछि इरानले वार्ता जारी राख्ने जनाएको हो ।
इरानको विदेश मन्त्रालयले भनेको छ, ‘दुवै पक्ष अर्को हप्ता यी वार्तालाई निरन्तरता दिन सहमत भएका छन् ।’
विदेशमन्त्री अब्बास अराघची र अमेरिकी विशेष दूत स्टिभ विटकोफले मध्यस्थताको छलफलपछि ‘केही मिनेट’ प्रत्यक्ष कुराकानी गरेका थिए ।
यसैबीच, मस्कटबाट प्राप्त समाचार अनुसार अमेरिका र इरानबीच मस्कटमा शनिबार भएको वार्ताको मध्यस्थता गरेका ओमानका उच्च कूटनीतिज्ञले ती वार्ताहरू ‘मैत्रीपूर्ण वातावरण’मा सम्पन्न भएको र ‘निष्पक्ष र बाध्यकारी सम्झौता’को खोजी सुरु गरेको बताएका छन् ।
शनिबारको अप्रत्यक्ष वार्तामा सन् २०१५ को सम्झौताका मुख्य योजनाकार तथा अनुभवी कूटनीतिज्ञ मानिने इरानी विदेशमन्त्री अब्बास अराघचीले इरानी प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए भने ट्रम्पका विशेष दूत स्टिभ विटकोफले अमेरिकी टोलीको नेतृत्व गरेका थिए ।
इरानको सरकारी टेलिभिजनले सार्वजनिक गरेको भिडियोमा अराघचीले भनेका छन्, ‘हाम्रो उद्देश्य समान हैसियतबाट निष्पक्ष र सम्मानजनक सम्झौतामा पुग्नु हो ।’
लेबनानमा इजरायलले आफ्ना सहयोगी हिजबुल्लाह र गाजामा हमासलाई लखेटेपछि कमजोर बनेको इरानले आफ्नो अर्थतन्त्रमा व्यापक प्रतिबन्धबाट राहत खोजिरहेको छ । इरानको कट्टर शत्रु इजरायलसँग सहकार्य गरेको अमेरिका तेहरानलाई आणविक बम विकास गर्नबाट रोक्न चाहन्छ ।
ज्ञातव्य छ, मस्कटको एक आरामदायी होटेलमा भएको वार्ताका क्रममा उच्चस्तरीय बैठकको कुनै सङ्केत देखिएको थिएन । वार्ताका क्रममा कुनै झण्डा वा असामान्य सुरक्षा उपायहरू अपनाइएको थिएन । सडकमा भने मानिस र यातायातको सामान्य मात्र हलचल देखिन्थ्यो ।
दशकौँदेखि कूटनीतिक सम्बन्ध नभएका दुई पक्षबीच शनिबार भएको सम्पर्क अमेरिका र इजरायल दुवैले पटक-पटक सैन्य कारबाहीको धम्की दिएपछि भएको हो ।
प्रतिक्रिया