सही समय कहिले आउँछ ?

सही समय कहिले आउँछ ?


हामी सबैसँग दिन र रात गरेर २४ घण्टाको समय छ । त्यही समयमा कसैले कति धेरै काम गरिरहेका हुन्छन् त कसैले गरेका हुँदैनन्, किन ? प्रकृतिले हामीलाई कुनै पनि प्रकारको विभेद नगरी जे दिएको छ- बराबरी दिएको छ । घाम होस् या शितल, पानी होस् या हावा, प्रत्येक प्राणीले चाहेजति उपभोग गर्न पाउँछ । प्रकृतिले दिन, रात, साँझ र बिहान गरी समय विभाजित गरेको छ, घण्टामा भाग लगाएको त मान्छेले हो । समयलाई संस्कृतमा ‘काल’ भनिन्छ । कालको अर्थ अँध्यारो र मृत्यु पनि हो । कसैको मृत्युपछि हामी कालले लग्यो या कालगतिले मऱ्यो पनि भन्ने गर्छौं । कालगतिको अर्थ समयको गति हो ।

काल तीन प्रकारका हुन्छन् भनेर त हामीले सानोछँदै पढेका हौँ- भूतकाल, वर्तमान काल र भविष्य काल । समयलाई विभाजित गर्ने क्रममा विगत, वर्तमान र भविष्य भनिएको हो । समयका बारेमा बुझ्न ब्रम्हाण्डलाई बुझ्ने कोशिस गर्नुपर्ने हुन्छ, जुन कुरा एउटै जुनीमा गर्न कठिन छ । कोशिससम्म गर्ने हो । केलाई कति समय भन्ने, कहिलेदेखि गणना गर्ने ? युग, शताब्दी, वर्ष, महिना, हप्ता, दिन, रात, साँझ, बिहान, घण्टा, मिनेट, सकेण्ड कसरी हेर्ने ? यो संसार जति बुझ्यो त्यति रहस्यमयी लाग्छ ।

पूर्वीय दर्शनले समयलाई चार युगमा विभाजित गरेको छ- सत्य, त्रेता, द्वापर र कलि युग । सत्य युग १७ लाख २८ हजार वर्षको थियो भन्ने मान्यता छ । त्रेता युग १२ लाख ९६ हजार, द्वापर युग ८ लाख ६४ हजार र कलि युग ४ लाख ३२ हजार वर्षको । श्रीमद् भागवत गीता समयको कुरा उल्लेख भएको अहिलेसम्मकै उत्कृष्ट दस्ताबेज मानिन्छ, जसमा समयलाई विभिन्न पक्षबाट विश्लेषण गरिएको छ । ‘संभवामी युगे युगे…’ भनेर कृष्णले हरेक युगमा म हुन्छु भनेका छन् । कृष्णको ‘म’ हामीले भन्ने र ठान्ने गरेको ‘मपाइँ’वाला म नभइ समय हो भन्ने बुझाइ छ ।

मानवजीवनमा समयको महत्व धेरै छ, किनभने हामी यो संसारमा सीमित समयका लागि आएका छौँ । यो पृथ्वीमा जन्म लिएका हरेक प्राणीको मृत्यु निश्चित छ, तर कहिले हुन्छ भन्नेचाहिँ अनिश्चित छ । अनिश्चित समय लिएर आएका हुनाले हामीले बिताउने हरेक पल, हरेक क्षण महत्वपूर्ण छन् । हरेक बिहान हामी सबैका लागि बराबरी समय र राम्रो बोल्ने, गर्ने अवसर लिएर आएको हुन्छ । अरुले के गर्छ, के भन्छ हाम्रो हातमा छैन तर मैले के बोल्छु, के गर्छु- मेरो हातमा छ । आफूले गर्ने ब्यवहार र प्रयोग गर्ने शब्दहरू हाम्रै मातहतमा छन् । हाम्रो लागि सबैभन्दा महत्वपूर्ण समय बिहानको समय हो । बिहानको केही घण्टा अफ्नो लागि छुट्टयाउँ । शारीरिक अभ्यास, ध्यान, चिन्तन मनन, दिनभरी गर्ने कामका लागि माइण्ड म्यानेजमेन्ट ! विगतमा हामीले जे–जस्ता कामहरू गरेका थियौँ, वर्तमानमा त्यसको परिणाम उपभोग गरिरहेका छौँ या भोगीरहेका छौँ । आज गर्ने कामले भविष्यका लागि आधार बनाउने हुनाले भविष्यमा हामी के बन्न चाहन्छौँ, के-कस्तो जीवन बाँच्न चाहन्छौँ त्यो काम आज गर्ने हो । हामीलाई अरुले आफूलाई राम्रो ब्यवहार गरेको मनपर्ने हुनाले त्यसको सुरुवात आफैबाट गर्दा जीवन सहज हुन्छ ।

