✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं.२०८२ बैशाख २६ गते तद्अनुसार सन् २०२५ मे ९ तारिख शुक्रबार बैशाख शुक्ल पक्षको द्वादशी तिथि हस्ता नक्षत्र बज्र योग कौलव करण आनन्दादिमा अमृत योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२१ मा भयो र सूर्यास्त साँझ १८ः४१ बजे हुनेछ । प्रदोषव्रत, मत्स्य दर्शन, कानून दिवस ।
आजको राशिफल
मेष – आजको दिन केही खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । साहस बढ्नेछ । रोकिएको काम बन्ने समय छ । तर, आश्वासन दिएर झुक्याउनेहरू सक्रिय रहन सक्छन्, गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्ने देखिन्छ । दाम्पत्य सम्बन्धमा पनि केही चिसोपन पैदा हुने योग छ । मित्रजनको साथ मिल्नेछ ।
वृष – पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । विशेष सभा–समारोहमा भाग लिने मौका जुर्ला । मानसम्मान पनि पाइनेछ । नयाँ कामको सुरुवात गर्दै हुनुहुन्छ भने योजना थाती राख्नु उचित हुनेछ । नियमित कार्यमा हैरानी बढ्न सक्छ । प्रेमभाव वृद्धि र मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्ने देखिन्छ ।
मिथुन – नियमित कार्यमा सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । पढाइलेखाइमा प्रगति हुनेछ भने बुद्धिको सही उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । आँट–पराक्रम वृद्धिका साथै बौद्धिकता र रचनात्मकता बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । शत्रुमाथि विजय प्राप्त हुने योग छ ।
कर्कट – आजको दिन मुलतः सरसफाइ, साजसज्जा एवम् वागबगैंचासम्बन्धी काममा आकर्षित होइएला । परिवारजनसँग आत्मीयता बढ्नेछ । स्वादिष्ट भोजनको आनन्द मिल्ला । नयाँ ज्ञान सिक्ने मौका जुर्ने देखिन्छ । पढाइलेखाइमा प्रगति होला । आत्मीयजनसँग भेटघाटको योग छ । आरोग्यबल र आनन्द बढ्नेछ । रसरागमा आकर्षण रहनेछ ।
सिंह – दिन केही चुनौतीयुक्त रहने देखिन्छ । पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सवधान रहनुहोला । महत्वपूर्ण कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सजगता अपनाइ अवसरको लाभ लिन विशेष प्रयत्न गर्नु उचित हुनेछ । कृषि तथा पशुपालनमा खासै राम्रो नभएपनि व्यापारमा राम्रै फाइदा हुने योग छ । मनोरञ्जनात्मक क्रियाकलापमा मन आकर्षित हरनेछ ।
कन्या – लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । प्रतिभा देखाएर अवसर हातपार्न सकिएला । सामाजिक एवम् आध्यात्मिक क्रियाकलापमा रुचि बढ्नेछ । स्वस्थानमा रही विभिन्न काम सम्पादन गर्न सकिनेछ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिएला । धैर्यले काम लिने प्रयत्न गर्नुहोला । आरोग्यबल बढ्नेछ । साथीभाइको सहयोगले पराक्रम बढ्ला । आफन्तजनको साथ मिल्नेछ ।
तुला – सफलतादायी समय छ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । कृषि तथा पशु व्यवसायबाट विशेषलाभ हुने देखिन्छ । प्राकृतिक पर्यावरणमा रमाउने अवसर जुर्ला । नियमित कर्मबाट पनि राम्रै लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन होला । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण रहला । मनोरञ्जनात्मक यात्राको सम्भावना छ ।
वृश्चिक – दिन सुखदायी नै रहला । व्यवसायका लागि यात्राको सम्भावना छ । टाढाको यात्रा गर्ने प्रक्रिया पनि अघि बढ्न सक्छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । प्रेम प्रसङ्ग तथा दाम्पत्यजीवन सुखद रहला । उन्नति पदोन्नति एवम् आय वृद्धिको योग छ । शुभता बढेर रोकिएको काम बन्ने देखिन्छ । सामर्थ्य वृद्धि होला । आरोग्यबल बढ्नेछ । बौद्धिक कार्यमा सफलताका साथै प्रतिष्पर्धी परास्त हुनेछन् ।
धनु – कर्मबल बढ्ने समय भएपनि उद्योग तथा व्यापारमा सामान्यमात्र लाभ मिल्ने देखिन्छ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने सम्भावना छ । खर्च वृद्धि हुने योग रहेकोले खर्च नियन्त्रणका लागि विशेष प्रयत्न गर्नु हितकर होला । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । छरछिमेकमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मकर – भाग्यबल वृद्धिका साथ आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । उत्साहजनक समाचारले हर्ष बढाउला । ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ भने नियमित कार्य पनि सुचारु रहला । समस्यामा इष्टमित्रको सहयोग प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहने अवसर जुर्ला ।
कुम्भ – केही ब्यस्तता बढेपनि दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । सभा–समारोहमा सहभागी हुने अवसर जुर्ला । तार्किक क्षमता बढ्नेछ । आम्दानी वृद्धिका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ । पढाइलेखाइमा प्रगति होला । आफन्तजनसँग भेटघाटका साथै मिठो भोजन प्राप्त हुनेछ । आत्मविश्वास वृद्धि हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
मीन – विभिन्न अवसरले पछ्याउनुका साथै बोलीको प्रभाव बढ्ने समय छ । नियमित कार्यबाट पनि राम्रै लाभ मिल्ला । अग्रजहरूको विशेष सहयोग जुट्नेछ । धनलाभको योग छ । चिताएको काम बन्ने र साझेदारीको कामले उत्साह जगाउने देखिन्छ । दाम्पत्यसुख बढ्ला । स्वास्थ्य सबल रहनेछ । सुखविलास पनि बढ्नेछ ।
प्रतिक्रिया