भीडको भीरमा न्याय धकेलिँदैछ, सहकारीपीडित फेरि बलि चढ्दैछन् !

भीडको भीरमा न्याय धकेलिँदैछ, सहकारीपीडित फेरि बलि चढ्दैछन् !


नेपालमा यतिबेला न्यायको नाममा भयानक नाटक मञ्चन भइरहेको छ । सहकारी ठगीका नाममा करोडौं नेपालीले गुमाएको पसिना अझै फर्किएको छैन । तर, पीडितको पक्षमा उभिनुपर्नेहरूले उल्टै अदालतमाथि नै हमला गर्न थालेका छन् । यो केवल एउटा कानुनी प्रकरण होइन, यो लोकतान्त्रिक मूल्य, न्याय प्रणाली र जनताको पीडामाथिको दोहोरो अपमान हो।

रास्वपाका सभापति रवि लामिछाने अहिले सहकारी ठगी प्रकरणमा पूर्वपक्षका लागि कारागारमा छन् । अदालतले उनलाई अनुसन्धानका लागि थुनामा राख्ने आदेश दिएको छ । तर उनी र उनको दलले यसलाई राजनीतिक प्रतिशोधका रूपमा प्रस्तुत गर्दै छन् । के अदालतको आदेश कानुनी प्रक्रियाको हिस्सा होइन ? के सत्ता वा संसदमा पुगेपछि कोही कानुनभन्दा माथि हुन्छ ?

अदालतको आदेशपछि रवि लामिछाने र उनका समर्थकहरूद्वारा जुन प्रचारयुद्ध चलाइएको छ त्यो सामान्य राजनीतिक बचाउ होइन, त्यो त न्यायिक प्रणालीमाथिको योजनाबद्ध हमला हो । पचास लाख फर्जी हस्ताक्षर संकलन गरेर अदालतलाई दबाबमा पार्ने, सामाजिक सञ्जालमा सहानुभूतिका आँधी सिर्जना गर्ने, सञ्चारमाध्यम प्रयोग गरेर आफूलाई पीडित देखाउने यी सबै चालहरूले अदालतको स्वतन्त्रतालाई आहत पारिरहेका छन् ।

तर पीडितहरूको अवस्था झनै दर्दनाक छ । ती नागरिकहरू जसले जीवनभरको कमाइ सहकारीमा राखे, भविष्य सुरक्षित गर्न विश्वास गरे, आज न अस्पताल जान सक्छन् न बच्चाको पढाइखर्च तिर्न। कतिपय घर–परिवार भाँचिएका छन्, कोही डिप्रेसनमा परेका छन्, कोही आत्महत्यासम्म पुगेका छन् । उनीहरू न्यायको आशमा आँखामा आँसु बोकेर अदालतको निर्णय कुर्दै छन् । तर त्यही अदालतलाई नै भ्रममा पार्ने, बदनाम गर्ने र जनमतको आडमा नियन्त्रण गर्ने प्रयास भइरहेको छ।

हुन त अदालतले रवि लामिछानेलाई दोषी ठहर गरेको छैन । यो पूर्वपक्षको प्रक्रिया हो। कानुनी राज्यमा यस्तो प्रक्रिया अनुसन्धानको निष्पक्षता सुनिश्चित गर्न आवश्यक हुन्छ । तर यहाँ अनुसन्धानलाई नै बदनाम पार्ने प्रयास भइरहेको छ । यो प्रवृत्ति केवल रवि लामिछानेको मुद्दासम्म सीमित छैन । यसले भोलिका सबै मुद्दाहरूको विश्वसनीयता नष्ट पार्न सक्छ। अदालतप्रति जनविश्वास कमजोर हुँदा लोकतन्त्रको मेरुदण्ड भाँचिन्छ।

