विद्या भण्डारीको पुनरागमनलाई कसरी बुझ्ने ?

विद्या भण्डारीको पुनरागमनलाई कसरी बुझ्ने ?


राष्ट्रपतिका रूपमा दुई कार्यकाल पूरा गरेर दुई वर्षभन्दा बढीको ‘कुलिङ्ग पिरियड’ बिताइसकेपछि विद्यादेवी भण्डारीले पुनः राजनीतिमा सक्रिय रहने घोषणा गर्नुहुँदा त्यसले नेपाली राजनीतिमा रोचक तरङ्ग पैदा गरेको छ । नेतृ भण्डारीको घोषणापश्चात् कतिपयले राष्ट्रपति भइसकेको ब्यक्ति दलमा फर्किएर पुनः राजनीतिक सक्रियता देखाउनु उचित नभएको प्रतिक्रिया दिएका छन् । उनीहरूको भनाइ छ- ‘राष्ट्रपति पदको गरिमा राख्न पनि उहाँ दलमा फर्कनु हुने थिएन ।’ त्यस्तै, कतिपयले चाहिँ पदाशक्तिको बसमा विद्या पर्नुभएको टिप्पणी गरेको सुनिन्छ भने कतिले विद्याको पुनरागमनलाई स्वागतयोग्य कदम भनेका छन् । वास्तवमा विद्यादेवी भण्डारीको पुनरागमनलाई कसरी ग्रहण गर्नु उपयुक्त हुनसक्छ भन्ने विषयमा स्पष्ट गर्ने प्रयास यस लेखमा गरिएको छ ।

विद्या भण्डारीले प्रधानमन्त्री बन्नका निम्ति राजनीतिमा सक्रिय हुने निर्णय लिनुभएको भन्ने स्थिति होइन । तर, आफ्नै जीवनकालमा राष्ट्रपति र प्रधानमन्त्री दुबै पदीय जिम्मेवारी पूरा गर्ने मौका विश्वका कतिपय नेतालाई मिलेको देखिन्छ । प्रधानमन्त्री भएर लामो समय जिम्मेवारी पूरा गरेका मानिस मन्त्रीको जिम्मेवारीमा बसेका दृष्टान्त पनि संसारमा छन् । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन त्यस्ता ब्यक्ति हुन् जसले राष्ट्रपतिको दुई कार्यकाल पूरा गरेपछि प्रधानमन्त्री पद ग्रहण गर्नुभएको थियो । अहिले उहाँले पुनः राष्ट्रपतिको जिम्मेवारी लिनुभएको छ । त्यस्तै घानाका क्वामे न्क्रुमाले पनि अलग–अलग समयमा राष्ट्रपति र प्रधानमन्त्री दुबै पद सम्हाल्नुभएको थियो । पाकिस्तानी नेता जुल्फिकर अली भुट्टोले पहिले राष्ट्रपतिका रूपमा काम गर्नुभएको र पछि प्रधानमन्त्रीको जिम्मेवारी लिनुभएको थियो । त्यसैगरी रसियाकै एनातोलिभिच मेद्भेदेभ पनि राष्ट्रपति भएर प्रधानमन्त्री बनेका नेतामध्ये पर्दछन् । सिङ्गापुरका बहुचर्चित नेता ली क्वान युले लामो समयसम्म प्रधानमन्त्रीका रूपमा सेवा गर्नुभएपछि मन्त्री बनेर क्याबिनेटमा बस्नुभएको थियो । विश्वका कतिपय नेताले सर्वोच्च पदीय जिम्मेवारी पूरा गरिसकेपछि तल्लो तहको जिम्मेवारीमा सरेका यस्ता अनेक दृष्टान्त भेटिन्छन् । त्यसैले माथिल्लो पदीय जिम्मेवारी प्राप्त गरेका ब्यक्तिले तल्लोतहको जिम्मेवारी ग्रहण गर्न हुन्छ या हुँदैन भन्ने प्रश्नलाई सापेक्षित रूपमा हेरिनु उपयुक्त हुने देखिन्छ ।

