✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं.२०८२ बैशाख १८ गते तद्अनुसार सन् २०२५ मे १ तारीख बैशाख शुक्ल पक्षको चतुर्थी तिथि मृगशिरा नक्षत्र अतिगण्ड योग बब करण आनन्दादिमा मृत्यु योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२६ मा भयो । मत्स्येन्द्रनाथ नाथ रथयात्रारम्भ, श्रमिक दिवस ।
आजको राशिफल
मेष – मिश्रित फलदायी समय छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ भने सहयोगीहरूले विशेष फाइदा दिलाउनेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । तर, अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
वृष – आजको दिन केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ, सजग रही व्यवहार गर्नुहोला । अरूको सुझावमा पूरै भर नपर्नुहोला । कसैसंग सामान्य मनमुटाव पनि पर्नसक्ने योग छ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने देखिन्छ । बौद्धिक तथा रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख वृद्धि होला । आफन्तको साथ मिल्नेछ ।
मिथुन – सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने समय छ । तर, महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मानसम्मान पनि पाइने योग छ । स्वास्थ्य भने केही कमजोर रहेको अनुभूति होला । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । बौद्धिकताले शत्रुमाथि विजय दिलाउनेछ ।
कर्कट – रोकिएका काम दोहोऱ्याएर प्रयत्न गरेसफलता मिल्ने समय छ । नियमित कामबाट फुर्सद मिलेको अनुभूति होला । आजको दिन कतै अतिथिका रूपमा सत्कार मिल्ने देखिन्छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा पनि खर्च बढ्नेछ । समस्यामा साथीभाइको सहयोग प्राप्त होला । रसरागको भाव बढ्नेछ ।
सिंह – नियमित कार्यमा जाँगर बढ्ने तथा व्यापार-व्यवसायमा विशेष लाभ हुने समय छ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्न सक्छ । मान-विद्या प्राप्तिको योग छ । आकस्मिक धनलाभ हुने तर आर्जित धन तत्काल खर्च गर्नुपर्ला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । जग्गा जमिनको कारोबारबाट राम्रै लाभ मिल्ने देखिन्छ । रसरागको क्रियाकलापमा आकर्षण बढ्नेछ ।
कन्या – आजको दिन केही चुनौतीयुक्त रहला । न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहन सक्छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । नचिताएको ठाउमा धननाश हुने योग रहेकोले विशेष सजगताको दरकार छ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । यात्रागत कार्यमा भने आंशिक भएपनि सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला – नयाँ काममा हात हाल्ने समय आएको छ, तर सफलताप्राप्तिका लागि केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौतीको सामना गर्नपर्ला । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुने योग छ । ब्यस्तता बढेपनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । साहसिक कार्यमा आकर्षण रहनेछ ।
वृश्चिक – चिताएका काम बिस्तारै भए पनि सम्पादन हुने समय छ । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । तर, अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्नसक्ने योग छ । पारिवारिक असमझदारी पनि बढ्न सक्छ । आरोग्यता रहनेछ ।
धनु – सेवामूलक कामबाट धनप्राप्ति हुने समय छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । पढाइलेखाइमा सामान्य प्रगति होला । रमाइलो यात्राको अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिने योग छ । व्यापारमा आकस्मिक फाइदा हुने देखिन्छ । आरोग्यबल बढ्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण रहला ।
मकर – नियमित कार्यमा सहजत आउने र व्यवसायमा आम्दानी बढ्ने समय छ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यस्तता बढ्नेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी बढ्ने देखिन्छ । इर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् । तथापि, शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । चुनौतीका बाबजुद दायित्व पूरा गर्नुहुनेछ ।
कुम्भ – सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सकिने दिन छ । भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । आयआर्जन पनि राम्रै होला । तथापि, विभिन्न अवसर प्राप्तिका बाबजुद अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, सजग रहनुहोला । सामान्य अस्वस्थताले काममा ढिलासुस्ती हुने सम्भावना छ । अप्रिय समाचारले निराश तुल्याउन सक्छ ।
मीन – प्रतिभाको कदर हुने र बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिने समय छ । दिगो आम्दानी हुने काम सुरु गर्ने अवसर जुर्ने देखिन्छ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिएला । भूमि तथा कृषि कर्मबाट पनि फाइदा हुनेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । पराक्रम वृद्धि हुनेछ भने सुख-सुविधाको बस्तु बढ्नेछ ।
प्रतिक्रिया