यस्ता ‘नायक’हरूको ‘नालायक चित्र’ थाहा छ ?

यस्ता ‘नायक’हरूको ‘नालायक चित्र’ थाहा छ ?


हिन्दी फिल्म ‘नायक’मा अनिल कपुर हिरो र खलनायक अमरिस पुरी छन् । मुख्यमन्त्री (सिएम) को भूमिकामा रहेका खलनायक पुरीलाई नायक (पत्रकारको भूमिकामा रहेका) अनिल कपुरले राज्यमा सुशासन नभएको, बेथिति भएको, भ्रष्टाचार बढेको र प्रणालीले काम गर्न नसकेको भनेर पुरीको तिखो आलोचना गरेपछि पुरीले त्यसोभए कसरी शासन सञ्चालन गर्ने हो एकदिका लागि म सत्ता तिमीलाई सुम्पन्छु चलाएर देखाउनु भन्ने चुनौती दिन्छन् । नायक कपुरले पुरीको चुनौती स्विकार गर्दै पद सम्हाल्दछन् । त्यसपछि कपुरले ‘बिजुली गति’मा भ्रष्टहरूलाई ठाउँको ठाउँ कारबाही गर्दछन् । राज्यमा सुशासन, विधि र कानुनको कार्यान्वयन गर्न उनी सरकारी तथा सार्वजनिक निकायमा दौडिन्छन् । नायकले दिनभरमा व्यापक सुधार र परिवर्तन गरेको देखिन्छ । उनको शासनशैलीलाई जनता र नागरिकले समर्थन गर्दछन् । फिल्मले राजनीतिक, सार्वजनिक र सामाजिक जीवनमा परिवर्तन ल्याउन सक्ने नायक आवश्यक हुन्छ भन्ने सन्देशचाहिँ दिएको छ ।

त्यो फिल्म हो, नाटक हो । वास्तविक जीवन र नाटकमा ठूलो भिन्नता हुने कुरा नायक फिल्मबाट प्रस्ट हुन्छ । राज्य प्रणालीमा अनेकौँ राजनीतिक, संवैधानिक, सामाजिक, आर्थिक, सांस्कृतिक, राष्ट्रिय/अन्तर्राष्ट्रिय, प्राविधिक, व्यवहारिक र वस्तुगत अवस्था तथा स्थितिहरूले फङ्सन्स (प्रकार्य) गरिरहेका हुन्छन् । एउटा मान्छेको सोच र कार्यले मात्र मुलुकमा सुधार, परिवर्तन र विकासमा अग्रिणी भूमिका खेल्न सक्दछ भन्ने सोच नै सङ्कीर्ण र अवैज्ञानिक विचार हो । एउटा मान्छेले उत्पात मच्चाउन सक्ने भनेको फिल्मको नायकको भूमिका हो । त्यस्तो कार्यचाहिँ वास्तविक जीवनमा हुँदैन । मान्छेमा फिल्ममा देखाइएको जस्तो अद्भूत भूमिका खोज्नु मूर्खतापूर्ण सोच हो ।

कुनै एउटा धर्मगुरु, पादरी, राजा वा सैन्य अधिकारीको सनकपूर्ण आदेशबाट चलेको शासनमा अनेकौँ दुर्गुण र दुष्कृति रहने भएकाले युरोपको इतिहासमा नागरिक नियन्त्रण भएको राज्यसम्बन्धी धारणाको विकास भयो । राज्य विधि र प्रणालीमा चल्ने राजनीतिक, संवैधानिक र कानुनी संरचना हो । रोमन र ग्रिक शासन कालमा नै जनताका प्रतिनिधिको चयन गर्ने गरिएको देखिन्छ । यद्यपि चर्च, धर्म, अलौकिक शक्ति, पादरी, राजा र सेनापतिका नाममा ज्यादि अन्याय तथा अत्याचार भएकाले विश्वमा दर्जनौँ पटक राजनीतिक, सामाजिक र कानुनी द्वन्द्व र सङ्घर्ष हुनपुग्यो । अनेकौँ सङ्घर्षको परिणामस्वरुप लोकतन्त्र, आवधिक निर्वाचन, विधिको शासन, स्वतन्त्र प्रेस, स्वतन्त्र र सक्षम न्यायालय, विचारमा आधारित राजनीतिक संगठन र पार्टीहरू तथा नागरिक समाजको कल्पना गरिएका हुन् । राजा, महाराजा र निरंकुश शासनबाट नागरिक इतिहासमा वाक्क दिक्क भएकाले राजाको शासन हटाउनुपऱ्यो ।

