इरान-इजरायल युद्धको छायाँमा नेपाली भविष्य

इरान-इजरायल युद्धको छायाँमा नेपाली भविष्य


मध्यपूर्व फेरि एकपटक अस्थिरताको चुलीमा पुगेको छ । इजरायल र इरानबीचको बढ्दो युद्धले केवल दुवै राष्ट्रमा मात्र होइन, क्षेत्रीय र विश्वव्यापी प्रभाव विस्तार गरिरहेको छ । तर, यो युद्धको छायाँमा छन् लाखौं निर्दोष नागरिकहरू- र, तिनैमध्ये एक समूह हुन् नेपाली आप्रवासी श्रमिकहरू।

पछिल्ला केही महिनादेखि इजरायलले हमास, हिजबुल्लाह, हुथी र सिरियास्थित इरानी सैन्य संरचनामाथि बारम्बार आक्रमण गर्दै आएको छ । अप्रिलको सुरुमै दमास्कसस्थित इरानी कन्सुलेटमाथि भएको आक्रमणपछि इरानले खुला रूपमा इजरायलमाथि मिसाइल र ड्रोन प्रहार गर्न थालेको छ। यसले युद्ध अब सीमित नभई खुला मोर्चामा परिणत भएको स्पष्ट संकेत दिएको छ।

विश्वव्यापी असर र नेपाल

यो द्वन्द्वको प्रत्यक्ष र परोक्ष असर विश्वका धेरै मुलुकमा परिरहेको छ। नेपाल त्यसमध्ये एक हो, जहाँ यो युद्धले वैदेशिक रोजगार, नागरिक सुरक्षा, आर्थिक महँगी र कूटनीतिक तयारीजस्ता विषयमा गम्भीर प्रभाव पारिरहेको छ।

१. ज्यान गुमाएका र हराइरहेका नेपालीहरू

२०२३ अक्टोबरमा हमासले इजरायलमाथि हमला गर्दा १० जना नेपाली विद्यार्थीको ज्यान गयो । विपिन जोशी नामका एक नेपाली हालसम्म बेपत्ता छन् । हमासद्वारा बन्धक बनाइएका अन्य विदेशीहरू फिर्ता हुँदा पनि नेपालले आफ्ना नागरिक फर्काउन सकेन ।

२. सुस्त सरकारी प्रतिक्रिया

युद्ध सुरु हुनुअगाडि भारत, अस्ट्रेलिया, फ्रान्सजस्ता देशहरूले आफ्ना नागरिक फिर्ता गरिसकेका थिए । तर, नेपाल सरकारले भने ढिलो गरी ‘अनलाइन फर्म’ भर्ने सूचना जारी गर्‍यो । इजरायलमा कति नेपाली छन् भन्नेमा समेत सरकारले यकिन तथ्याङ्क सार्वजनिक गर्न सकेको छैन।

३. आर्थिक प्रभाव : तेल आपूर्ति र महँगी

यमनका हुथी विद्रोहीहरूले रेड सीमा आक्रमण गर्दै गर्दा तेल ढुवानीमा अवरोध सिर्जना भएको छ। नेपालको मुख्य आपूर्तिकर्ता भारत – आफैं ८५ प्रतिशत तेल विदेशबाट आयात गर्छ । भारतमा तेल महँगो भए, त्यसको असर नेपालमा सिधै पर्ने निश्चित छ । ढुवानी खर्च ३०-४० प्रतिशतसम्म बढ्ने आँकलन छ।

४. वैदेशिक रोजगार सङकटमा

कतार, युएई, साउदी अरब, ओमान, बहराइन र कुवेतमा करिब ३० लाख नेपाली कामदार छन् । यी सबै देशमा अमेरिकी सैनिक क्याम्प छन् । इरानले यदि ती क्याम्पमा आक्रमण गर्‍यो भने युद्धको मोर्चा अझै फैलन सक्छ । यस्तो अवस्थामा नेपालीहरू पुनः संकटमा पर्न सक्छन्।

विदेशिने बाध्यता र जोखिम

युद्ध चर्किँदा पनि नेपाली युवाहरू ‘केयरगिभर’का रूपमा इजरायल जान आतुर देखिन्छन् । इजरायलस्थित विमानस्थल बन्द हुँदा पनि नेपाली ३५ जना युवाहरूलाई जान नदिएर फर्काइएको छ। यसले देखाउँछ- देशभित्रको बेरोजगारी, अवसरको अभाव र भविष्यप्रतिको अनिश्चितताले युवालाई जस्तोसुकै जोखिम मोलेर पनि विदेश जान बाध्य बनाइरहेको छ।

इतिहासको छायाँमा वर्तमान युद्ध

इरान र इजरायलको सम्बन्ध सन् १९७९ को इस्लामिक क्रान्तिसम्म सामान्य थियो । तर, क्रान्तिपछि इरानमा सत्तामा आएको धार्मिक शासनले इजरायललाई ‘नक्साबाट मेटिनु पर्ने’ राष्ट्रको रूपमा चित्रण गर्न थाल्यो । उता इजरायलले इरानलाई आफ्नो अस्तित्वकै लागि खतरा मान्दै आएको छ। इरानले हमास, हुथी, हिजबुल्लाह जस्ता सशस्त्र समूहलाई समर्थन गर्दै आएकै कारण इजरायलसँगको दुश्मनी अझ चर्किएको हो ।

अप्रिल १ मा दमास्कसस्थित इरानी कन्सुलेटमाथि आक्रमण भई इरानी कुर्दस् फोर्सका शीर्ष कमान्डर मारिएपछि इरानले सोझै इजरायलमाथि प्रतिआक्रमण गर्‍यो। त्यसपछि दुबै देश पूर्ण युद्धको अवस्थामा छन्।

निष्कर्ष : युद्ध टाढा छैन- छायाँमा हामी पनि छौं

नेपाल युद्धको मैदान होइन, तर युद्धको छायाँमुनि अवश्य परेको देश हो । वैदेशिक रोजगार, आप्रवासी सुरक्षाको सवाल, आर्थिक स्थायित्व र अन्तर्राष्ट्रिय सम्बन्धमा यस युद्धको प्रभाव गहिरो हुँदै जानेछ।

अब पनि नेपालले आफ्ना नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर दूतावासहरूलाई सक्रिय तुल्याएन भने, परराष्ट्र कूटनीतिमा चाँडो हस्तक्षेप गरेन भने, अनि भोलि जब स्थिति थप जटिल हुन्छ, तब ‘संकटको बेला बोलाउने’ आवाजले अर्थ गुमाउनेछ।