आजको पञ्चाङ्ग एवम् राशिफल (६ जेठ २०८२ मंगलबार, २० मे २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ जेठ २०८२ मंगलबार, २० मे २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ जेठ ६ गते तद्अनुसार सन् २०२५ मे २० तारीख मंगलबार ज्येष्ठ कृष्ण पक्षको अष्टमी तिथि धनिष्सठा नक्षत्र ऐन्द्र बालव करण आनन्दादिमा उत्पात योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१४ मा भयो र सूर्यास्त साँझ १८ः४८ बजे हुनेछ । भौमाष्टमीव्रत, गोरखकाली पूजा ।

आजको राशिफल

मेष – दौडधुप बढेपनि चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउने समय छ । साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठा, मान–सम्मान आदि पाइएला । भाग्यले नसोचेको फाइदा दिलाउन सक्ने योग छ । सफलता र विशेष लाभका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहला । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य केही प्रतिकूल रहेपनि आत्मविश्वासले काम लिन सकिएला । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्ने योग पनि छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ, आर्थिक व्यवहार चाहिँ आजको दिन सकभर नगर्नु उचित हुनेछ ।

मिथुन – आजको दिन केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । तथापि, समुदायको हक–हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । नियमित कार्यमा रोकावट आउने र कममात्र फाइदा हुने देखिन्छ । सहयोगीहरूले हात झिक्नाले अलिक अप्ठ्यारोमा परिएला । आर्थिक ब्ययको योग रहेकोले आर्जित धन तत्काल खर्च हुन सक्छ । शत्रुपक्ष हाबी बन्न खोजेपनि आत्मविश्वास उच्च हुनाले अन्ततः विजय तपाईंकै हुनेछ । समस्याको समाधान मिल्नेछ ।

कर्कट – सहयोगीहरूले राम्रो साथ दिनाले रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त होला । विभिन्न भौतिक साधन पनि जुट्नेछन् । कतै आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको योग छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – नयाँ काममा हात हाल्न सकिने र व्यापारमा विशेष फाइदा हुने समय छ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनुका साथै विगतको सफलताले थप काम गर्न हौसला मिल्ने देखिन्छ । प्रेमभाव बढ्नेछ । रसरागको क्रियाकलापमा आकर्षण रहला । बौद्धिक काममा विशेष सफलता मिल्नेछ । प्रतिष्पर्धी परास्त हुनेछन् ।

कन्या – कामको चाप र ब्यस्तता बढे पनि धन आर्जन हुने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । आजको दिन व्यावसायिक यात्राको सम्भावना पनि छ । दाम्पत्य जीवन रमाइलो रहला । आम्दानी बढ्ने योग भएपनि साझेदारीमा भने समस्या आउन सक्छ, सजग रहनुहोला । समस्यामा आफन्तको साथ प्राप्त हुनेछ । सवारीसाधन र हातहतियारको प्रयोगमा विशेष सजगता अपनाउनु हितकर हुनेछ ।

तुला – व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । तर, महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ र नजिकका साथीभाइ टाढिन सक्ने योग छ । टाढिएका आफन्त एवम् कुटुम्बसँगको भेटघाटले दिन रमाइलो बनाउने देखिन्छ । नयाँ ज्ञान सिक्ने मौका जुर्ला । पशुपालन तथा कृषि क्षेत्रबाट विशेष लाभ मिल्नेछ । पढाइलेखाइमा प्रगति होला । लामो समयदेखि सोचेको काम सफलतापूर्वक सम्पन्न होला । आरोग्यबल बढ्नेछ ।

वृश्चिक – बोलीको प्रभाव बढ्ने र विभिन्न अवसरले पछ्याउने समय छ । ठीक समयमा सही निर्णय लिन सकिने देखिन्छ । आश मारेको काम पनि बन्ने सम्भावनाका कारण उत्साह जागृत होला । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ मिल्ने योग छ । मिठो भोजन प्राप्त होला । आरोग्यबल बढ्नेछ । प्रतिष्पर्धी परास्त हुनेछन् ।

धनु – दैनिक कार्यमा विशेष गति मिल्नुका साथै पराक्रम तथा कार्यसम्पादनको क्षमता बढ्ने समय छ । तापनि, केही अवसर फुत्कन सक्छन्, सचेत रहनुहोला । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान दिनु हितकर सावित होला । मित्रजनको साथ र मिठो भोजनको आनन्द मिल्ने योग छ । बौद्धिकता जोडिएको कार्यमा विशेष सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ ।

मकर – मिश्रित फलदायी समय छ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । आजको दिन तपाईंको अधिकारक्षेत्रका विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । गल्तीबिनै आरोप लाग्न सक्छ । बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । इष्टमित्रको साथ–सहयोग रहनेछ ।

कुम्भ – आजको दिन चुनौतीयुक्त रहला । अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि केही प्रतिकूल नै रहने देखिन्छ । त्यसै–त्यसै काम बिग्रने डरले सताइरहला । थिचोमिचो गर्नेहरूले सताउन सक्छन् । चोरी वा ठगीमा परिने योग छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु हितकर होला । आरोग्यता रहनेछ । बौद्धिक कर्म सुचारु रहनेछ ।

मीन – दिन शुभदायी छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्न सकिने छ । तार्किक क्षमता बढ्नुका साथै बौद्धिक क्रियाकलापमा सक्रियता रहने देखिन्छ । विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त होला । सुख सुविधाको वस्तु बढ्नेछन् । तथापि, विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले भने दुःख पाइनेछ । लेखन तथा प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ ।