युक्रेनको सुमीमा रुसी आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ३४, चौरासी जना घाइते

युक्रेनको सुमीमा रुसी आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ३४, चौरासी जना घाइते


युक्रेनको उत्तरपूर्वी शहर सुमीमा आइतबार (१३ अप्रिल) भएको रूसी मिसाइल आक्रमणमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना बालबालिकासमेत रहेका र ८४ जना घाइते भएका छन् ।

सुमी सहर पछिल्ला केही सातादेखि लगातार रूसी आक्रमणको सामना गरिरहेको छ ।

स्थानीय अधिकारीहरूले घाइतेहरूमा १० जना बालबालिका पनि रहेका जनाएका छन् । घटनास्थलमा उद्धारकर्मीहरूले भग्नावशेष हटाउने काम गरिरहेका छन् । केही सवारी साधनमा आगलागी भएको र सडकमा लासहरू देखिएको भिडियो सार्वजनिक गरिएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो आक्रमण ‘पाम सन्डे’को दिन भएको भन्दै दुःख व्यक्त गरेका छन् । उनले युद्ध अन्त्यका लागि रुसमाथि अन्तर्राष्ट्रिय दबाब आवश्यक रहेको बताए ।

फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रों र अन्य युरोपेली नेताहरूले पनि यस आक्रमणको आलोचना गर्दै रुसले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको जनाएका छन् ।

यसअघि अप्रिलको सुरुमा पनि युक्रेनको क्रिभी रिह शहरमा भएको आक्रमणमा १८ जनाको मृत्यु भएको थियो ।

रुसले हालै सुमी क्षेत्रको एउटा गाउँ कब्जा गरेको दाबी गरेको छ । युद्धको सुरुआतमा पनि रुसले यही क्षेत्रबाट आक्रमण थालेको थियो तर पछि युक्रेनी सेनाले केही भागहरू फिर्ता लिएको थियो ।

अहिलेसम्म रुसले सुमीमा भएको यो आक्रमणबारे आधिकारिक प्रतिक्रिया दिएको छैन ।