बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर

बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर


अरु व्यवसाय जस्तो बैंकिङ्ग संस्थाहरू नाफामात्रै आर्जन गर्ने व्यवसाय होइन । विश्वभर बैंकिङका नयाँ-नयाँ अवधारणा लागु छन् । बैंकिङले नाफा मात्रै नभएर सामाजिक उत्तरदायित्व, उद्यमशीलता वृद्धि, वित्तिय साक्षरता, आर्थिक विकास र वृद्धि, आर्थिक सन्तुलन र पर्यावरण संरक्षणसम्मलाई ध्यान दिनुपर्छ भनेर भन्न थालिएको छ । खासगरी उद्यमशीलताको विकास र प्रर्बद्धनमा त बैंकहरूले महत्वपुर्ण भूमिका खेल्छन् नै ।

यसर्थ, अन्यन्त्र बैंकिङलाई उच्च सम्मानपूर्वक हेरिन थालिएको छ । खासगरी अमेरिका, चाइना जस्ता व्यपारको जगमा सम्पन्न भएका देशहरूमा बैंकहरूको ब्याजदर अत्यन्त न्युन छन् । तर, नेपालमा केही समय अघिसम्म दोहोरो अंकको ब्याजदरको मारबाट उद्योगी-व्यवसायीले उन्मुक्ति पाएका थिएनन् । त्यसैले पनि बैंकहरूलाई व्यवसायीहरूले आधुनिक सुदखोर झैँ ठाने । जति सफाचट र प्रणालीमा चलेको भएपनि समाजमा बैंकहरूको पछिल्लो समय धेरै नै आलोचना भएको हो ।

विगतमा जे-जस्ता महामारी आएपनि बैंकहरूको नाफा वृद्धि भएकै हो, तर उद्योगी व्यवसायीहरू भने मारमा परिरहे । हालै केही वर्ष चलेको कोरोनाको माहामारीको असर अहिले पनि उद्योग-व्यवसायमा परिरहेको छ । एकातिर चर्को ब्याजदर र अर्कोतिर कोरोनालगायतका महामारी, आर्थिक असन्तुलन र मन्दी, युवा जनशक्तिको पलायनसँगै उपभोक्ताको मागमा आएको कमीले उद्योगी व्यवसायी मारमा परे । साना तथा लघुउद्यम व्यवसाय भयंकर मारमा परे । युवा पलायन बढ्यो । उद्यमशीलता र उद्यमीय सपना भित्रभित्रै मऱ्यो ।

अहिले पनि अर्थतन्त्र सुस्त हिसाबको मन्दीमै छ । आन्तरिक आर्थिक गतिविधिहरू कमजोर भएकैले अर्थतन्त्र सुधार आयोग नै बनाएर अनेकन प्रयास थालेको छ । अर्थतन्त्रको बाह्यपक्ष सकारात्मक भएपनि आन्तरिक अर्थतन्त्र र उद्यमशीलताको अवस्था कमजोर छ । तरपनि बैंकहरूको मुनाफा भने बढेकै देखिन्छ । जस्तो चालु आर्थिक बर्ष ०८१/८२ को ८ महिनामा वाणिज्य बैंकहरूले ४३ अर्ब बढी नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले २०८१ फागुन मसान्तसम्ममा ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । नविल, ग्लोबल आइएमई र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले यसबीच क्रमश ४ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ, ४ अर्ब ७२ करोड ९४ लाख र ४ अर्ब ८ करोड ५७ लाख रुपैयाँ नाफा कमाएका छन् । अरु बाणिज्य बैंकहरू पनि राम्रै नाफा आर्जन गरेका देखिन्छन् । यसरी बैंकहरूको मुनाफा मन्दी होस् वा कोरोना माहामारी वा जस्तै विपतद्मा पनि बढेकै देखिन्छ । तर उद्यमशीलता, आर्थिक बृद्धि र आन्तरिक आर्थिक गतिविधि, उद्योगधन्दा भने बढेको छैन, बरु कमजोर हुँदै गएको छ ।