सन् १२१५ मा बेलायती राजा जोन (११६६-१२१६) द्वारा नागरिकको दैनिक जीवनमाथि हुने गरेका हस्तक्षेपबाट आजित भएर नागरिक विद्रोह भएपछि राजाले बाध्य भएर म्याग्नाकार्टा नामको कानुन ल्याउनुपऱ्यो, जसकारण नागरिकको जीवनमाथिको रोयल पेरोगेटी (राजकीय हस्तक्षेप)लाई गैरकानुनी घाषित गऱ्यो । बेलायती विधिशास्त्री थोमस हब्स (१५८८–१६७९) ले पादरी र धर्मगुरुको शासनको विरोध गरे । शक्तिको दूरुपयोग गरी अर्काे मुुलुकको भूगोल कब्जा गर्ने प्रवृत्तिले युरोपमा ३० वर्षसम्म भीषण युद्ध भयो । युद्धबाट हार खाएर उनीहरूले सन् १६४८ मा वेष्टफालिया सन्धिमा हस्ताक्षर गरे । जसले युद्ध थोपरेर ‘नायक’ बन्ने सोचको अन्त्य गऱ्यो । त्यसपछि युरोपले कुनै एउटा चमत्कारिक व्यक्तिको शासनमा होइन प्रणालीको विकासमा जोड दिन थाल्यो ।

आफूलाई ‘नायक’को रूपमा प्रस्तुत गरेका हिटलरले २०औँ शताब्दीको सुरूमा रगतको होली खेले । जर्मनमा नाजी पार्टीको गठन गरे । त्यसपछि शक्ति र सत्तामा आएका एडोल्फ हिटलर (१८८९-१९४५) द्वारा आफूलाई जर्मनको ‘डरलाग्दो हिरो’को रूपमा प्रस्तुत गरे । सन् १९३९ देखि सन् १९४५ सम्म दोस्रो विश्वयुद्ध गरियो । ६० लाख बढीको हत्या भयो । भौतिक संरचना र साधनको क्षतिको वास्तविक तथ्य निकाल्न सकिएन । यसरी एउटा मान्छेको चमत्कारमा विश्वास गरेर नायकलाई प्रणाली भन्दा ठूलो ठान्दा मुलुक, व्यक्ति र भूराजनीति त्रसित भयो । मान्छे जति नै शक्तिशाली र क्षमतावान भएपनि प्रणालीले काम गरेन भने त्यो टिक्दैन । एउटै मान्छेले एक्लै चमत्कार गर्ने कुरा फिल्ममा मात्र सम्भव हुन्छ ।

