६१ किलो सुन तस्करी प्रकरणपछि फरार रहँदै आएपनि गत शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोद्वारा पक्राउ परेकी अमला रोका दुई लाख धरौटी बुझाएर शुक्रबार (९ असार) रिहा भएलगत्तै पुनः पक्राउ परेकी छन् ।
काठमाडौं जिल्ला अदालतले उनलाई ६१ किलो सुन तस्करी प्रकरणमा सोमबार २ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएकोमा धरौटी तिरेर रिहाई भए लगत्तै रोकालाई सीआईबीको टोलीले नियन्त्रणमा लिएको हो ।
रिहा भएलगत्तै पुनः पक्राउ गरिनुको कारण खुलाउँदै केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एवं एसपी युवराज खड्काले सम्पत्ति शुद्धीकरण विभागबाट पत्र आएकाले पक्राउ गरेर विभागको जिम्मा लगाइएको जानकारी दिए ।
ज्ञातव्य छ, अमला सुन तस्करी प्रकरणमा पक्राउ परी हाल थुनामा रहेका बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन् । राजस्व अनुसन्धान विभागले २०८० साल साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास गरी बाहिरिएको झण्डै ६१ किलो सुन सिनामंगलबाट बरामद गरेको थियो । त्यसको अनुसन्धानपछि प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलले अमलासहित २९ जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो ।
त्यसयता फरार रहेकी रोकालाई काठमाडौंको टोखाबाट यही असार ६ गते पक्राउ गरिएको थियो । अदालतमा पेस भएकी उनीविरुद्धको मुद्दामा आइत र सोमबार थुनछेक बहस भएको थियो ।
यो पनि हेर्नुहोस्-
प्रतिक्रिया