✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८२ बैशाख १ गते तद्अनुसार सन् २०२५ अप्रिल १४ तारिख सोमबार बैशाख कृष्ण पक्षको प्रतिपदा तिथि ६ः४९ पर द्वितीया तिथि स्वाती नक्षत्र वज्र योग कौलव करण आनन्दादिमा छत्र योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३८ मा भयो । बैशाख संक्रान्ति, नव वर्षारम्भ ।
आजको राशिफल
मेष – विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ । चिताएको काम बन्नाले प्रशन्नता मिल्ने देखिन्छ । प्रेमभाव एवम् सन्तानसुख बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । मनोरञ्जनात्मक यात्राको योग छ । अनुकूलता वृद्धि हुनेछ ।
वृष – कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । परिवारजनको साथले उत्साह जगाउला । नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमी-कमजोरीलाई पनि सुधार गर्ने मौका जुर्ला । धन आर्जनको योग छ । तथापि, विशेष कामका सहयोगीहरू पछि हट्नसक्ने र प्रतिस्पर्धीहरूले सताउन सक्छन्, सजग रहनुहोला । प्रेमभावका साथै आँट वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ ।
मिथुन – आजको दिन अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । अरूका काममा समय खर्चनुपर्ला । खानपानको असावधानीले स्वास्थ्य केही कमजोर बन्ने सम्भावना छ, सावधान रहनुहोला । प्रेमभाव बढ्नेछ । सभा-समारोहमा मान मिल्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । बौद्धिकताका साथै पराक्रम बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ ।
कर्कट – ब्यस्तता र कार्यबोझ केही बढेपनि मेहनतको फल प्राप्त हुने समय छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त होला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने योग छ, सजग रही व्यवहार गर्नु उचित होला । अरूको मात्र भर पर्दा धोका मिल्नसक्छ । मिठो भोजन प्राप्त हुनेछ । साथीभाइको सहयोगले कर्मबल बढ्ने देखिन्छ । रसरागमा आकर्षण रहनेछ ।
सिंह – विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । केही खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्ने योग छ । तथापि, अरूको मात्र भर पर्नाले महत्वाकांक्षा पूरा नहुन सक्छ, ध्यान राख्नुहोला । आरोग्यबल बढ्नेछ । रसरागका क्रियाकलापमा आकर्षण रहला ।
कन्या – गरिएका कामको राम्रै मूल्यांकन हुनुका साथै चिताएअनुसार आर्थि तथा भौतिक वस्तु लाभ हुने सम्भावना छ । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्यसुखमा रमाउने समय छ । मित्रजनका साथ रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ, विशेषगरी विपरीतलिंगीको साथ रहने देखिन्छ । मान महत्व बढ्नेछ ।
तुला – आजको दिन वादविवादमा परिने सम्भावना रहेकोले विचारलाई तौलेर मात्र व्यक्त गर्नु हितकर होला । छर-छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । अर्थ अभावको सम्भावना छ, जसले महत्वपूर्ण कार्यमा रोकावट आउन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिने देखिन्छ । आरोग्यता रहनेछ भने मिठो भोजन प्राप्त हुने देखिन्छ । यश-वर्चश्व बढ्ला ।
वृश्चिक – कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुनसक्ने समय छ, तर चुनौतीहरू पन्छाउँदै रोकिएका कामसमेत सम्पादन गर्न सकिनेछ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्ने सम्भावनाप्रति सजग रहनु हितकर होला । रोकिएको काम मिहिनेतले बन्नेछ । सामर्थ्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । विपरीतलिंगीको साथ-सहयोग रहनेछ । आरोग्यबल बढ्नेछ । सुख-सुविधाको वस्तुमा खर्च बढ्ने योग रहेकोले योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु – परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान दिनु हितकर होला । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन्, ध्यान राख्नुहोला । मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । आयबल बढ्नेछ भने मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण रहला ।
मकर – मिश्रित फलदायी समय छ । आँटेका काममा बाधा दिनेको सक्रियताका कारण अधिकारका लागि केही संघर्ष हुन सक्छ । फजुल खर्च पनि बढ्ने देखिन्छ । तथापि, कर्मबल बढ्नेछ । मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मानसमेत पाप्त हुने योग छ । विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त होला । रमाइलो जमघटले आनन्द दिलाउनेछ । आफ्नो दायित्व निर्वाहमा सफल रहनुहुनेछ ।
कुम्भ – समय केही चुनौतीयुक्त रहला । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् भने केही बाध्यतापूर्ण काममा जुट्नुपर्ला । स्वास्थ्य पनि केही कमजोर रहने सम्भावना छ, सजगता अपनाउनुहोला । स्वास्थ्यगत प्रतिकूलताका बाबजुद हिम्मतले काम लिनुका साथै भइपरी आउने समस्या सुल्झाउन सकिनेछ । आश मारेको काम पनि हिम्मतका साथ सम्पन्न हुँदा उत्साह जागृत हुनेछ । गाउनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ ।बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता मिल्नेछ ।
मीन – बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिने समय भएपनि कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । कार्य अधुरै रहेपनि आंशिक फाइदा नै हुने देखिन्छ । सामाजिक उत्तरदायित्व बहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका जुर्ला । खर्च केही बढ्ने योग छ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला ।
प्रतिक्रिया