मैले गर्न खोजेको कुरा के हो, स्पष्टता आवश्यक हुने रहेछ । आफूलाई कुनै कुरा थाहा छैन तर अरुले भनेको भरमा अगाडि बढ्दा धेरै मानिसले दुःख पाएका छन् । अरुको विश्वास आर्जन गर्नुअघि हामी आफैले आफ्नो विश्वास जित्न जरुरी हुने रहेछ । अरुलाई झुट बोले पनि, छलेपनि मानिसले आफूलाई भने झुट बोल्न सक्दैन, छल्न सक्दैन । आफ्नो विश्वास जित्नका लागि हाम्रा आनीबानीहरू, लेख्ने/बोल्ने शब्दहरू, गर्ने सङ्गतलगायतले फरक पार्ने रहेछ । समयलाई राम्रो या खराब बनाउनका लागि सङ्गतले ठुलो भूमिका निर्वाह गर्छ । तास खेलेर बिताउने कि पुस्तक पढेर, मोबाइल हेरेर कि आफ्नो पेशागत काम गरेर ? मोबाइल नै हेर्दा पनि के हेरेर समय गइरहेको छ भन्ने कुराले फरक पार्दछ । अहिले स्क्रिनले धेरैको समय लिइरहेको छ । मोबाइलमा धेरै कुरा छ, हामी के हेरिरहेका छौँ ? त्यसले फरक पार्छ । हामी सधैं ब्यस्त नै हुनुपर्छ भन्ने छैन तर के गरेर समय बिताइरहेका छौँ ? योचाहिँ महत्वपूर्ण हुन्छ ।

सङ्गतका सवालमा साथीभाइ, आफन्त धेरै हुनुपर्छ भन्ने छैन, जतिसँग भइन्छ उनीहरूले सकारात्मक उर्जा दिउन् । भेट भएदेखि नै कसैले नकारात्मक कुरा गरेर, तिमीले गरेको यो भएन त्यो भएन, तिमीले त्योचाहिँ गर्नै नहुने… भन्न थाल्यो भने आत्मविश्वास नै खस्किए झैँ हुन्छ । त्यस्ता मान्छेहरू हाम्रा वरिपरि धेरै हुन्छन् । त्यस्तै, कतिपय साथी हुन्छन्, जसलाई भेट्दा वरिपरिको माहोल नै सहज बनिदिन्छ । आफू जे हो त्योभन्दा बढी केही हुँ कि जस्तो महसूस हुन्छ । आफ्ना कमजोरीहरू देखाइदिने मान्छे पनि जीवनमा चाहिन्छ, तर त्यही कमजोरीका निहुँमा तल खसाल्ने मान्छेहरू आवश्यक छैन । यदि कसैले तपाईंको शारीरिक बनावटलाई लिएर कमेन्ट गर्छ भने त्यस्ता मान्छेसँग टाढै बसेको बेस । आफैलाई भन्नुपर्छ भन्ने छैन, अरुको बारेमा कुरा गर्दा कसैले त्यो यस्तो उस्तो भनेर शारीरिक बनावट, लुवाइखुवाइ, जातजाति जस्ता विषयमा केन्द्रित गर्छ भने त्यस्तो माहोलबाट अलग हुनु राम्रो हुन्छ ।

कस्तो मान्छेसँग धेरै समय बित्छ या बितिरहेको छ भन्ने कुरा पनि सोच्नुपर्ने रहेछ । अरुको ब्यक्तिगत टीका-टिप्पणी गरेरै समय बिताउने मान्छेहरूबाट सकारात्मक कुराको अपेक्षा गर्न मिल्दैन/सकिँदैन । सहज जीवन बाँच्नका लागि आफूवरिपरि सकरात्मक दृष्टिकोण भएका मानिसहरू हुन आवश्यक छ । भौतिकरूपमा नभएपनि ‘केही पऱ्यो भने उ छ नि, या उनीहरू छन् नि’ भन्ने महसूस चाहिँ भइरहनु पर्छ । साथ-सहयोग दुइतर्फी हुन्छ भन्ने पनि बिर्सनु हुँदैन ।

जीवनमा समयको ब्यवस्थापन निकै महत्वपूर्ण कुरा हो । कतिबेला के गर्ने ? केलाई प्राथमिकता दिने ? मैले गरेको कामले सार्वजनिक या आफ्नै जीवनमा के-के असर र प्रभाव पार्न सक्छ ? समय ब्यवस्थापनभित्र खाने, लाउने, ब्यवसायिक काम, घरको काम, भेटघाट, सञ्चार-सम्बन्धलगायतका सबै कुरा पर्छन् । हामी कति समय फोनमा कुरा गरेर बिताउछौँ भन्दा बढी फोनमा कोसँग के कुरा गऱ्यौँ भन्ने कुराले अर्थ राख्छ । कति लेख्यौँ भन्दा पनि के लेख्यौँ ? कति समय बोल्यौँ भन्दा पनि के बोल्यौँ ? कति लामो बाटो हिँड्यौँ भन्दा पनि कहाँ पुग्ने बाटो हिँड्यौँ भन्ने कुराले अर्थ राख्छ । कतिपय मानिस मञ्च पाएपछि घण्टौँ बोल्छन्, तर तिनले के बोले – सुन्नेहरूले त्यत्ति हेक्का राख्दैनन्, कतिपय मानिसहरू छोटो बोल्छन् तर शब्द र भाव दुवै सम्झिरहने हुन्छन् । समयको ब्यवस्थापन जिन्दगीका फरक पाटा, मोड, सन्दर्भ र आयामहरूमा फरक-फरक तरिकाले गर्नुपर्ने पनि हुनसक्छ । सबैतिर एउटै कुरा लागु हुन्छ भन्ने हुँदैन । जो जे भएपनि जिन्दगीको उत्तरार्द्धमा प्रायः मानिसले विगतमा आफूले निकटवर्तीहरूसँग बिताएका राम्रा स्मृतिहरूको नै सम्झना गर्ने गरेको देखिएको, भेटिएको छ ।

करियरको सुरुवाती चरणमा अरुसँग प्रतिस्पर्धा गरेपनि समयक्रममा आफैसँग बढी प्रतिस्पर्धा गर्नुपर्ने रहेछ । यो काम राम्रो भयो, अर्को कसरी थप राम्रो गर्ने भनेर आफूले आफैलाई थप परिस्कृत गर्दै लानुपर्ने हुन्छ । आफैसँग प्रतिस्पर्धा गर्नका लागि पनि समयको ब्यवस्थापन आवश्यक हुन्छ । जिन्दगीका पहलु अनेक छन्, के कुरामा प्रतिस्पर्धा गर्ने ? आफूसँगको प्रतिस्पर्धा ब्यक्तिगत जीवनमा भन्दा ब्यवसायिक जीवनमै बढी हुन्छ । मानिसले जब आफैसँग प्रतिस्पर्धा गर्छ उसले अरुलाई आफ्नो प्रतिस्पर्धी ठान्दैन र असुरक्षित महसूस गर्दैन । आफूले चाहेको कुरा (पद, ओहदा, स्थान) अरुले लिइदेला कि, आफूले नपाउँला कि भनेर मानिसले असुरक्षित महसूस गर्ने हो । जब आफूले आफैलाई राम्रो गर्न थाल्छ, स्वतः अरुलाई राम्रो गर्न थाल्छ । आफैमा सशक्त मान्छेले अरुलाई हानी हुने काम गर्दैन । अरुको बारेमा नराम्रो सोचेर या गरेर आफ्नो समय खेर फाल्नु मानसिक दुःखसँगै समयको दुरुपयोग हो । अरुलाई राम्रो गर्नेहरूको संसार प्रायः खुशीले भरिएको देखिन्छ । यसको अर्थ कुनै पनि कुरामा क्रिटिकल हुन नमिल्ने भन्ने होइन, ‘क्रिटिकल’ हुनु र ‘नेगेटिभ’ हुनु फरक कुरा हो ।

अब त राम्रो समय आउला, सही समय आउला भनेर बस्दाबस्दै जिन्दगी बितेर गयो तर समय आएन भनेको हामीमध्ये धेरैले सुनेका छौँ । खासमा सही समय आउने होइन आफैले बनाउने रहेछ । यदि अरुलाई हानी गर्ने खालको छैन भने कतिपय कुरा देखेर पनि नदेखेजस्तो गरिदिँदा, सुनेको नसुने झैँ गरिदिँदा, जानेर पनि अन्जान जस्तो भइदिँदा जीवन सहज हुन्छ । कहिलेकाहीँ अरुलाई मात्र होइन आफैलाई पनि माफ गरिदिँदा धेरै कुराबाट मुक्ति मिले झैँ हुन्छ । विगतमा भएका गल्तीहरू जसको जिम्मेवार अरुभन्दा प्रायः मानिस आफै हुने गर्छ, तिनलाई लिएर पश्चाताप गर्नुभन्दा आफूलाई माफ गर्दा फरक महसूस हुन्छ ।

आफूले आफैलाई बनाउने, राम्रा दिनको परिकल्पनामात्र नभइ वास्तविकतामै उपभोग गर्ने र राम्रो काम गर्ने सही समय ‘आज’ र ‘अहिले’ नै हो । अरुलाई हानी नपुग्ने र आफ्नो कारणले आफू र अरुलाई राम्रो हुने प्रायः सबै काम राम्रा काम हुन् । आफूले आफैलाई हानी पुऱ्याउनेहरूको सङ्ख्या पनि यहाँ ठुलो छ । त्यसैले आफैलाई परिवर्तन गर्न या राम्रो काम गर्न सही समय आजै, आज पनि विभिन्न भागमा विभाजित हुने भएकाले अहिले नै हो । अहिले हामी जे गर्छौं त्यो नै हामीले भविष्यमा भोग्ने समय हो ।