घरमा खास अभिभावक नै नभएपछि ‘लठेब्रो’लाई अभिभावक बनाएको बुझेर वरिपरिको धूर्तले संधै हेपिरहन्छ । एकातिर हरूवा हुनु अर्कोतिर टोल-छरछिमेकले घरमुलीलाई महत्व नदिनु भनेको उसैपनि हार्नु हो । महाभूल त भइसक्यो, अब सच्च्याउने पालो आएको छ । जनताले हारेको दिनमै कमसेकम अब एक पटक नेपाली जनताले जितेको दिन देख्न पाइयोस् भन्ने कामना गरौं !
✍ कृष्णराज शर्मा
बैसट्ठी चैत्र २४ गतेदेखि ‘सातदल’ले माओवादीको आडमा अधिराज्यभर बन्दको आव्हान गरे । शुरुका दिनहरूमा सात दलको संयुक्त जुलुसमा बीस, पच्चीस, पचास र सयभन्दा बढीको सहभागिता देखिएन । हुनै सकेन । उनीहरूका विरोधसभा तथा कार्यक्रममा नेतृत्वपङ्क्ति बाहेक जनताको त कुरा छोडौं आफ्नै कार्यकर्ता पनि आउँदैनथे । सातदलमा पन्पिएको भ्रष्टाचार, नातावाद कृपावादले वाक्कदिक्क भएका जनताले राजाको कदमलाई पूरै साथ दिएका थिए । चैत्र मसान्तसम्ममा पनि आन्दोलनले गति लिन नसक्दा सातदलले हरेस खाइसकेको अवस्था थियो । सँगसँगै नयाँ वर्ष ०६३ को उपलक्ष्यमा राजाले दिएको सन्देशले आन्दोलनकारीहरू थप निराश बन्दै थिए । नयाँ वर्षको सन्देश प्रवाहपछि विदेशीका तार नेताका कान–कानमा पुग्न थालेपछि सरकारपक्ष कमजोर र उनीहरू बलिया देखिन थाले ।
यसपछि क्रमशः माओवादीका हिंसात्मक गतिविधिलाई तीव्र बनाइयो । गिरिजाप्रसाद कोइरालाले नै माओवादीलाई उकास्न थालेका थिए । ठुल्ठुला घटना घटाउन गिरिजाले नै माओवादीलाई आदेश दिन्थे । बुटवल आक्रमण त्यसैको परिणाम थियो । काठमाण्डौको नाका थानकोटमा गस्तीमा रहेका १४ जना शाही सेनाका सिपाहीहरूलाई छलगर्दै हतियार थन्काउन लगाएर बर्बर र नृशंशरूपमा हत्या गरिएको घटनाले माओवादी हौसिएको थियो । माओवादी हौसिँदा काङ्ग्रेस÷एमालेहरू उभन्दा दोब्बर हौसिन थाले ।
एवम् रीतले ठाउँ-ठाउँमा व्यक्ति हत्याले प्रश्रय पायो । यस्ता घटना घट्दा सातदलले रमाउँदै ताली बजाउन थाले । काङ्ग्रेस र एमालेहरूलाई सत्यानाश गर्दै अगाडि बढेको माओवादी पछिल्ला हिंसात्मक घटना घट्दा उनै सातदलभित्रका प्रमुख घटकहरू उनीहरूकै अन्तरंग मित्र बन्दै गएकोमा माओवादी प्रफुल्लित भयो । जंगल, गाउँ र दूरदरार त माओवादीकै थियो अब काङ्ग्रेस/एमालेको साथ-समर्थनले गर्दा शहर, बजार पनि उनकै नियन्त्रणमा गयो ।
माओवादीको बुई चढ्न थालेपछि सातदलका खुट्टा भुइँमा रहेनन् । विस्तारै सातदलको आन्दोलनमा सहभागिता जनाउन आम जनतालाई उर्दी जारी भयो । ‘डरके मारे’ जनताहरू मन नलागी-नलागी आन्दोलनमा जान थाले । माओवादी हिंसाबाट आजित भएको समाज ‘मर्नभन्दा बहुलाउन निको’ भन्दै शहरी आन्दोलनमा थपिँदै गए । सातदलभित्र गणतन्त्रवादी राप्रपा पनि सामेल थियो । जसको नेतृत्व सूर्यबहादुर थापा र पशुपति शमशेर जबराहरूले गर्दथे । दरबारद्वारा पालितपोषितहरू पनि माओवादीसँगै लहसिनाले माओवादीलाई त हुनुसम्म भयो- दृष्टिविहीनले आँखा पाए जस्तै !