यसले व्यवसायिक वातावरणमा राम्रो रहेको देखाउँदैन । जसले सामाजिक उद्यमशीलता, रोजगारी वृद्धिमा नकारात्मक प्रभाव पारेको छ । हिजोआज मानिसहरू कुन व्यवसाय गर्ने, के गर्ने भन्ने सम्बन्धमा एकचोटी सोच्लान् तर बैंकबाट ऋण लिँदा १० चोटी सोच्न थालेका छन् । वास्तवमा यसले दीर्घकालिन रुपमा बैंकहरूलाई बेफाइदा नै गर्ने हो ।

बैंकहरूले त ब्यवसायको दायरा बढाउनु पर्ने हो, तर बढी नाफा आर्जन गर्ने मात्रैको सोच स्थापित हुँदैछ । उनीहरूको नाफामात्रैको प्रतिस्पर्धामा उत्रिएर विगतमा घरजग्गा लगायत क्षेत्रमा धेरै नै लगानी केन्द्रित गर्दा खराब कर्जाको दर कहालीलाग्दो रुपमा बढेको छ । अहिले बाणिज्य बैंकहरूको औषत खराब कर्जाको दर ५ प्रतिशत नाघ्न थालेको छ । वास्तवमामा बैंकहरू अल्पकालिन नाफामा केन्द्रित रहँदा आर्थिक वृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता वृद्धिमा बैंकहरूको ध्यान जान सकेको छैन ।

उद्यमशीलता

नीजि क्षेत्रका कलेज तथा बैंक-वित्तिय संस्थाले उद्यमशीलता अभिवृद्धि गर्न सशक्त भूमिका खेल्न सक्छन्, तर त्यसको प्रभावकारी पहल उनीहरूले गरेका देखिँदैन । राज्यले पनि उमशीलतालाई प्रोत्साहन गरेको छैन । राजनीतिक दलहरू उद्यमी व्यवसायीहरूलाई पार्टी चलाउनका लागि चन्दा उठाउने स्रोत-साधन मात्रै ठानेका हुन्छन् । समाजमा उद्यमशीलता बढाउने, आर्थिक विकास गर्ने सोच उनीहरूमा कहिँकतै देखिँदैन ।

उद्यमी भनेका धेरै जनामा एक-दुई जना सफल भएका हुन्छन्, त्यो पनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर । उद्यमीमा पैसा कमाउने र बढाउने ब्यग्र इच्छा हुँदैनथ्यो भने उसले कसरी व्यवसाय विस्तार गर्ला ? पैसा कमाउने उद्यमीको प्रकृति वा जात नै हो । उद्यमीले पैसा कमाएकोमा समाजले डाहा गर्नु कचाचित हुँदैन । एउटा उद्यमीले पैसा मात्रै कमाइरहेको नभइ उसले धेरैलाई रोजगारी पनि दिएको हुन्छ । बैकहरूसँग ऋण लिएर उनीहरूको आम्दानी वृद्धिमा सघाएको हुन्छ । आयात तथा निर्यात व्यापारमा सघाएर राज्यको राजस्व रकम बढाएको हुन्छ । राज्यलाई आयकर तिरेर सरकारलाई आम्दानीको स्रोत जुटाएको हुन्छ । नयाँ-नयाँ उद्योग, कारखाना खोलेर मुलुकलाई आत्मनिर्भर, समृद्ध र विकसित बनाउन उद्यमीले सघाएको हुन्छ । अनि हामी तिनै उद्यमीहरू जो मौरीजस्तो खटिरहेका हुन्छन्, दिमाग खियाइरहेका हुन्छन्, तिनैलाई लखेट्छौँ भने देश कसरी उँभो लाग्छ ? त्यसकारण उद्यमी व्यवसायी भनेका राज्यका गहना हुन् । उनीहरूहरूलाई राज्यले, समाजले, वित्तिय संस्थाहरूले सबैले सम्मान गर्नुपर्छ, उनीहरूलाई सहयोग गर्नुपर्छ ।

