म अब लेखक नै हुन्छु !

म अब लेखक नै हुन्छु !


विज्ञानले भन्दोरहेछ- समान्यतया मानिसको भौतिक शरिरले जन्मदेखि २५ वर्षको उमेरसम्म उचाई लिन्छ अनि ३५ वर्षसम्ममा आफ्नो मौजुदा स्वभावमा पनि परिवर्तन हुन सक्छ । त्यस उप्रान्त मान्छेले यी दुईटै कुरामा अपुग वा ज्यादा भयो भन्दै घटबढको आशा राख्यो भने उ स्वयं पटमुर्ख हुनुसिवाय केही हुँदैन ।

त्यसो हो भन्ने जान्दाजान्दै पनि मेरै मनले मेरो उचाई होइन स्वभाव बदल्न खोजेको छ । थाहा छ, नहुने कुराको जिद्दी गर्नु मेरो मनले मलाई नै पटमुर्ख बनाउनु हो । तर, स्वभाव बदल्ने उमेर कटिसकेको मैले नै किन यस्तो घृष्टता गर्न खोज्दैछु, अथवा मुर्ख्याइँ गर्दैछु भन्ने कुरा मेरो मनको कुरा सुनेपछि तपाईं पनि मैजस्तो हुन पुग्नुभयो भने कृपया अचम्म नमान्नु होला !

त्यसो त, म उसैपनि सामान्य जीवन नै जिउँछु । सामान्यमा पनि म अझै तुच्छ जीवनमा सीमित हुन पाए कति उत्कृष्ट जीवन जिउँदो हुँ भन्ने नै मेरो खास अभिप्राय हो । भनिन्छ, देश काल र परिस्थितिअनुसार चल्न सक्नु पर्दछ, इमान्दारिता र नैतिकता त केवल भन्ने कुरा न हुन् ! त्यसैले मेरो स्वभाव बन्ने उमेरभित्र बनेको स्वभाव बदलेर बेइमान बन्न चाहन्छ मेरो मन !

तुच्छ जीवन जिउन नैतिकता, प्रेम, दया, करुणा र सद्भावजन्य आधारभुत स्वभावको पटक्कै जरुरी पर्दैन । आफुमा भएका त्यस्ता ‘असल गुण’हरू मिल्काएर खराब गुणयुक्त स्वभावमा तुच्छ जीवन जिउँदा उत्तम मानिन्छ । त्यही ठानेर ममा रहेको इमान-जमानको स्वभाव बदल्दा कसैलाई यो मनुवा डिप्रेसनको शिकार भएछ भन्ने लागेछ भने त्यो जस्तो अभुतपूर्व र उत्कृष्ट स्वभाव मेरो जीवनमा अर्को कुनै हुनेछैन भन्छ मेरो मन !

हाम्रो राजनैतिक र सामाजिक समाज यति भ्रष्ट भयो कि म मेरो आदर्शको सदाचारी समाजमा ज्युँनै नसक्ने एक्लो भएँ । सामाजिक प्राणी भएको नाताले एक्लो भएर रहन पनि त सकिएन ! भ्रष्ट समाजमा घुल्न पनि ममा भ्रष्टै स्वभाव हुनु जरुरी भयो । हाल भइरहेको मेरो स्वभावले मलाई यो भ्रष्ट समाजमा घुल्ने त के, पस्न र बस्नै दिँदैन । झैझगडा र विवादमा बस्नुभन्दा त विवादरहित र मिलनसार हुनु सर्वथा उत्तम हो भन्ठानेर भ्रष्ट र दुष्ट हुन खोज्छ मेरो मन ।

त्यसकारण भ्रष्ट-बाहुल्य समाज र मेरो सोचमा रहेको स्वभावलाई मैले धेरै निफनेँ । धेरै केलाएँ । धेरै सोचविचार गरेँ । यसपछि मेरो इमान्दारिता देखेर मन धेरै दुःखी भयो र मुर्ख्याइँ गर्न मलाई उक्साउँदै भन्यो- तैंले तेरो स्वभाव र सोच बदल् ! लङ्गडोको देशमा खुट्टो उचाल ! भ्रष्टको मुलुकमा भ्रष्टकै मतियार र सहयोगी भइदे ! पाएसम्म देश लुट् ! अनि त तँ कहिल्यै एक्लो हुने छैनस् । तेरा अनगिन्ती साथीहरू बन्नेछन् ! तँलाई यौटा कमसेकम एनजिओकै भएपनि पद दिनेछन् ! यसकै माध्यमबाट सरकारी सम्पत्ति लुटमारको हकदार बन्दै देश-देशावर शयर गर्नेछस् । तब न तँ समाजमा शान्तिले बस्नयोग्य हुनेछस् ! बेफ्वाँकमा केको आदर्श छाँट्छस् ? विरोध गरेर के पाउँछस् ? बरु उनैसँग हात मिलाएस् ! कसको विरोध गरेर तँलाई के फाइदा हुन्छ ? तँलाई थाहा छ ? समाजमा निरंकुश शासन फर्किसक्यो ! बुद्धि नपुऱ्याए जेल पुग्नुपर्ला !

