आजको पञ्चाङ्ग एवम् राशिफल (१० वैशाख २०८२ बुधबार, २३ अप्रिल २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१० वैशाख २०८२ बुधबार, २३ अप्रिल २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८२ बैशाख १० गते तद्अनुसार सन् २०२५ अप्रिल २३ तारिख बुधबार बैशाख कृष्ण पक्षको दशमी तिथि धनिष्ठा नक्षत्र ७ः५३ पर शतभिषा नक्षत्र शुक्ल योग बव करण आनन्दादिमा मित्र योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३४ मा भयो र सूर्यास्त साँझ १८ः३२ मा हुनेछ ।

आजको राशिफल

मेष – भविष्यका लागि विशेष काममा जग बसाउने समय छ । व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । स्वास्थ्य सबल रहनेछ भने नियमित काममा पनि फाइदाको योग छ । विभिन्न सहयोग र उपहार प्राप्त हुने सम्भावना छ । भौतिक साधन जुट्नुका साथै आयआर्जनको स्रोत वृद्धि होला । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ ।

वृष – उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने दिन छ । काम पूरा नहुनाले मन खिन्न रहन सक्छ । अरूका काममा समय बित्ने देखिन्छ । स्वास्थ्यगत समस्याले पनि केही सताउला, खानपानमा विशेष सजगता अपनाउनुहोला । पशुपालन तथा कृषि क्षेत्रबाट भने आंशिक लाभ मिल्ने योग छ । अनावश्यक भ्रमणबाट जोगिनु हितकर होला । गीतसंगीत र खेलकुदका क्रियाकलापमा आकर्षण रहला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिथुन – आजको दिन सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्न सक्छ । मेहनतअनुसार फाइदा कमै होला । विद्यामा कमजोरी र लेनदेनमा विवादको योग छ । आर्थिक व्यवहारमा सजग रहनु उचित हुनेछ । विगतका समस्या बल्झिन सक्नेतर्फ सचेत रहनुहोला । धर्मकर्ममा आकर्षण बढ्नेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ ।

कर्कट – ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय रहेकोले विशेष योजना थाती राखेर नियमित कर्ममा ध्यान लागाउनु उचित होला । चोरी वा ठगीमा परिने सम्भावना छ, सजगताको दरकार छ । आर्थिक कारोबार गर्दा निकै नै सचेत रहनुहोला । अनावश्यक दौडधुपमा समय बित्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला । साझेदारीमा जोखिम बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

सिंह – दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउने योग छ । प्रतिस्पर्धामा विजयी भइनेछ भने रमाइलो यात्राको सम्भावना छ । प्रेमभावका साथै दामपत्यसुख बढ्नेछ । रसरागका क्रियाकलापमा आकर्षण रहनेछ । रचनात्मक तथा कलात्मक काममा विशेष सफलता मिल्नेछ ।

कन्या – शुभदायी दिन छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । दाम, इनाम र प्रतिष्ठा आर्जन गरी आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिएला । सामाजिक दायित्व बढ्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने योग छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । साथीभाइको विशेष सहयोग प्राप्त हुने देखिन्छ । कार्यगति बढ्नेछ ।

तुला – प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने देखिन्छ । व्यापारमा पनि राम्रै फाइदा हुने योग छ । प्रयत्न गर्दा कीर्तिमानी काम गर्न सकिएला । आजको दिन सवारीसाधन उपयोग गर्दा अलिक सावधानी अपनाउनु हितकर हुनेछ । आरोग्यबल वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । बौद्धिकता र रचनात्मकता बढ्नुका साथै शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृश्चिक – दिन उत्साहवर्द्धक रहला । व्यवहारले नयाँ ज्ञान दिलाउन सक्छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्ने देखिन्छ । श्रमको उचित मूल्यांकन हुनुका साथै पढाइलेखाइमा मन जाला । खर्च केही बढेपनि रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । आरोग्यता रहनेछ । प्रेमभाव वृद्धि हुनेछ ।

धनु – अनुकूलता वृद्धि हुने र रोकिएको काममा सफलता मिल्ने समय छ । विशेष योजनामा मित्रजनको सहयोग प्राप्त हुनेछ । मेहनतले आम्दानी बढाउन सक्छ । आयआर्जनका स्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । साझेदारीमा पनि राम्रै फाइदा होला । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

मकर – कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूका विषायमा चासो लिँदा झमेला आइपर्ला । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । तपाईंको इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्छन् । भ्रमणमा आकर्षण बढ्नेछ भने यात्रागत कार्य सार्थक रहनेछ ।

कुम्भ – ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ भने अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । परिवारजनबाट टाढिनुपर्ला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइन देखिन्छ । प्रतिकुलताका बाबजुद सामर्थ्य बढ्नेछ ।

मीन – रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । मित्रजन, सन्तान वा अनुयायी अनि मातृशक्तिको सल्लाह-सहयोगले विशेष फाइदा हुनेछ । महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछ । व्यवसायमा लाग्नेहरूलाई लाभको बेला छ । लगानी वा खर्च भने केही बढ्ने योग छ । साझेदारीको काम बन्नेछ ।