व्यवस्था र अवस्थाबीचको वैपरीत्य : ‘हेल हिटलर’ र ‘म झोले हुँ’ को अर्थसाम्यता !

व्यवस्था र अवस्थाबीचको वैपरीत्य : ‘हेल हिटलर’ र ‘म झोले हुँ’ को अर्थसाम्यता !


जम्मा लगभग तीन करोड नागरिक-संख्या भएको यो प्राकृत सम्पदाको धनाढ्य नेपाल भूमि ! यस भूमिबाट वैध-अवैध रूपमा लगभग एक करोड नागरिक विवशतावश विदेश पलायन भइसकेका छन् र तिनका खाली ठाउँ लगभग उत्ति नै विदेशी (खासगरी इण्डियन) घुसपैठ भई शासकीय न्यानोमा रमिरहेका छन् । अर्थात्, ती घुसपैठियामध्ये धेरैले यस देशको ‘नागरिकता’ पनि घुसपेश र ‘भोट’-सँग सट्टापट्टा गरिसकेका पनि होलान् – जसको मातृभूमि (इण्डिया)- सँगको सम्बन्ध पनि, एकाध बाहेक, नेपालभन्दा प्रिय रूपमा कायमै भएको बुझिने गर्दै आएको छ  !

त्यसो त नेपालका विभिन्न औपचारिक तहमै गानिएकाहरूमध्ये अधिकांश नेपाल-इण्डिया दुबैतिरका नागरिक नै छन् र यता आर्जेको गाँठ इण्डियातिर ओसार्ने गर्छन् भन्ने चर्चा पनि ‘नेपालको बाह्य शोषण’-सँग जोडिँदै आउने गर्दै आएको छ ! यसका साथै, ‘नेपाल देश’-को राष्ट्रियता, राज्यव्यवस्था र समसामयिक अवस्थाका प्रति उनीहरू ‘जता मल्खु उतै ढल्कु-को चलखेलमा खप्पिस मानिने गरिन्छ । अथवा, यस देशको अगति-प्रगतिको ऊहापोहसँग उनीहरूको खासै सरोकार नहुने देखिएकै छ ।
अतः यस्ता विदेशीकै हैसियतका वा ‘देशी बनेर’ जम्नसकेका ‘विदेशी’ मल-जलले धन्य बन्ने गरेका शासकीय हकवाला र पवित्र जनमतलाई केवल शासक तर्छाउने ढ्यांग्रो बनाउन सदा सक्रिय प्रतिपक्ष बाहेक मोैलिक नश्लका पक्ष-निरपेक्ष नेपालीहरूको आजको मानसिक अवस्था आत्तिएको वा प्रकारान्तरले आतंकित छ । र, यो आतंक अझ बढ्ने संकेत बोकेर नयाँ-नयाँ अभियान सत्तामूलीबाटै प्रारम्भ हुुने गर्दै आएका पनि छन् ।

पहिला-पहिला ‘समृद्ध नेपाल सुखी नेपाली’-ले नेपाली जनमनलाई लोभ्याउने र आफ्नो शासकीय रजगजको आयु तन्काउने उपाय हुँदै आएको क्रममा अहिले ‘झोले अभियान’ शुरु भई सर्वाधिक विवादमा छ । विश्व-कुख्यात तानाशाह एडल्फ हिटलरले सार्वजनिक अभिवादनमा बहुअर्थक ‘हेल हिटलर !’ प्रयोग गराउने गर्थे भन्ने इतिहासमा पाइन्छ । त्यस्तै केही वैयक्तिक उच्चता बुझाउने उद्देश्य त कतै यो ‘म झोले हुँ  !’ मा निहीत छैन ? – जस्ता प्रश्न पनि अहिले सचेत वर्गका नेपालीमा छिरोलिने क्रममा छ !

