पोप फ्रान्सिसको सोमबार (२१ अप्रिल) ८८ वर्षको उमेरमा निधन भएको छ । इस्टर आइतबार सेन्ट पिटर्स स्क्वायरमा धेरै आशा गरिएको उपस्थिति देखाएकै एक दिनपछि भ्याटिकनले पोपको निधन भएको एक वक्तव्यमार्फत जनाएको हो ।
‘प्रिय दाजुभाइ र दिदीबहिनीहरू, मैले गहिरो दुःखका साथ हाम्रा पवित्र पिता फ्रान्सिसको निधनको घोषणा गर्नुपर्दछ’, कार्डिनल केभिन फारेलले भ्याटिकनद्वारा आफ्नो टेलिग्राम च्यानलमा प्रकाशित वक्तव्यमा भनेका छन्, ‘आज बिहान ७ः३५ बजे (०५३५ जिएमटी) रोमका बिशप, फ्रान्सिस, पिताको घरमा फर्किनुभयो, उहाँको सम्पूर्ण जीवन प्रभु र उहाँको चर्चको सेवामा समर्पित थियो ।’
गम्भीर बिमारीपछि अझै पनि आराम गरिरहेको भए तापनि इस्टर आइतबार सेन्ट पिटर्स बेसिलिका बालकोनीमा देखापरेर भ्याटिकनमा भक्तहरूको भीडलाई प्रशन्न तुल्याएको ठिक एक दिनपछि फ्रान्सिसको निधन भएको हो ।
फ्रान्सिस यस वर्ष निमोनियाबाट पीडित हुँदा दुई पटक मृत्युको नजिक पुगेका बताइन्छ । मार्च २३ मा डिस्चार्ज हुनुअघि उनले अस्पतालमा ३८ दिन बिताएका थिए ।
आइतबार उनले सेन्ट पिटर्स स्क्वायरमा भीडलाई हात हल्लाउँदै ‘शुभ इस्टर’ शुभकामना दिए र आफ्नो परम्परागत ‘उर्बी एट ओर्बी’ (शहर र विश्वलाई) आशीर्वादमा उनले विचारको स्वतन्त्रता र सहिष्णुताको आह्वान गरेका थिए ।
पोपको निधनप्रति विश्वनेताहरूको श्रद्धाञ्जली
क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा भएको निधनले विशेषगरी सम्बद्ध सम्प्रदायमा संसारभर शोकको लहर फैलिएको छ । विश्वभरका नेताहरूले उनको विनम्रता, करुणा र मानवताप्रतिको समर्पणको उच्च प्रशंसा गर्दै श्रद्धासुमन अर्पण गरेका छन् ।
बेलायती प्रधानमन्त्री केर स्टार्मरले पोपको नेतृत्व कठिन समयमा पनि साहसी र विनम्र रहँदै आएको बताएका छन् भने राजा चार्ल्सले उनप्रति गहिरो श्रद्धा व्यक्त गर्दै भनेका छन्, ‘उहाँले मानिस र प्रकृतिप्रतिको प्रेममार्फत धेरैको जीवनमा गहिरो प्रभाव पार्नुभयो ।’
अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलीले वैचारिक भिन्नता हुँदाहुँदै पनि पोपको सौम्यता र बुद्धिमत्ताबाट आफू प्रेरित भएको बताएका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले उनलाई सधैं पीडित र कमजोरहरूको पक्षमा उभिने करुणामय व्यक्तित्वका रूपमा सम्झिएका छन् ।
यस्तै, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले ‘यो मानवजातिका लागि गहिरो क्षतिको घडी हो’ भन्दै श्रद्धाञ्जली अर्पण गरेकी छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पोपलाई करुणा, विनम्रता र आध्यात्मिक साहसको प्रतिक बताउँदै भनेका छन्, ‘उहाँसँगको भेट स्मरणीय रह्यो र उहाँको समावेशी तथा समग्र विकासप्रतिको दृष्टिकोणले मलाई गहिरो प्रेरणा दिएको छ ।’
इजरायल, स्पेन, जर्मनी, इजिप्ट, केन्या, फिलिपिन्सलगायत विभिन्न देशका नेताहरूले पनि पोप फ्रान्सिसप्रतिको आफ्नो सम्मान, माया र प्रेरणालाई गहिरो भावनाका साथ अभिव्यक्त गरेका छन् ।
प्रतिक्रिया