अमेरिकासँग व्यापार युद्ध लड्न नडराएको चीनको भनाइ

अमेरिकासँग व्यापार युद्ध लड्न नडराएको चीनको भनाइ


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको टेबुलमा आउने कुरा बेइजिङमा निर्भर रहेको बताएपछि चीनले अमेरिकासँग व्यापार युद्ध लड्न ‘नडराउने’ चेतावनी दिएको छ । यद्यपि, चीनले वार्ताका लागि अमेरिकालाई पुनः आह्वानसमेत गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भनेका छन्, ‘यदि अमेरिका वास्तवमै संवाद र वार्ताको माध्यमबाट समस्याको समाधान गर्न चाहन्छ भने उसले चेतावनी र ब्ल्याकमेलिङजस्ता अत्यधिक दबाबको नीति रोक्नुपर्छ र समानता, सम्मान र पारस्परिक लाभका आधारमा चीनसँग वार्ता गर्नुपर्छ ।’

ट्रम्पले सुरुमा फेन्टानिल आपूर्ति शृङ्खलामा चीनको कथित भूमिकाको कारण चीनबाट आयात हुने सामानमा कर लगाएका थिए । हालै, वासिङ्टनले अनुचित ठानेको व्यापार अभ्यासमाथि ती करहरू तीव्र रूपमा वृद्धि भएका छन् ।

यस वर्ष राष्ट्रपति ट्रम्पले चीनबाट आउने धेरै सामानमा थप १४५ प्रतिशत कर लगाएका छन् । फेन्टानिल र अन्य अवैध लागूपदार्थमा २० प्रतिशत र व्यापार अभ्यासमा १२५ प्रतिशतभन्दा बढी कर समावेश छन् ।

ट्रम्प प्रशासनले स्मार्टफोन र ल्यापटपजस्ता केही प्राविधिक उत्पादनहरूमा पछिल्लो कर वृद्धिबाट अस्थायी छूट दिएको छ।

‘बल चीनको कोर्टमा छ । चीनले हामीसँग सम्झौता गर्न आवश्यक छ’, राष्ट्रपति ट्रम्पका प्रेस सचिव कारोलिन लेभिटले मंगलबार पढेर सुनाएको विज्ञप्तिमा भनिएको छ।

यसप्रति बेइजिङको तर्फबाट लीनले बुधबार प्रतिक्रिया दिँदै भनेका छन्, ‘अमेरिकाले नै यो कर युद्ध सुरु गरेको हो र चीनको अडान स्पष्ट छ कि कर युद्ध वा व्यापार युद्धमा कोही पनि विजेता हुँदैन । यसको मतलब, चीन युद्ध गर्न चाहँदैन, तर परेमा यसको सामना गर्न डराउनेछैन ।’

कर विवाद बढेपछि चीनद्वारा नयाँ बाणिज्य दूत नियुक्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातमा लगाएको करवृद्धिको विरोधमा चीनले प्रतिशोधात्मक उपाय अवलम्बन गरेपछि बढेको तनाव व्यवस्थापनमा पहल गर्न भन्दै विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले बुधबार नयाँ बाणिज्य दूत नियुक्त गरेको जनाएको छ ।

बेइजिङको मानव संशाधन मन्त्रालयले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा ली चेङगाङले अन्तर्राष्ट्रिय व्यापार वार्ताका लागि प्रतिनिधि र वाणिज्य उपमन्त्रीको भूमिका निर्वाह गर्नेछन् ।

यसअघि विश्व व्यापार संगठनका लागि बेइजिङका राजदूत र स्विट्जरल्याण्डको जेनेभामा संयुक्त राष्ट्रसंघका लागि उपस्थायी प्रतिनिधिका रुपमा काम गरिसकेका ५८ वर्षीय लीलाई कुशल कुटनीतिज्ञका रूपमा हेर्ने गरिएको छ । उनले चीनको पेकिङ विश्वविद्यालय र जर्मनीको युनिभर्सिटी अफ ह्याम्बर्गबाट कानूनमा डिग्री हासिल गरेका छन् ।

उनलाई वाङ शौवेनको उत्तराधिकारीका रूपमा जिम्मेवारी तोकिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वाङले सन् २०२० मा चीन र अमेरिकाबीच व्यापार सम्झौता गर्ने वार्तामा भाग लिएका थिए । ट्रम्पले विशेष गरी चिनियाँ आयातलाई लक्षित गरी विश्वव्यापी कर आक्रमण सुरु गरेदेखि नै बेइजिङ र वासिङ्टनबीच करबारे चर्काचर्कीको खेल सुरु भएको छ ।

प्रतिशोधका कारण चीनमाथि लगाइएको अमेरिकी कर १४५ प्रतिशत पुगेको छ भने अमेरिकी सामानमा बेइजिङको कर १२५ प्रतिशत पुगेको छ ।

चीनले आफ्नो अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.४ प्रतिशतले वृद्धि भएको बुधबार बताएको छ, जुन अपेक्षाभन्दा माथि भएको बताइएको छ ।