✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ जेठ ३ गते तद्अनुसार सन् २०२५ मे१७ तारीख शनिबार ज्येष्ठ कृष्णपक्षको पञ्चमी तिथि पूर्वाषाढ़ा नक्षत्र १५ः३२ पर उत्तराषाढ़ा नक्षत्र शुभ योग कौलव करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा धनु राशिमा २१ः४४ बजेसम्म त्यसपछि मकर राशिमा भ्रमण शील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१६ मा भयो र सूर्यास्त साँझ १८ः४६ मा हुनेछ ।
आजको राशिफल
मेष – आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर होला । इर्ष्यालुजनले फसाउने प्रयत्न गर्न सक्छन्, होसियार रहनुहोला । हुलमुलमा धनमाल हराउन सक्ने योग छ । महत्वपूर्ण कार्यमा साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । मनोरञ्जनमा मन आकर्षित भएपनि त्यसलाई टार्ने प्रयत्न गर्नु दीर्घकालिकरूपले हितकर हुनेछ ।
वृष – सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । तर, समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । चिताएको काममा बाधा हुँदा मन खिन्न रहन सक्छ । पहिलेका समस्या दोहोरिन सक्छन् । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्ने योग छ । अनावश्यक दौडधुपका साथै खर्च बढ्नेछ । पारिवारिक समस्याको समाधानका लागि विशेष प्रयत्न गर्नुपर्ला ।
मिथुन – शुभदायी दिन छ । नसोचेको ठाउबाट धनको लाभ हुने देखिन्छ । साथै, ब्यापार ब्यवसायमा पनि राम्रै लाभ होला । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने मौका जुर्ला । कर्मको उचित प्रतिफल पाइनेछ । विभिन्न उपहार प्राप्तिको योग छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । रचनात्मकता बढ्नेछ ।
कर्कट – ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्ने देखिन्छ । अरूको भरपर्दा काम बिग्रन सक्छ, आफ्नै प्रयासले विशेष कार्य बन्ने योग छ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ ।
सिंह – अरूका काममा ज्यादा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ला । काम पूरा नहुनाले मन खिन्न रहनेछ । खानपानजन्य कारणबाट स्वास्थ्य कमजोर बन्ने योग छ, मसलाजन्य खानाबाट विशेष सावधान रहनुहोला । भौतिक साधनको क्षतिले रुपैयापैसाको हानी हुने देखिन्छ । धेरै समय सानातिना घरेलु कार्यमै अल्झनुपरे पनि सन्तानपक्षबाट सुख मिल्नेछ । बौद्धिक कार्यमा सफलता मिल्नेछ ।
कन्या – भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा विशेष फाइदा हुने समय छ । तर, मौकाको फाइदा उठाउन निकै जोडबल लगाउनुपर्ला । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने उचित समय छ । प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिएला । नियमित कार्यमा व्यस्तता वृद्धि हुनेछ । यात्रामा सफलता मिल्नेछ ।
तुला – आफ्नै कमजोरीले विवादमा पर्नसकिने र सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा मिल्ने समय छ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ, ब्यर्थको भ्रमण नगर्नु उचित होला । नियमित कार्यमा पनि केही प्रतिस्पर्धाको अवस्था निम्तिन सक्छ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ, ध्यान राख्नुहोला । आरोग्यबल बढ्नेछ । साहसिक काममा आकर्षण रहनेछ ।
वृश्चिक – लाभदायी काम प्रारम्भ हुने र गरिएका कामको राम्रै मूल्यांकन हुने समय छ । व्यावसायिक काममा खर्च बढेपनि परोपकार तथा सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । अवसरलाई पछ्याउन नसक्दा पछि परिने सम्भावनाप्रति सजग रहनुहोला । स्वास्थ्य केही कमजोर रहनसक्छ । साथीभाइको काममा बाध्यतापूर्ण ढंगले अल्मलिनुपर्ने योग छ । सामर्थ्यमा कमी आउनेछैन । सुख–सुविधाको वस्तुमा खर्च बढ्न सक्छ ।
धनु – कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ला । स्वास्थ्यगत समस्याले भने केही सताउन सक्छ । खानपानमा विशेष सजग रहनुहोला । लामो समयदेखि प्रयत्न गरेको कार्यले पूर्णता पाउने सम्भावना प्रबल छ । दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने योग रहेकोले बोली र व्यवहारमा संयमता राख्नु उचित हुनेछ । साझेदारीको काम बन्नेछ ।
मकर – रुचिका विषयमा लगानी बढाउने समय छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । तथापि, शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा–मामिलामा पनि विजयी भइनेछ । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब होला । यात्रागत कार्यमा अनुकुलता बढ्नेछ ।
कुम्भ – मिश्रित फलदायी समय छ । आम्दानी तथा आयआर्जनका श्रोत बढ्नेछ भने व्यापारमा राम्रै फाइदा होला । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । शुभचिन्तकहरूको सुझाव मनन गर्दा मन शान्त रहला । प्रतिकुलताका बाबजुद सामर्थ्य वृद्धि हुनेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । बौद्धिक कार्य बन्नेछ ।
मीन – पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुने समय छ । आँटेका काम तत्काल सम्पादन हुनेछन् भने भौतिक साधन जुट्नाले आयआर्जन राम्रै होला । कतै अतिथिका रूपमा सम्मान समेत पाइएला । नयाँ योजना कार्यान्वयनमा ल्याउन भने मुस्किल पर्ने देखिन्छ । कर्मबल बढ्नाले यात्रापरक काम बन्नेछ । आफन्तजनको साथ–सहयोगले उत्साह वृद्धि गराउनेछ ।
प्रतिक्रिया