मानिसहरू प्रायः दुःखमा साथको परिकल्पना गर्छन् तर खासमा सुखमा रमाउन, खुशीमा हाँस्न दुःखमा भन्दा बढी साथीको आवश्यकता पर्छ । तपाईं रुन एक्लै पनि सक्नुहुन्छ तर हाँस्न त एक्लै सकिँदैन, गाह्रो हुन्छ ।
✍ बबिता बस्नेत
एकर्काको साथ या भनौँ जीवनसाथीलाई लिएर अहिले केही कुरा बहसमा छन्, त्यसमध्येको एउटा हो- विवाहको उमेर । हाम्रो समाजमा एकर्काको साथलाई विवाहसँगै जोडेर हेरिने हुँदा विवाहका बारेमा समूदायअनुसार आ-आफ्नै प्रकारका मूल्य-मान्यताहरू छन् । विवाहका लागि केटीको उमेर २० वर्ष हुनुपर्ने कानूनले तोकेको छ । कानूनले तोकेपनि छोरीहरूले २० वर्षमै विवाह गर्न भने हुँदैन भन्ने लाग्छ, २० वर्षमा त पढाइ नै सकिएको हुँदैन । अहिलेका छोरीहरूको जिन्दगीको न्यूनतम शर्त आत्मनिर्भरता हुनुपर्छ । काम जे गरेपनि हुन्छ, प्राविधिक, अप्राविधिक, शारीरिक श्रम बढी गर्नुपर्ने या मानसिक श्रम बढी, काम काम नै हो । बाबुआमा सम्पत्तिवाल हुन् या नहुन् हरेक छोरीहरूले आफ्नो खुट्टामा उभिन जरुरी छ । महिला, पुरुष, एलजीबीटीआईक्यू समूदाय सबैले आत्मनिर्भर हुन आवश्यक छ । तर महिलाले विवाह गरेर अर्काको घरमा जाने प्रचलन भएकाले महिलाहरूको आत्मनिर्भरता थप आवश्यक छ । आफूमाथि अन्याय भयो, कुनैपनि नाममा कुनै विपद् आइलाग्यो भनें आफै बाँच्ने हिम्मत सबैमा हुनुपर्छ, समाजले हेर्ने दृटिकोणका कारण महिलाहरूमा अलि बढी हुनुपर्छ ।
उमेर शारीरिक मात्र नभइ मानसिक परिपक्कताका लागि पनि आवश्यक हुने रहेछ । अहिले जति पनि वैवाहिक सम्बन्धहरू टुटिरहेका छन्, ती प्रायः एकर्कालाई राम्ररी बुझ्दैनबुझी लहडमा गरिएका देखिन्छन्, भेटिन्छन् । युवा अवस्थामा एकर्काको साथको महत्व नै नबुझी आकर्षणले, उमेर बढी भयो भनें विवाह नहोला कि ? बच्चा पाउन ढिलो होला कि ? समाजले के भन्ला ? भनेर विवाह गर्नु, गराउनु भनेको जसले गरेपनि धोखा हो । आफैलाई घात गर्ने मानिसहरूको संख्या यहाँ ठुलो छ । त्यसैले विवाहको उमेरमा अब धेरै छलफल र बहस गरिरहनु पर्छ जस्तो लाग्दैन । उमेर घटाउने कुरा मन्त्री, सांसदहरूले त के बाबुआमा या घर–परिवारका कुनैपनि सदस्यहरूले गर्न मिल्दैन ।
समयक्रममा विवाहलाई फरक तरिकाले हेर्नुपर्छ जस्तो लाग्छ । सम्बन्धमा प्रायः मानिसहरूबाट गल्ती भइरहेको हुन्छ । प्रेम या सम्बन्धलाई लिएर गल्ती नगर्ने मानिसहरू शायदै कम छन् । गल्तीहरू भएपनि विगतलाई लिएर हुने ‘रिग्रेट’बाट भनें टाढा रहनुपर्छ । हरेक मानिस आफैमा छुट्टै ब्राण्ड हो । दुई अलग-अलग पृष्ठभूमि, सोच र परिवेशका मानिस सँगै बस्नु त्यति सहज कुरा पनि होइन । यो असहज कामलाई सहज बनाउन मानिसले धेरै मिहेनत गर्नुपर्ने हुन्छ । कोही किन कसैको हुन्छ ? विगतमा कतिले आफ्नो सुरक्षाका लागि विवाह गरे, कतिले सन्तान पाउन, कतिले त घरमा काम गर्नकै लागि पनि विवाह गरे । महिला र पुरुषका लागि विवाहको अर्थ र महत्व फरक फरक थियो, अझै पनि छ । महिलाहरूले आत्मसम्मानित जीवनका बारेमा नसोच्दासम्म वैवाहिक जीवन एकतर्फी सोचले अगाडि बढिरहेको थियो, जब महिलाहरूमा ‘सेल्फ रेस्पेक्ट’ले ठाउँ लिन थाल्यो सम्बन्धलाई हेर्ने दृष्टिकोण फरक बन्दै गयो, गइरहेको छ ।
तपाईंले कसैलाई मलाई केयर गर, खाना खायौ ? भनेर सोध, तिमीलाई कस्तो छ ? के गुज्रिरहेको छ सोध्नु पर्दैन ? भनेर भनिरहनुहुन्छ भने तपाईं समय बर्बाद गर्दै हुनुहुन्छ । त्यसो भनी-भनी अघिबढेको सम्बन्ध कहिल्यै पनि तपाईंले सोचेजस्तो हुँदैन । एकर्कालाई गर्ने वास्ता र बेवास्ता दुवै मनबाट आएका हुन्छन् । अरुले महसूस गराएर हुने कुरा होइनन् ।
जीवनमा कसैको साथको परिकल्पना गर्नुको अर्थ उसलाई विश्वास गर्नु हो । तथापि आफूभन्दा विश्वासिलो मान्छे अर्को हुँदैन । कतिपय मानिसहरू यस्ता हुन्छन्, विश्वास गर्दागर्दै तिनले आत्मविश्वास गिराउन सक्छन् । महिला, पुरुष सबैमा यो लागु हुन्छ । हिजोआज ‘लिभिङ टुगेदर’ बस्ने चलन पनि बढ्दै गएको छ । युवा उमेरका मात्र नभइ परिपक्व उमेरका एकल जीवन बिताइरहेकाहरू पनि साथमा हुन्छन् या भनेंजस्तो मान्छे पायो भने ठिकै हुन्छ भनेर ‘कम्पानियनसीप’को परिकल्पना गरिरहेका हुन्छन् । जीवनमा जे हुनु भयो, सकियो अब म एक्लै बाँच्छु भन्ने मानिसहरूको संख्या धेरै हुँदैन । एक्लै बस्नु र एक्लोपन फरक कुरा हो । आफूसँग कोही हुँदाहुँदै पनि सहि परेन भने मानिस एक्लोपनबाट गुज्रिन सक्छ । आफैसँग रमाउने मान्छे कोही मानिससँग सम्बन्धमा नरहेपनि एक्लोपनरहित खुशी जीवन बाँचिरहेको हुनसक्छ, हुन्छ । कोही मान्छे साथमा हुँदाहुँदै पनि आफूलाई दुःखपर्दा काम लाग्दैन भने जीवनमा कोही हुनु र नहुनुको खासै अर्थ हुँदैन ।
तपाईं कसैको साथमा छु भन्ने ठानिरहनु भएको छ तर बिरामी पर्दा एक्लै अस्पताल जानुपर्छ भने कसैको साथमा छु या कोही मेरो साथमा छ भनेर नसोच्नु नै राम्रो हुन्छ । महिला, पुरुष या अन्य सबैमा मानव जातिमा लागु हुने कुरा हो यो । आफ्नो मान्छेले भ्याउँदै नभ्याएर, इमर्जेन्सी परेर या टाढा दूरीमा भएको बेला एक्लै अस्पताल जानुलाई भने सामान्यरूपमा लिनुपर्ने हुन्छ । उदाहरणहरू अन्य धेरै हुन सक्छन्, प्रायः मानिसले बिरामी हुँदा एक्लै नपरियोस्, दुःखमा साथ होस् भन्ने परिकल्पना गरेर विवाह गर्ने या सम्बन्ध स्थापित गर्ने बुझेको, देखेको हुनाले अस्पताल अगाडि आएको हो । आफन्त, साथीभाइकहाँ जाँदा, विवाह, ब्रतबन्ध घटना अनेक हुनसक्छन् ।
मानिसहरू प्रायः दुःखमा साथको परिकल्पना गर्छन् तर खासमा सुखमा रमाउन, खुशीमा हाँस्न दुःखमा भन्दा बढी साथीको आवश्यकता पर्छ । तपाईं रुन एक्लै पनि सक्नुहुन्छ तर हाँस्न त एक्लै सकिँदैन, गाह्रो हुन्छ । तर त्यसका लागि पनि तपाईंलाई सही मानिसको आवश्यकता पर्छ । तपाईंले कुनै सफलताको कुरा उत्साहित भएर सुनाइरहनु भएको छ तर साथमा रहेको मान्छेको मुहारमा तपाईंको खुशीले दुःख भरिरहेको छ भनें तपाईं सही मानिसको साथमा हुनुहुन्न भनेर बुझ्नुपर्ने हुन्छ । दुःखमा मात्र होइन सुखमा पनि मानिसलाई सँगै हाँसिदिने मान्छे चाहिन्छ । यति पनि गर्न नसके कोही कसैको किन हुने ?
