भारतको कोलकाता शहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । आगलागी भएको होटलमा केही मानिस बच्नका लागि झ्यालबाट बाहिर र छतमा चढेर निस्किएका एएफपीले जनाएको छ ।
होटलको कोठा र छतबाट धेरै मानिसलाई उद्धार गरिएको कोलकाताका प्रहरी प्रमुख मनोज वर्माले आगलागीपछि बताएका छन् । आगलागीको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको जानकारी दिँदै वर्माले भनेका छन्, ‘दुई बालबालिका र एक महिलासहित मृतकको सङ्ख्या १५ पुगेको छ, होटल ग्यास च्याम्बरमा परिणत भयो र धेरै मानिसको निस्सासिएर मृत्यु भएको देखिन्छ ।’
आगलागी हुँदा ८८ जना पाहुना रहेको ऋतुराज होटल कोलकाताको केन्द्रीय भागको एक भीडभाड व्यापारिक क्षेत्रमा अवस्थित छ ।
घटनामा परेका करिब एक दर्जन मानिस जलेर घाइते भएका छन् र उपचार गराइरहेका छन् ।
भारतमा अग्नि नियन्त्रण उपकरणको अभाव र सुरक्षा नियमहरूको नियमित उपेक्षाका कारण भवनमा आगलागी हुने घटनाहरू सामान्य छन् । गत वर्ष पूर्वी राज्य बिहारको पटनामा एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको थियो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारहरूप्रति समवेदना प्रकट गगरेका छन् ।
एक करोड ५० लाखभन्दा बढी जनसङ्ख्या भएको कोलाकाता पश्चिम बङ्गाल राज्यको राजधानी हो । पश्चिम बङ्गाल विपक्षी तृणमूल काङ्ग्रेस पार्टीद्वारा शासित छ ।
प्रतिक्रिया