फ्रेडरिख मर्ज जर्मनीको नयाँ चान्सलर निर्वाचित

फ्रेडरिख मर्ज जर्मनीको नयाँ चान्सलर निर्वाचित


फ्रेडरिख मर्ज जर्मनीको दसौँ संघीय प्रमुख (चान्सलर)को रूपमा निर्वाचित भएका छन् । मंगलबार (मे ६) भएको दोस्रो चरणको मतदानमा उनले आवश्यक बहुमत प्राप्त गरी सफलतापूर्वक चयन भएका हुन् । यसअघि बिहान सम्पन्न पहिलो चरणको मतदानमा उनले अपेक्षित मत नपाइ पराजय व्यहोरेका थिए ।

पहिलो चरणमा उनले ३१६ मत आवश्यक पर्दा ३१० मत मात्र प्राप्त गरेका थिए भने दोस्रो चरणमा चाहिँ ३२५ मत प्राप्त गरी उनी संघीय सभाबाट निर्वाचित भएका हुन् ।

६९ वर्षको उमेरमा यो पद सम्हाल्न पुगेका मर्जले यसअघि कहिल्यै उच्च कार्यकारी जिम्मेवारी वहन गरेका थिएनन् । उनी न संघीय मन्त्री थिए न राज्य प्रमुख, न त सानो नगरपालिकाको मेयर नै । कोनराड एडेनाउरपछि उनी यस्ता सबैभन्दा ज्येष्ठ व्यक्ति बनेका छन्, जसले युद्धपछिको जर्मनीमा संघीय प्रमुखको रूपमा पदभार सम्हाल्न पुगे ।

युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले नवनिर्वाचित संघीय प्रमुखलाई बधाई ज्ञापन गर्दै युरोपसँगको साझेदारीमा जर्मनीको भूमिकामा अझ सशक्तता हुने विश्वास व्यक्त गर्नुभएको छ। जर्मनी, संयुक्त राज्यपछि युक्रेनलाई सबैभन्दा बढी सहायता उपलब्ध गराउने राष्ट्र हो ।

नयाँ नेतृत्वबाट दीर्घकालीन राजनीतिक अन्योलको अन्त्य हुने, आर्थिक नीतिमा स्पष्टता आउने, कर प्रणालीमा सुधार तथा भौतिक पूर्वाधारको सुदृढीकरणमार्फत आर्थिक वृद्धि हुने अपेक्षा गरिएको छ।

यसैबीच, संसदमा प्रमुख विपक्षी शक्तिका रूपमा रहेको ‘वैकल्पिक जर्मनीका लागि’ नामक दलले प्रारम्भिक नतिजालाई लिएर आलोचना गरे पनि निर्वाचन प्रक्रियाको मर्यादा र लोकतान्त्रिक परम्पराको सम्मान कायम गरिएको देखिएको छ ।