सुख र खुशीमा नहाँसिदिने र दुःखमा साथ नदिने तर सँगै रहने मान्छेको सङ्ख्या यहाँ ठुलो छ । सँगै हुनु र एकार्काको साथ पाउनु फरक कुरा हो । सम्बन्ध प्रायः उत्तरदायित्वसँग जोडिएर आउँछ र उत्तरदायित्व महसूस गर्ने कुरा हो । पति-पत्नी रहेका कति मानिसहरू तिमीले मलाई यसो गरेनौ, उसो गरेनौ भनिरहेका हुन्छन् । खासमा यस्ता कुराहरू अरुले भनेर नभइ आफै आउने कुरा हुन् । तपाईंले कसैलाई मलाई केयर गर, खाना खायौ ? भनेर सोध, तिमीलाई कस्तो छ ? के गुज्रिरहेको छ सोध्नु पर्दैन ? भनेर भनिरहनुहुन्छ भने तपाईं समय बर्बाद गर्दै हुनुहुन्छ । त्यसो भनी-भनी अघिबढेको सम्बन्ध कहिल्यै पनि तपाईंले सोचेजस्तो हुँदैन । एकर्कालाई गर्ने वास्ता र बेवास्ता दुवै मनबाट आएका हुन्छन् । अरुले महसूस गराएर हुने कुरा होइनन् ।
महिलाहरूले आत्मसम्मानित जीवनका बारेमा नसोच्दासम्म वैवाहिक जीवन एकतर्फी सोचले अगाडि बढिरहेको थियो, जब महिलाहरूमा ‘सेल्फ रेस्पेक्ट’ले ठाउँ लिन थाल्यो सम्बन्धलाई हेर्ने दृष्टिकोण फरक बन्दै गयो, गइरहेको छ ।
मानिसको जीवनमा खुशी र शान्तिले बढी महत्व राख्छ । प्रायः मान्छे यी दुई कुराको चाहनामा भौँतारिरहेको हुन्छ । खुशीको चाहनामा आफूलाई दुःखी बनाइरहेको हुन्छ, शान्तिको चाहनामा अशान्त बनाइरहेको हुन्छ । हिजोआज हामी मानिसहरूको सम्बन्ध बिग्रनुको दोष, चाँडै विवाह गर्नुको दोष सामाजिक संजाललाई दिइरहेका छौँ । खासमा सम्बन्धहरूमा दरार हिजो पनि थियो, सानै उमेरमा भागी विवाह विगतमा पनि हुन्थे, विवाहेत्तर सम्बन्धहरू हिजो पनि थिए । अहिले सामाजिक संजालका कारण मानिसहरू ती कुराबाट सुसूचित भएका मात्रै हुन् । जीवनमा जे-जे भएपनि, जे-जस्ता उतार चढावबाट गुज्रिनु परेपनि अन्ततः मानिसले संहाल्नुपर्ने चाहिँ आफूले आफैलाई हो । अरुलाई बनाउनुअघि हामीले आफूलाई बनाउनु आवश्यक हुन्छ । आफूले आफैलाई बनाउनुको अर्थ बिभिन्न परिस्थितिको सामना गर्न सक्नु हो ।
तपाईं पति, पत्नी, साथी, प्रेमी या प्रेमिका के-के हुनुहुन्छ होला, तर जे जस्तो सम्बन्धमा भएपनि जीवन छोटो छ । यो छोटो जीवनमा गर्नुपर्ने कुरा धेरै छन् । एकर्काको राम्रो साथ भयो भने जीवन सहज हुन्छ । राम्रो साथ भएन र विश्वास बढ्नुको साटो आत्मविश्वास खस्किन थाल्यो भने एकर्कालाई आरोप प्रत्यारोप गर्नुभन्दा एक्लोपनबिनाको एक्लो यात्रामा हिँड्नु राम्रो हुन्छ । जिन्दगीको लडाइँ आफैसँग सहज छैन, अरुसँग के लडिरहनु ? कसैसँग लगातार लडिरहन हामीसँग समय पनि छैन । आफूलाई राम्रो गर्न त समय दिनदिनै कम भएर गइरहेको छ, अरुलाई नराम्रो गरेर किन बिताउनु ?
आफू एक्लै हिँड्नका लागि पनि मानिसले आफूलाई तयार गर्नु आवश्यक छ । कहिलेकाहीँ आफ्नोपनले भरिएको साथ हुँदाहुँदै पनि साथमा रहेको मान्छेले संसार छोडिदिँदा जीवनमा अकस्मात मानिस एक्लै पर्न सक्छ । कुनैपनि परिस्थितिले डोऱ्याउँदै लगेर तपाईं एक्लै अप्रेसन थिएटरमा गएर बस्नुपर्ने दिन आउन सक्छ, त्यसैले सबैभन्दा भरोसायोग्य जीवनमा कोही छ भने त्यो हामी आफै हो । कुनैपनि परिस्थितिलाई सम्हाल्न सक्नेगरी आफूलाई बनाउँ ।
प्रतिक्रिया