सियरा लियोनको मध्य फ्रिटाउनस्थित राष्ट्रपति भवनभित्र शनिबार आगलागी भएको छ । आगलागीका समयमा राष्ट्रपति जुलियस माडा बायो घटनास्थलमा नभएको बताइएको छ ।
राष्ट्रपति बायो एक सम्मेलनमा भाग लिन हाल टर्की भ्रमणमा रहेका छन् ।
अग्निनियन्त्रकहरूले पाँच घण्टापछि आगो नियन्त्रणमा लिएको दमकल सेवाका एक वरिष्ठ अधिकारीले बताएका छन् ।
आगलागीबाट कोही पनि हताहत नभएको तर भवनमा रहेका कागजपत्र र फर्निचर जलेर नष्ट भएको अधिकारीहरुलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।
स्टेट हाउसको तेस्रो र चौथो तल्लामा विस्फोट भएको र दोस्रो तल्लामा रहेको राष्ट्रपतिको कार्यालयमा भने केही नभएको सूचना मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय समयअनुसार अपराह्न ४ः०० बजे सुरु भएको आगलागीको कारण खुल्न नसकेको बताइएको छ ।
सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोमा ठूलो सेतो भवनको माथिल्लो तलाको झ्यालमा आगोको ज्वाला र बाक्लो कालो धुवाँको मुस्लो देखिएको छ ।
प्रतिक्रिया