सत्तामा नायक फिल्ममा जस्तो ‘नायक’ खोज्ने प्रवृत्ति समाजमा हिजो थियो । आज पनि रह्यो । भूराजनीतिमा त्यस्ता ‘नायक’ पात्र सफल भएको उदाहरणचाहिँ कमै देखिन्छन् । सन् २०१३ पछि सत्तामा आएका भेनेजुएलाका राष्ट्रपति ह्युगो चावेजलाई त्यहाँ नायक सोचियो । राष्ट्रवादी उग्र भाषण गर्दै सत्तामा आएपछि मुलुकमा व्यापक सुधारको अपेक्षा गरियो । तथापि, भेनेजुएला सर्वाधिक भ्रष्ट, कुशासन, गरीब र द्वन्द्वग्रस्त अवस्थामा पुग्यो । युक्रेनमा वास्तविक हिरोलाई सत्ता राजनीतिको समेत ‘हिरो’ बनाइँदा सन् २०२२ फेब्रवरी २४ देखी रुसी सैन्य आक्रमणको सामना गर्नु पऱ्यो । पाकिस्तानमा सन् २०१८-२२ को अवधिमा परम्परागत पार्टीहरूलाई ‘चोर’को आरोप लगाएर नायकत्वको भूमिकासहित सत्ता राजनीतिमा आएका इमरान खान आफैं भ्रष्टाचारमा मुछिए । उनको शासन-सत्ताबाट मुलुकमा सुधार केही पनि भएन । भारतको नयाँ दिल्लीमा समेत भ्रष्टाचारको मुद्दा उठाएर सत्तामा आएका ‘नायक पात्र’ अरविन्द्र केजरीवाल सन् २०१३ देखि सन् २०२४ सम्म मुख्यमन्त्री रहे । दिल्लीको अवस्थामा तात्विक सुधार तथा परिवर्तन भएन । सन् २०२५ को निर्वाचनबाट उनी पराजीत भए । आफैं भ्रष्टाचारको मुद्दामा फसे । फिलिपिन्समा राष्ट्रपति तुर्तेतलाई नायक ठानियो । उनले हजारौँको गैरकानुनी हत्या गरे । अहिले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी)को वारेन्टबाट नेदरलयान्डको हेग लगियो । द. कोरियामा पनि केही समयपूर्व पूर्वराष्ट्रपति युन सुक यलले नागरिक स्वतन्त्रता खोसेर निरंकुशता लाद्न खोजे । नागरिक समाज र सबैको विरोध भएपछि महाअभियोग लगाइयो । संवैधानिक अदालतले सदर गऱ्यो । ‘मेक अमेरिका ग्रेट अगेन’को नारामा सत्तामा आएका राष्ट्रपति डोनाल्ड ट्रम्पको उग्र राष्ट्रवादी ‘नायक’ भूमिकाले विश्वको अर्थराजनीतिमा समस्या चर्काउँदैछ । नायक पात्रबाट शासन सत्ता सञ्चालनमा चमत्कार हुने सस्तो खालको नागरिक सोचले यसरी मुलुकहरूमा समस्या मात्र पैदा गर्दैआयो । पेशेवर व्यवसायी, ठग र धुर्त पात्रका पपुलिस्ट भूलभूलैयाबाट समाजले ठूलो धोका पाउँदै आएका अनेकौँ उदाहरण भूराजनीतिमा देखिन्छन् ।

नेपालको सत्ता राजनीतिमा पनि चमत्कारपूर्ण पात्र र प्रवृत्ति खोजियो । नेपाल विद्युत प्राधिकरणका पूर्वप्रबन्धक कुलमान घिसिङलाई पनि ‘बिजुली नायक’ भनियो । ‘उनी नभए नेपाल अन्धकार बन्ने’ भ्रमसमेत छरियो । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई त्यस्तै ‘हिरो’ सोचियो । सहकारी कान्डमा मुछिएका रवि लामिछानेलाई भगवान् भनियो । अर्थात् प्रणाली, विधि र व्यवस्थाबाट समस्याहरूको न्यूनीकरण तथा दिगो समृद्धिमा विश्वास नगर्ने प्रवृत्तिका कारण एउटै मान्छेले जादुले जसरी कार्य गर्ने भ्रम पालियो, जुन खतरनाक तथा हानीकारण सोच र प्रवृत्ति हो । राजनीतिमा कोही पनि नयाँ दल वा व्यक्ति आउने कुरा स्वागतयोग्य र आवश्यक कुरा हो । तथापि, कुनै पनि व्यक्ति र संस्था वैचारिक, नीतिगत, दृष्टिकोण, कार्यक्रम, योजना, पूर्वतयारी, संगठन, सिद्धान्त र राजनीतिक मूल्यबिना अर्कालाई गाली गरेर, फन्डा एवम् फन्टुस हल्लाको भरमा जुवामा च्याँखेदाउ हानेजसरी राजनीतिमा आउने कुराले प्रणालीलाई कमजोर पार्ने रहेछ ।

