आजको पञ्चाङ्ग एवम् राशिफल (३ असार २०८२ मंगलबार, १७ जुन २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (३ असार २०८२ मंगलबार, १७ जुन २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं.२०८२ आषाढ ३ गते तद्अनुसार सन् २०२५ जुन १७ तारिख मंगलबार आषाढ कृष्ण पक्षको षष्ठी तिथि शतभिषा नक्षत्र विषकुम्भ योग भद्रा करण आनन्दादिमा मृत्यु योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १९ः०० मा हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन सुखद नै रहने देखिन्छ । व्यापार-व्यवसायमा सुधार आउनेछ भने मनमा रहेको डर हटेर नियमित कार्यमा उत्साह बढ्नेछ । यात्रागत कार्य लाभदायी रहला । सन्तान पक्षबाट पनि सुख पाइनेछ । पठनपाठन सामान्य रहला । खेलकूद तथा मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – केही चुनौतीयुक्त समय छ । स्वास्थ्य कमजोर रहेको आभास हुनुका साथै नियमित कार्यमा विकर्षण बढ्न सक्छ । नसोचेको ठाउँमा धन खर्च हुने सम्भावना छ । फजुल खर्च नियन्त्रणका लागि आर्थिक व्यवहारमा विशेष सोचसमझ अपनाउनु उचित हुनेछ । धेरै श्रम गरे पनि कामको कम मूल्याङ्कन हुनसक्छ । आजको दिन मान्यजनको सुझाव पनि अप्रिय लाग्न सक्छ । हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् ।

मिथुन – समय अनुकुल रहेपनि नयाँ तथा दीर्घकालीन योजना बनाउन आजको दिन उचित सावित नहुन सक्छ । कुरा काट्नेहरूको सक्रियता बढ्नेछ । स्वास्थ्य केही कमजोर रहन सक्छ, जसकारण दैनिकीमा असर पर्न सक्छ । आफन्तजन सहयोगी बनेर देखापर्लान् । सामाजिक कार्य एवम् धर्मकर्ममा आकर्षण बढ्नेछ । बौद्धिकता तथा रचनात्मकता बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट – दीगो फाइदा हुने काममा लगानी बढाउन सकिने समय छ । आजको दिन खर्चको तुलनामा कमाइ नै बढी हुने योग छ । छरछिमेक एवम् मित्रमण्डलीबाट सरसहयोग प्राप्त होला । व्यापारिक कर्मबाट विशेष फाइदा मिल्नेछ । सोच्ने शक्ति बढ्नेछ । कुरा काट्नेहरु नै प्रशंसा गर्न थाल्नेछन् । सकारात्मक कार्यका लागि ब्यस्तता बढ्नेछ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ ।

सिंह – आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुने देखिन्छ । परिश्रमले धेरै काम बन्नेछन् भने धनार्जनको योग छ । थालेका कामहरु सहजै बन्न सक्छन् । पारिवारिक सहयोगबाट चिताएको काम सहजै बन्ला । आरोग्यबल बढ्नेछ । विपरीतलिंगी मित्रको विशेष साथ–सहयोग रहनेछ । बौद्धिक तथा रचनात्मक काममा आकर्षण रहनेछ ।

कन्या – सोचाइको विपरीत परिणाम प्राप्त हुने समय छ । कुनै महत्वपूर्ण कामको शुरुवात गर्दै हुनुहुन्छ भने थाती राख्नु उचित हुनेछ । आजको दिन आगो, पानी, हातहतियार जस्ता बस्तुप्रति विशेष सावधान रहनु हितकर हुनेछ । आलोचक य कुरा काट्नेहरु सक्रिय रहन सक्छन्, संयमपूर्ण व्यवहार गर्नुहोला । आर्थिक समस्या निम्तनुका साथै पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । मित्रजनका बीच पनि ब्यर्थको विवादको सम्भावना रहेकोले व्यवहारमा संयमताको दरकार छ । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ ।

तुला – कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्ने दिन छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि होला । मित्रजनले प्रशंसा गर्नेछन्, नसोचेको सम्मान मिल्ने देखिन्छ । कला क्षेत्रमा रुचि बढ्नेछ । प्रेमभाव र आरोग्यबल वृद्धि हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । साहसिक कार्यमा विशेष आकर्षण रहनेछ । जागिरमा भने अनावश्यक झमेलाको सामना गर्नुपर्ने योग छ, सजग रही कार्य-व्यवहार गर्नुहोला ।

वृश्चिक – अल्झेको काम सुल्झने र नयाँ सोच-विचार पैदा हुने समय छ । नियमित कार्यबोझबाट फुर्सद मिलेको अनुभूति हुनुका साथै मनमा प्रशन्नता छाउला । मित्र एवम् आफन्तजनसँगको भेटघाटले उत्साह जगाउनेछ । धनलाभको योग छ । खर्च पनि केही वृद्धि हुने देखिन्छ । अध्ययन कार्यमा खासै मन नजाला । प्रतिष्पर्धी परास्त हुनेछन् ।

धनु – अधुरा कार्यले पूर्णता पाउनुका साथै नयाँ कामको शुरुवात हुनसक्ने समय छ । व्यवसायमा थप लगानी बढाउन सकिएला । वैदेशिक तथा ब्यापारिक कामकाजमा विशेष फाइदा मिल्ने योग छ । आलोचकहरू नै प्रशंसामा उत्रिएलान् । रुचिका विषयमा लगानी बढाउन उचित बेला छ । पराक्रम बढ्नेछ । गीतसंगीत, रसरागात्मक क्रियाकलापमा विशेष आकर्षण रहला ।

मकर – आजको दिन केही चुनौतीयुक्त रहला । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश हुनसक्छ । स्वास्थ्य कमजोर रहनाले नियमित कार्यमा असर पर्न सक्छ । चोटपटकको योग रहेकोले हातहतियार, सवारीसाधन आदिको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । निको भएको स्वास्थ्य-समस्याले पुनः सताउन सक्छ, ख्याल राख्नुहोला । शत्रुपक्षलाई परास्त गर्न सकिनेछ । प्रतिकुलताका बाबजुद दायित्व निर्वाहमा सफलता मिल्नेछ ।

कुम्भ – विभिन्न अवसरले पछ्याउने समय छ । तपाईंको लगनशीलता र इमान्दारिताको प्रशंसा गर्नेहरु भेटिनेछन् । महत्वपूर्ण कामहरू बन्नाले मनमा शान्ति छाउनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्ताव मिल्ने सम्भावना छ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुर्ला । आरोग्यबल बढ्नेछ ।

मीन – ब्यापार, कृषि, तथा बैदेशिक क्षेत्रमा क्रियाशीलताको दृष्टिले दिन एकदमै राम्रो छ । आम्दानी वृद्धि तथा आर्थिक क्षेत्रमा प्रशस्त लाभ हुने देखिन्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्ला । मित्रजनका साथ मिष्ठान्न भोजन मिल्नेछ । अरुको विस्वास जित्न सजिलै सकिएला । लेखन तथा प्रकाशनसित सम्बन्धित काममा पनि विशेष सफलता मिल्नेछ । सुख विलास बढ्नेछ ।