अझ चिन्ताजनक कुरा सत्ता मौन छ। सरकारको जिम्मेवारी हो पीडितको पक्षमा उभिनु, दोषीको पहिचान गर्न सहयोग गर्नु । तर अहिले सरकार तमासाबिनाको दर्शक बनेको छ । सत्तापक्ष, विपक्ष, कानुन निर्माणकर्ता सबैले यथास्थितिलाई मौन समर्थन गरिरहेका छन् । न्यायमन्त्री बोल्दैनन्, संसद चुप छ, प्रहरी प्रशासन राजनीतिमा गुम्सिएको छ।

कसरी सम्भव भयो यस्तो ? जब कुनै अभियुक्त सत्तामा पुगेपछि न्यायप्रक्रिया नै आफ्ना अनुकूल मोड्न सक्ने शक्तिमा पुग्छ, तब राज्य संकटमा पर्छ । न्यायिक स्वतन्त्रता केवल कानुनको अक्षरमा होइन, आचरणमा पनि देखिनुपर्छ । तर अहिले त्यो आचरण हराउँदै गएको छ।

रवि लामिछानेमाथिको अभियोग सामान्य होइन । यो हजारौं नागरिकका जीवनसँग प्रत्यक्ष जोडिएको आर्थिक अपराध हो । यस्ता मुद्दामा निष्पक्ष अनुसन्धान हुनु न्यायको आधार हो । तर अदालतलाई नै अविश्वसनीय देखाएर, भावनात्मक उन्माद सिर्जना गरेर, सहानुभूति मागेर आफूलाई निर्दोष प्रमाणित गर्ने प्रयास लोकतन्त्रको गम्भीर दुरुपयोग हो ।

यदि हामी यो प्रवृत्तिलाई आजै चुनौती दिन सक्दैनौं भने भोलि कुनै पनि व्यक्ति भीड जम्मा गरेर अदालतको फैसला उल्ट्याउने दुस्साहस गर्न सक्छ । यसले राज्यमा नियम होइन, रगतमात्र बाँकी राख्छ।

सोध्नैपर्छ- अदालतले अब दस्तखतको संख्या हेरेर फैसला गर्ने ? भोलिका दिनहरूमा दोषी वा निर्दोष निर्धारण गर्ने मापदण्ड ट्विटर ट्रेन्ड र युट्युब भिडिओ हुने हो ? यदि हामीले समयमै आवाज उठाएनौं भने न्याय प्रणालीको साख गुम्छ । अनि जब न्याय मर्छ, तब लोकतन्त्र केवल चुनावको रमाइलो बनिरहन्छ। त्यही रमाइलोभित्र लुकेको हुन्छ अर्को दुर्घटनाको बीउ।

आज प्रश्न केवल रवि लामिछानेको दोष निर्दोषको होइन । प्रश्न हो- हामी न्यायको पक्षमा उभिन्छौं कि नायकत्वको आडमा अन्यायलाई अनुमोदन गर्छौं ? के सहकारी पीडितहरूलाई हाम्रै मौनताले फेरि लुट्ने हो ?

सत्यको पक्षमा उभिन सक्ने नागरिक चेत अब आवश्यक छ। सत्ताले मौन रहन सक्छ, विपक्षले मौकापरस्ती गर्न सक्छ, तर अब नागरिकले मौन रहनु हुँदैन। लोकतन्त्रको मेरुदण्ड अदालत हो र त्यसको रक्षाका लागि अब सडकको चेतना जागृत हुनुपर्छ। न्यायको लडाइँ फेरि सडकबाट सुरु गर्नुपर्ने अवस्था आइपुग्न दिनुहुन्न।

सहकारीपीडितहरू न्यायको याचना गरिरहेका छन् । अदालतसँग उनीहरूको आशा बाँकी छ । तर अदालतलाई नै धम्क्याएर, हस्ताक्षरको भीड देखाएर, न्यायलाई मार्गभ्रष्ट पार्ने प्रयास त्यो अपराध हो । त्यो अपराधविरुद्ध आजै उठ्नुपर्छ।

जय मातृभूमि !