लोकतन्त्र, विधि र लोकतान्त्रिक प्रणालीप्रति नागरिक अपनत्व र विश्वास कमजोर पार्ने भनेको नै कसैलाई पनि हल्लाको आधारमा नायक मान्ने प्रवृत्ति तथा सोचले हो । जसले राजनीतिलाई प्रदूषित मात्र बनायो । आफूलाई नयाँ भन्दै पुरानाबाट सबै बर्बाद भएको भन्ने तथ्यहीन र आधारहीन भ्रम छर्ने कामले नागरिक र मतदाताहरूमा अतिवादी तथा अवस्तुवादी सोचको विकास गराइरहेको छ । सामाजिक सञ्जालको दुरुपयोग गर्दै फ्रड र फन्डा फैलाएको आधारमा कुनै पनि वैचारिक, सैद्धान्तिक र कार्यक्रमिक दृष्टि नभएकाहरूलाई नायक फिल्मको नायक पात्र जस्तो ठान्नु ठूलो भूल र भ्रम मात्र हो ।

निर्वाचन आयोगमा पछि दर्ता गरेको, मान्छेको उमेर कम भएको, शरीर ह्यान्डसम भएको, कपाल नफुलेको, धेरै बोल्न सक्ने र नाटक-फन्डा गर्न सक्ने नायकपात्र बढी रुचाइएका कारण त्यसले अहिले आएर नेपालको लोकतान्त्रिक गणतन्त्रलाई नै बदनाम बनाइरहेको छ । लोकतान्त्रिक गणतन्त्रको विकल्प कुनै पनि अनिर्वाचित शक्ति वा व्यक्ति हुनै सक्दैन । मौसमी हल्ला र नायक प्रवृत्तिको भ्रममा बढी विश्वास गर्ने सोचले नेपाली सत्ता-राजनीतिमा अनेकौँ संकट देखिएका हुन् । प्रणाली र विधिको स्थापनाबाट मात्र दीगो विकास र प्रगति हुन्छ । एउटा कुनै मान्छेलाई ‘नायक’ ठान्ने सोच र प्रवृत्तिले समाज, मुलुक र सत्ता राजनीतिलाई जहिल्यै सङ्कटमा पाऱ्यो ।

निर्वाचनबाट आएका जनताका प्रतिनिधिको रिस फेर्न बैँकमारा ठग पात्रलाई नायक ठानियो । त्यस्ता फ्रड र फन्टुस पात्रको पछिलागेर २०८१ साल चैत १५ गते काठमाडौंको तीनकुने पुग्नेहरूले पनि हिन्दी फिल्म नायकको पात्र नायक खोजेकोले आन्दोलनका नाममा लुटपाट, हिंसा र अराजकता मच्चाइयो । जो अर्थहीन र गैरकानुनी प्रदर्शनमात्र थियो भन्ने कुरा २०८२ साल जेठ १५ पछि राजावादीको आन्दोलन आफैं तुहिएपछि थप प्रस्ट भयो । यसर्थ, प्रणालीको विकासमा लाग्नु पर्दछ । कसैलाई पनि फिल्मको नायक जस्तो सोचेर ‘भगवान्’ ठान्ने सोच केटाकेटीपना मात्र हो । त्यस्ता सोचबाट मुलुक बन्दै बन्दैन । लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाएर अघि बढ्नुको विकल्प रहेन । लोकतन्त्रमा सबै नागरिक एउटै कम्पनीका समान अधिकार भएका शेयरहोल्डर जस्ता हुने भएकाले सबैको रचनात्मक र सहयोगात्मक भूमिका रहने कुरा भुल्नु हुन्न । हिरो चटकबाट केही दिन फिल्म चल्ला, मुलुक चल्न सक्दैन भन्ने कुरा युक्रेनबाट पनि जान्न सकिन्छ ।