यसो… गुन्दा, मनले उक्साएको कुरा मलाई एकदम उचित लाग्यो । हेर्दा भद्र-भलादमी लागेपनि नेतृत्वमा रहेका समाजका अधिकांश मान्छेहरू पथभ्रष्ट छन् । दिनमै पचास लाख कमाउन थालेका छन् । यी र यस्ता भ्रष्टहरूले नै मज्जाले चयनका जिन्दगी बिताएका छन् । उनैका उपति भन्दा खपति ठुला छन् । बोलीमा लपक्क काउलो लाउँछन् । छिनछिनमा छेपारोले जस्तै रंग बदल्न जानेका छन् । हेर्दा विद्वान् जस्तो पनि देखिन्छन् । माथि…माथि पहुँच रहेको जनाउन मोबाइलमा शाही भाषा प्रयोग गर्छन् । उनका नौटंकी नबुझेर भ्रष्ट समाजका मतियारहरूले उसलाई भगवान नै ठान्छन् । खासमा, उनीहरू यति भ्रष्ट छन् कि उनका लाइनमा समाहित हुन पुग्यो भने पुग्ने अपराधीको सात खत पनि माफी गराउन सक्छन् । यस्तो प्रवृत्तिमा मेरो मन जानु भनेको मलाई ऐशआराम र शान्ति मिल्नु हो । त्यसैले कसैको किन विरोध गर्नु ? खुरुखुरु भोट हाल्यो उसैलाई आजन्म नेता बनाइदियो भइहाल्यो… भन्दै यत्ति के मैले गुनेको थिएँ मेरो मन खुशीले उफ्रयो !

मन खुशी भएको देखेर म हौसिएँ । मेरो मनलाई अझ खुशी पार्न खोजेँ र कन्फ्युसियसको भनाइ सुनाएँ । उनी भन्थे- ‘अरुले तिमीलाई गरेको व्यवहार मन पर्दैन भने त्यस्तै मन नपर्ने व्यवहार तिमीले पनि अरुलाई नगर !’ मेरो मनले ध्यान दिएर सुन्यो यो कुरा । तर ऊ खासै खुशी भएन ! अरुको भलो गर्ने कुरा त यसलाई मनै पर्दैन । अर्थात् मनले राम्रा कुरा सुन्नै चाहन्न त म के गरूँ ?

मनलाई खुशी पार्न अर्को जुक्ति निकालेँ । हाम्रै कविशीरोमणी लेखनाथ पैडेलको कविता सुनाएँ –
‘म खाउँ मै लाउँ सुख सयल वा मोज म गरुँ
म हासुँ मै नाचुँ अरु सब मरुन् दुर्बलहरू
भनी दाह्रा धस्ने अबुझ सठदेखि छकपरि,
चीता खित्का छोडी अभयसित हाँस्यो मरि मरि..’

यो कविता सुनेर बल्ल उसको दिल खुश भयो । जुन कुरा असामाजिक हुन्छ, मनले उही रुचाउँछ । यो सबै हुनुमा हाम्रो राजनैतिक र सामाजिक परिवेशले गर्दा होला । अधिकांश सामाजिक जनहरू विगतका केही दशकदेखि देश लुट्नेहरूप्रति अत्यन्त नाराज देखिन्छन् । तर चुनावको समय आउँदा उनै लुटुवालाई बाहेक अर्कोलाई देख्दै देख्दैनन् । यस्ता लण्ठुहरूको बीचमा म बाँच्नु छ । पहिला मेरो मनले यस्तोमा म कसरी रहन सक्छु भन्थ्यो ? तर अहिले मेरो मनले जबर्जस्ती यस्तैमा बाँच भन्छ ! लेखेरै दिनमा पचास लाख कमाई हुन्छ भने ‘लेखक’ किन नबन्ने भने जस्तै मेरो मनले भन्छ- तँ तेरो स्वभाव बदलेर भ्रष्ट समाजमै रमाएर बस्नु । अब बाँच्नको लागि तँ भ्रष्ट हुनैपर्छ । नत्र तेरो खैरियत छैन भन्छ मेरो मनले म के गरूँ !

हरामीहरूको समाजमा सज्जनहरू बाँच्ने उपाए भनेकै उनीहरू जस्तै हुनु हो । यस्तैको अनुयायी नभएसम्म फटाहाहरूले बस्न दिँदैनन् । यो खाले समाजमा राम्राहरूले स्वाभिमानपुर्वक कहिल्यै शीर ठाडो गर्न सक्दैनन् । सफा के हो ? फोहोर के हो ? भन्ने पनि जानकारी नहुनेहरूलाई ‘छिःछिः’ र ‘आहा’ भन्न पनि आउँदैन । जनता भए पो थाहा हुन्थ्यो, ‘जन्तु’ भएपछि हाईसुख्खै ! त्यसैले मेरो मन खुशी हुन्छ र सुख मिल्छ भने अब म पनि किन जन्तु नहुने ? मनमा खुशी र शान्ति मिल्छ भने म किन भ्रष्ट नहुने ? अन्तिममा मेरो मनले मलाई जोड दिएर भन्छ- ‘जबसम्म यो व्यवस्था ढलेर अर्को सुव्यवस्था उठ्दैन तबसम्म तँ भ्रष्ट बनेर ऐशको जीवन जिउनु ! किनकि, यो व्यवस्था नै भ्रष्टहरूका लागि हो । अझ सक्छस् भने तँ लेखकै बनेर दिनमा पचास लाख कमाउनु, तेरो जीवन सार्थक हुनेछ !’ मैले भनेँ- हस्, म त्यस्तै गर्नेछु !