उद्यमशीलता वृद्धिमा बैंकको भूमिका

धेरैजसो उद्यमीहरूलाई आफनै स्रोतमार्फत पुँजी पुऱ्याउन गाह्रो हुन्छ । किनकि उनीहरूलाई वित्तिय ज्ञान र व्यवस्थापनको अभाव पनि हुनसक्छ । त्यसकारण पुँजीविना अर्थात् ऋणविना उद्यमीहरूलाई कोष जुटाउन गाह्रो हुन्छ । उनीहरूको प्राथमिक स्रोत नै बैंकहरूबाट प्राप्त गर्ने ऋण नै हो । जस्तो ऋण प्रवाह गर्नु बाहेक पनि बैंकहरूले विभिन्न तवरले उद्यमीहरूलाई सघाइरहेका हुन्छन् । जस्तो बैंकहरू पैसा र सम्पति सुरक्षित राख्छन् । उनीहरूले उद्यमीका बहुमुल्य सम्पति र पैसा सुरक्षीत राखेर सहयोग गर्छन् । त्यसैगरी ग्राहकसँगको व्यवसायिक कारोबार सहज बनाउन बैंकहरूले भुक्तानी प्रणालीलाई सहज बनाइदिएका हुन्छन् । फलस्वरुप उद्यमीहरूलाई करोबारमा सहयोग पुग्दछ । त्यसैगरी बैंकहरू नै उद्यमीहरूका उत्कृष्ट सल्लाहकार पनि हुनेगर्छन् । बैंकहरूले उद्यमीहरूलाई कर, कम्पनी तथा लगानीसम्बन्धी उचित सल्लाह पनि दिन्छन् ।

जस्तो कि अहिले नेपालमा धेरै बैंक तथा वित्तिय संस्थाहरू छन् । उनीहरूले पुँजीको बागडोर सम्हालेर बसिरहेका छन् । उद्यमी व्यवसायी र उनीहरूको सम्बन्ध असाध्यै नरम र सहयोगी हुन जरुरी छ । बैंकहरूको अहिलेको व्यवसायको आकार बढाउन पनि उद्यमी ब्यवसायी चाहिन्छ र उद्यमशीलता अभिवृद्धि भएर अघि बढ्न पनि बैंकहरू नै चाहिन्छन् । त्यसकारण मुलतः बैंकहरूले अब आफ्नै ब्यवसाय बढाउने दीर्घकालिन सोच राखेर पनि उद्यमीहरू कसरी बढाउने भन्नेबारे कार्यक्रमहरू अघि ल्याउन सक्नुपर्छ । केही हदसम्म राष्ट्रिय वाणिज्य बैंक, नविल बैंक, एनएमबि बैंकहरूले उद्यमशीलता अभिवृद्धिको लागि पहल सुरु गरेका देखिन्छन् । नबिल बैंकले त दिगो बैकिङको नारा नै अघि सारेको छ । उसले त्यसै नाराअन्तर्गत नयाँ उद्यमी सिर्जना गर्न र तिनैलाई लगानी गर्न वार्षिक ४० जना लाभान्वित हुनेगरी उद्यमशीलता तालिममा आधारित ‘फेलोसिप’ कार्यक्रम नै अघिसारेको छ । भलै नविलको कार्यक्रमको आकार सानै लाग्ला तर त्यो नविनतम सुरुवात हो ।

सबै बैंकहरूले त्यस्तै सुरुवात प्रतिस्पर्धात्मक रुपमा गर्न जरुरी देखिन्छ । खाली व्यवसायिक युनिटहरूको विस्तार गर्ने, भाँडो थाप्नेमात्रै होइन । भाँडो भरिदिने विइङ्सको सिर्जना गर्दै लैजानुपर्छ । बैंक वित्तिय संस्थाहरूको त्यो संस्थागत सामाजिक उत्तरदायित्व पनि हो । बैक-वित्तिय संस्था, इन्स्योरेन्स, कलेज आदिले खाली मुद्राको व्यापार र विनिमय मात्रै गरेर हुँदैन, आधुनिक समयमा नविनतम हिसाबले पनि सोच्न जरुरी छ ।