नेपालको राजनैतिक इतिहासमा पछिल्ला घटनाक्रममा नेपाली जनता जानेर वा नजानेर हार्दै गएका छन् । नेपाली जनता जति धेरै भ्रममा पर्थे उति नै पराजित हुँदै थिए । गणेशमानको परिभाषाअनुसारका ‘भेडा नेपाली जनता’ खास कुरै नबुझि एकोहोरिँदै गए भन्दा अत्युक्ति हुँदैन । नेताहरूले छरेका भ्रमबाट भ्रमितहरूका कारणले दिनानुदिन आन्दोलनकारीका जुलुस बढ्दै र जोशिँदै गयो । विदेशी संचारमाध्यमले तिललाई पहाड बनाएर नेपालीहरूलाई उक्साइरह्यो । विदेशीको भ्रमलाई चिर्न सक्ने अवस्थामा देश रहेन । सत्यभन्दा झूठ रमाइलो थियो । जब भ्रम र झुठ ‘प्यारो’ र ‘हो’ भन्ने लाग्छ – त्यो मान्छेले संधै हाऱ्यो भनेर जान्दा हुन्छ । नेपाली जनतालाई त्यसरी नै हराउँदै लगियो । जब-जब जनतामा झुठ र भ्रम बलशाली हुँदै जान्छ नेपाली जनता पछारिएको सबैलाई विदितै छ ।
हाम्रा खुफिया एजेन्सी र दरबारले विदेशीको इशारामा देशमा खतर्नाक शासन व्यवस्था लादिँदैछ भन्ने सुइँको पाइसकेको थियो । यही कुराको सुइँको पाएका राजाले देशको शासनसत्ता हातमा लिएका रहेछन् भन्ने अहिले दिनको घामझैँ छर्लङ्ग भएको छैन र ? ! उन्नाइसदिने आन्दोलन अपवधिमै राजालाई भित्र र बाहिरबाट घेराबन्दी गरिँदै थियो । राजाका मान्छेहरू नै माओवादीनिकट बनेर हिँडेपछि राजा निरीह बन्दै गए । राजाले तीन वर्षमा देशमा शान्ति सु-व्यवस्था कायम गराइ देशलाई ‘लिक’मा ल्याएर पुनः चुनावद्वारा जननिर्वाचित सरकारलाई आफूले लिएको सत्ता सुम्पने माघ १९ को कदमले पुर्णावधि पाएको भए देशले आज राष्ट्रिय स्वाभिमानलाई उँचो बनाउँदै लग्थ्यो कि ! वा राष्ट्रिय अस्तित्वको संकटबाट पार पाउन राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर आजको मितिसम्म राष्ट्र निर्माणमा मार्गप्रशस्त भइ देश यौटा निष्कर्षमा गैसकेको हुन्थ्यो कि ! राम जाने !
तर, बैशाख एघारमा हारेको नेपाली जनता त्यसअघि कहिल्यै हारेको थिएन । हारेपनि राजसंस्थाले जनताको मनोबल खस्कन दिँदैनथ्यो, दिएको थिएन । घरमा खास अभिभावक नै नभएपछि ‘लठेब्रो’लाई अभिभावक बनाएको बुझेर वरिपरिको धूर्तले संधै हेपिरहन्छ । एकातिर हरूवा हुनु अर्कोतिर टोल-छरछिमेकले घरमुलीलाई महत्व नदिनु भनेको उसैपनि हार्नु हो । महाभूल त भइसक्यो, अब सच्च्याउने पालो आएको छ । जनताले हारेको दिनमै कमसेकम अब एक पटक नेपाली जनताले जितेको दिन देख्न पाइयोस् भन्ने कामना गरौं !
यो पनि हेर्नुहोस्-
प्रतिक्रिया