यद्यपि, ‘झोले’ शब्द यो २०८२ साल जेठ ३० गतेयता हिटलरको ‘हेल हिटलर’ जस्तो पक्ष-विपक्ष कुनै फाँटका लागि पनि दुर्बाेध पहेली रहेको छैन । मालिकबाट ‘म पनि झोले’ प्रस्फुटित हुनासाथ झोले अवतार फेरेकाहरू किंवा ‘काले-काले मिलेर खाउँ भाले’-मा मुख मिठ्याएर उछिन-पाछिन गर्ने सत्ताप्रमुखका ‘हनुमान चालीसे’-मा उल्था भएकाहरूका लागि त ‘प्रभुभक्ति’-को मानक नै बनेको हुनसक्छ । अन्यहरूका लागि पनि यो शब्द परेवा, भँगेरा, काग-रुप्पीहरूका लागि बिस्कुन सरह नै बनेको छ- ‘सत्ताशक्तिरूपी’ रुँगालोले जति धपाए पनि झ्याउँझ्याउँ !…

पुर्खाले एकतन्त्रीय जहानियाँ हुकुमी राणा चोट्टाहरूको शासन भोगेर राजातन्त्रको एकहाते कालखण्ड पनि गुजारे ! अहिलेको ‘लोकतन्त्र’-को दोसल्ला ओढेको अधिनायकीय वा तानाशाही ढबको शासनमा छोरा-नातिहरू जकडिएका हुनन् । यो पनि अर्काे अनुभवले आवेष्टित होला – आप्लावित होला नै । जनसंख्यामा भूइँ-नागरिकको अतुलनीय बहुप्रतिशत छ र तिनले बबुरो ‘लोकतन्त्र’-को पक्षमा जति नै कोलाहल मच्चाए पनि आखिर तीन जना अधिनायकीय हुकुमी नेताको चोचोमोचो मिलेपछि कसैको केही नलाग्ने रहेछ !

राजामार्गीहरूले, झाडीमा ठोट्ने र बनमारा हलक्क भएर सप्रे झैं, सपारेका आन्दोलन नामे तुजुके अनुष्ठानमा राजा चिन्दै नचिनेका र बुझ्दै नबुझेका निरीह मान्छेलाई दुःख दिँदा समेत ती अबोध नागरिक केको पीडाले गानिएका थिए होलान् ? राजातन्त्र ब्यूँताउने आवश्यकता बुझेर हो कि आफू ढाँटिदा-ढाँटिदा जीवन-व्यवहार चौपट पारिइएको आक्रोश थियो त्यो ? आखिर त्यहाँ पनि ‘नेताका स्वार्थ बाझ्ने’ महारोगले छोडेन ! अहिले ‘जनता नेपाली’ आफ्ना मनोवैज्ञानिक पीडा बिसाउने कुनै ठाउँ नपाएर, शायद, बिलखबन्द हुनन् । यसो हुँदा अधिनाकवादी शासक बन्न रमाउने मालिक र तिनका कारिन्दाले जेठ ३० यता विजयोत्सव मनाइरहेका हुँदा हुन् । पराजितले विजयीलाई करैले पनि श्रेष्ठ ठान्नै पर्छ नै भन्ने त विश्वमान्य सत्य हो नै !

अतः यो वर्तमानमा सिङ्गो रूपमै खतुकी ठहर भइरहेका गृहमन्त्रीको राजीनामा नै ‘बटम लाइन’ भनेर ठूल्ठूलो ‘क्रान्ति’-को घार्ले खोकी खोक्तै, ‘जनता’का घर-घरमा मासुभात खाँदै, मधेशदेखि पहाडसम्म लावालस्कर लिएर हिँडेका माओवादीका अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ले समेत सरकारका सामू घुँडा टेकेका छन् । त्यसोभए निरीह जनताले जीवन-व्यवहारमा बढ्दो ऐंठन सहनुपर्ने बाध्यताको ‘नियति’ सहनु त निर्विकल्प नै हुने भयो अब ! आफ्नो एउटा सहधर्मी-सहकर्मीलाई ज्यान-खुन मुद्दाबाट जोगाउने-चोख्याउने जस्तो उद्देश्यसँग ‘वाद’, ‘सिद्धान्त’ र ‘नैतिकता’-का व्यावहारिक परिभाषाको जिजीविषा नै तिलाञ्जलि दिने कामको यसपटक नाङ्गो प्रदर्शन भयो । र, यसले नेता कोही चोखा छैनन् भन्ने भाष्यलाई सचित्र प्रदर्शन गरेको छ ।

हुन त, सत्ताधारीको मियोमा पुगेकाहरूसँग टेढामेढा-अचाडू भइरहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भ्रष्टाचारको अभियोग लगाएर आफ्नो समर्थनमा दाउने स्तरको ठेगान लाउन उनैले लामो समय हाँकेको पार्टीका वर्तमान ‘एकाधिपति’-कै निर्देशन कामयावी नजिक पुगेको छ । यो कुरो बुझेपछि ‘क्यान्टोन्मेन्ट घोटाला’-को देशव्यापी चर्चित भ्रष्टाचारको भूतले ‘प्रचण्ड’-लाई पनि, हिजो के गरिबिराएँ र के बोलिहिँडें भन्ने, बलजफ्ती बिर्सेर ‘त्वम्-शरणम्’ हुन परेको होला ।

‘जनता’ कित्ताका मान्छेको स्मरण साह्रै छोटो र कमजोर हुन्छ भनिन्छ । ‘जनता’ प्रत्येक नयाँ भाषण तत्काल सुनेर ताली पड्काउन मात्र जान्दछन्, तिनमा अस्तिको भाषणमा के भनिएको थियो र आज के भनिँदैछ भनी तुलना गरेर भाषकको नियत वा आभ्यन्तरिक विश्वसनीयतामाथि शंका गर्ने क्षमता हुँदैन । यस्तो जन-अनभिज्ञतामाथि घोडा चढेर ‘जन-अपेक्षित सुधार र समृद्धि’-को टुनामुने भाषण गाएर ‘राजनीतिक जिमीदारी’ हाँक्न, शताब्दियौंदेखिका पछौटे, निर्धा र अशिक्षित बाहुल्य नेपालमा सजिलै भएको होला । भाँडाकुटी खेल्ने उमेरका बालबालिका स्तरको मिलन र बिछोड त अहिलेको ‘लोकतन्त्र’-का सारथिहरूले नै अभ्यासमा राखेका जो छँदैछन् ! अर्थात् , मानौँ, मौजूदा ‘लोकतान्त्रिक गणतन्त्र’ उनीहरूको बपौती-जिमीदारी हो । मानौँ, वर्तमान गणतन्त्रको उपस्थापना नै, विशेषतः तीन बूढालाई, सत्रौं शताब्दीका सम्राटीय हैकम र सुखभोगका लागि हो ।

वर्तमान गृहमन्त्री रमेश लेखकको वास्तविक दोष के हो र उनी नैतिकताको तकाजामा सो पदबाट बर्खास्त हुनपर्छ भनेर हल्ला किन गरिँदैछ ?-भन्ने विषयहरूका अन्तर्य के-कति कारण बाहिर छरष्ट भए ? इत्यादिको फेहरिस्त यो कलमीले, कुनै आग्रह-पूर्वाग्रहवश, यहाँ उठाएको हुँदै होइन । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गृह मन्त्रालयका खास-खास सरकारी मान्छे र अपराधी बिचौलियाहरूको मिलिभगते सिण्डिकेट जो चल्दै आएको छ । तिनैको तजबीजमा नेपाली र इण्डियनहरूको विदेश निर्यात व्यापार हुँदै आएका र भइरहेका घटनाहरूको पर्दाफासपछि को कसरी नाङ्गियो भन्ने मूर्त तस्वीर काला अक्षरको चश्माबाट चेवा गर्ने चेष्टा गरिएको मात्र हो । र, ‘लोकतान्त्रिक गणतन्त्र’-माथि कसरी थिचोमिचो हुँदै रहेछ भन्ने वैयक्तिक हुटहुटी साम्य गराउन खोजिएको मात्र हो ।

यद्यपि, यो हावाहुरी गुज्रिरहेकै समयमा पनि ती तीन टाउकामा अंकित अनुहारहरू लबस्तरा नै देखिँदा छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ राज्यव्यवस्थाको हकमा तिनलाई रत्तिभर लाज-शरम भएको देखिइरहेको छैन ! अतः यो पछिल्लो दश-एघार महिनायता यस्ता सिलसिलाविहीन कच्याककुचुक यसै पनि कति असरल्ल छन् कति ! भनेर सक्नु, न गनेर सक्नु !… त्यसैले आजलाई, बस, यत्ति नै !…