काश्मिरमा आक्रमणको जवाफ दिन भारतीय सेनालाई ‘परिचालन स्वतन्त्रता’ !

काश्मिरमा आक्रमणको जवाफ दिन भारतीय सेनालाई ‘परिचालन स्वतन्त्रता’ !


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत हप्ता काश्मिरमा भएको घातक आक्रमणको जवाफ दिन भारतीय सेनालाई ‘अपरेशनल फ्रिडम’ दिएको एक वरिष्ठ सरकारी स्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । बताइएअनुसार बन्द कोठामा भएको बैठकमा मोदीले सेना र सुरक्षा प्रमुखहरूसँग आतङ्कवादलाई ठूलो धक्का दिने भारतको राष्ट्रिय सङ्कल्प भएको बताउनुभएको थियो ।

‘काश्मिरमा सर्वसाधारणमाथि भएको आतङ्कवादी हमलाको हाम्रो प्रतिक्रियाको अवस्था, लक्ष्य र समयबारे निर्णय गर्न सशस्त्र बललाई पूर्ण परिचालन स्वतन्त्रता छ’, मोदीले भन्नुभएको छ ।

गत अप्रिल २२ मा भारत प्रशासित काश्मिरमा २६ जनाको ज्यान जाने गरी भएको आक्रमणमा पाकिस्तानले वर्षौंयताकै सबैभन्दा घातक आक्रमणलाई समर्थन गरेको आरोप भारतले लगाएपछि आणविक शक्तिसम्पन्न दुई देशबीचको सम्बन्ध चिसिएको छ ।

इस्लामाबादले उक्त आरोप अस्वीकार गर्दै आएको छ र त्यसपछि काश्मिरमा गोली हानाहान, कूटनीतिक नाकाबन्दी, नागरिकलाई देश निकाला र सीमा बन्द गर्न आदेश दिनेजस्ता कार्य दुबै मुलुकले गरेका छन् ।

बताइएअनुसार भारतीय प्रधानमन्त्री मोदीले भारतीय सशस्त्र बलको व्यावसायिक क्षमतामा पूर्ण विश्वास व्यक्त गर्दै उनीहरूलाई आफ्नो सरकारको पूर्ण समर्थन रहेको बताउनुभएको थियो । यसक्रममा भारतीय सेनाप्रमुख र रक्षामन्त्री राजनाथ सिंहसँग मोदीको भेटको भिडियो तस्बिर सार्वजनिक भएका छन् ।

गत हप्ता मोदीले काश्मिरको पहलगाममा आक्रमण गर्ने र त्यसलाई समर्थन गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

बिहीबारको उक्त प्रतिक्रियामा उहाँले भन्नुभएको थियो, ‘म सारा विश्वलाई भन्छु, भारतले हरेक आतङ्ककारी र तिनका समर्थकको पहिचान गर्नेछ, ट्र्याक गर्नेछ र सजाय दिनेछ। हामी तिनीहरूलाई पृथ्वीको अन्तसम्म खेद्नेछौँ ।’

संयुक्त राष्ट्रसङ्घद्वारा घोषित आतङ्कवादी सङ्गठन लश्कर–ए–तैयबा समूहका सदस्य रहेका दुई पाकिस्तानी र एक भारतीय गरी तीन जनाको पोस्टर जारी गर्दै उनीहरूलाई ‘अधिक खोजीको सूची’मा राखिएको भारतीय प्रहरीले उल्लेख गरेको छ ।