उत्तरपूर्वी चीनको रेस्टुरेन्टमा आगलागी, २२ जनाको मृत्यु

उत्तरपूर्वी चीनको रेस्टुरेन्टमा आगलागी, २२ जनाको मृत्यु


उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा भएको आगलागीमा २२ जनाको मृत्यु भएको र तीन जना घाइते भएको बेइजिङको सरकारी प्रसारकले जनाएको छ ।

राजधानी बेइजिङबाट करिब पाँच सय ८० किलोमिटर उत्तरपूर्वमा रहेको लियाओयाङ शहरमा आगलागी भएको हो ।

‘अप्रिल २९ को दिउँसो १२ः२५ बजे (०४२५ जिएमटी)मा एउटा रेस्टुरेन्टमा आगलागी भएको थियो’, सिसिटिभीले भन्यो, ‘दिउँसो २ः०० बजेसम्म यस घटनामा २२ जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन् ।’

सिसिटिभीले जनाएअनुसार राष्ट्रपति सी जिनपिङले आगलागीले ‘उल्लेखनीय जनधनको क्षति’ निम्त्याएको र यसबाट सिकिएका पाठहरु ‘अत्यन्त गम्भीर’ भएको बताएका छन् । उनले ‘घाइतेहरूको उपचारका लागि हरसम्भव प्रयास गर्न, मृतकहरूका लागि उचित अन्त्येष्टि व्यवस्था गर्न र उनीहरूका परिवारलाई सहयोग प्रदान गर्न, आगलागीको कारण द्रुत रूपमा निर्धारण गर्न तथा कानूनअनुसार जवाफदेहिता खोज्न’ आह्वान गरेका छन् ।

अनलाइनमा सेयर गरिएको र एएफपीद्वारा प्रमाणित गरिएको फुटेजमा दुईतले रेस्टुरेन्टमा भीषण आगो लागेको र बाक्लो कालो धुवाँ आकाशतिर उडिरहेको देखाइएको छ ।

घातक आगलागीहरू चीनमा फितलो भवन संहिता र कार्यस्थल सुरक्षाप्रति अक्सर लापरवाही दृष्टिकोणका कारण अपेक्षाकृत सामान्य छन् । यसै महिना उत्तरी चीनको हेबेई प्रान्तमा रहेको एक वृद्धाश्रममा पनि आगलागीबाट २० जनाको मृत्यु भएको थियो ।

गत जनवरीमा बेइजिङको उत्तरपश्चिममा रहेको झाङजियाकोउ शहरको एक तरकारी बजारमा भएको आगलागीमा आठ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए ।

त्यसको एक महिनाअघि पूर्वीचीनको रोङचेङ शहरमा रहेको एक निर्माण स्थलमा भएको आगलागीमा नौ जनाको मृत्यु भएको थियो ।