माथिल्लो तहको जिम्मेवारीमा रहेका ब्यक्तिले त्यसभन्दा मुनिको पद ग्रहण गर्न मिल्ने या नमिल्ने भन्ने विषय स्वेच्छिक हो, कानून या संविधानले वर्जित गरेको विषय यो होइन । आवश्यकताको सिद्धान्तले यसको औचित्य निर्धारण गर्दछ । नेपालको संविधान र कानूनले राजनीतिक दल या कुनै अन्य सस्थाको अध्यक्ष रहेका ब्यक्ति सोभन्दा मुनिको पदीय जिम्मेवारीमा रहन बन्देज गरेको छैन । राष्ट्रपतिको जिम्मेवारी लिएका ब्यक्तिले राजनीतिमा फर्कन नसक्ने/नपाउने या सरकार अथवा पार्टीको नेतृत्व लिन नमिल्ने भन्ने ब्यवस्था हाम्रो संविधानले गरेको छैन । त्यसर्थ विद्या भण्डारीको राजनीतिमा पुनरागमनलाई कानूनी र संवैधानिक दृष्टिले गलत या अनुचित भन्न मिलेन । उहाँ एमालेको तर्फबाट राष्ट्रपति पदमा प्रस्तावित हुनुभएको, तर राष्ट्रपतिको कार्यकाल सकिएपछि एमालेइतर पार्टीको सदस्यता लिएर राजनीतिमा सक्रिय हुन खोज्नुभएको भए नैतिक प्रश्न उठ्न सक्थ्यो ! एउटा पार्टीलाई भऱ्याङ बनाएर राष्ट्रपति बनेको र अब महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्न अर्कै पार्टीलाई भऱ्याङ बनाउन खोजेको टिप्पणी पनि कसैले गर्न सक्थे । तर विद्या भण्डारीले जुन विचार-समूहको जगमा उभिएर राष्ट्रपति बन्नुभएको थियो, सोही पार्टीमा पुनः सक्रिय रहने प्रतिबद्धता दर्शाउनुभएको हुँदा नैतिक प्रश्न पनि यो बनेन । बरु भत्ता र अन्य सुविधा त्यागेर राजनीतिक माध्यमबाट राष्ट्रसेवा गर्ने जुन अठोट उहाँले गर्नुभएको छ, त्यसलाई स्वागतयोग्य मान्नुपर्ने केही कारण छन् ।

विद्या भण्डारीले राष्ट्रको सर्वोच्च पदीय जिम्मेवारी हाशील गरिसक्नुभएकोले उहाँका आगामी भूमिका राष्ट्रकेन्द्रीत हुनसक्ने छन्, पदप्राप्तिको महत्वाकाङ्क्षाबाट उहाँका कदम अभिप्रेरित हुने छैनन् भनेर विश्वास गर्न सकिन्छ । किनभने उहाँलाई राष्ट्रपतिभन्दा माथिको पद मिल्ने छैन, पुनः राष्ट्रपति बन्न पनि संविधानतः मिल्ने देखिन्न र अबका दिनमा जुनसुकै जिम्मेवारी प्राप्त गरेपनि उहाँलाई भविष्यले चिन्ने भनेको पूर्व राष्ट्रपतिकै रूपमा हो, जुन ऐतिहासिक पहिचान बनाउन उहाँले थप दुःख या सङ्घर्षको यो जटिल चरणबाट गुज्रनुपर्ने थिएन । विद्या भण्डारीको कदम उहाँले आफ्नो महत्वाकाङ्क्षा पूरा गर्न या सुखका जिन्दगी बिताउनका निमित्त नभएर राष्ट्रिय समस्या समाधानमा योगदान पुऱ्याउने उद्देश्यबाट प्रेरित रहेको विश्वास गर्न सकिन्छ ।

पद अर्थात् सत्ताप्राप्तिलाई लक्ष बनाएर राजनीतिमा सक्रिय रहेकाहरू देशका निम्ति घातक हुन्छन्, तिनले आफ्नो लक्ष्यप्राप्तिका निम्ति जोसुकैसँग जुनसुकै स्तरका सम्झौता गर्न सक्छन् । २०५२ सालमा दुई ठिटाहरूले आफ्नो निजी महत्वाकाङ्क्षा पूरा गर्न प्रजातन्त्रविरूद्ध हिंसात्मक गतिविधि गरेको र विदेशी शक्तिको आड लागेर स्वदेशमा विध्वङ्श मच्चाएको घटना हाम्रा लागि एउटा अविष्मरणीय पाठ बनेको छ । अति महत्वाकाङ्क्षी मानिसहरू देशका निम्ति घातक हुँदारहेछन् भन्ने ज्ञान पनि हामीलाई दसवर्षे हिंसात्मक विध्वङ्शले दिएको छ । पदीय महत्वाकाङ्क्षाले नै नेपाली राजनीतिलाई सिद्धान्तहीन, फोहोर र अस्थीर तुल्याएको हो । कम्तिमा विद्या भण्डारीका आगामी क्रियाकलाप पदीय महत्वाकाङ्क्षाबाट प्रेरित नहुने भएकोले उहाँ राष्ट्रहितकेन्द्रीत राजनीतिमा समर्पित रहनुहुने विश्वास गर्न सकिन्छ । अर्कोतर्फ उहाँमा षडयन्त्र गर्ने रुचि र क्षमता ठ्याम्मै देखिँदैन, आफ्ना अभिव्यक्तिहरूको जिम्मेवारी लिन प्रतिबद्ध रहनुभएको हुँदा उहाँ बोली फेरिरहने झमेलाबाट पूर्णतः मूक्त हुनुहुन्छ ।

विद्या भण्डारीले राष्ट्रपतिको कार्यभार सम्हाल्नुअघि पटक-पटक मन्त्रीका रूपमा विभिन्न मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुभएको थियो । मन्त्री भएर पनि आफूलाई स्वच्छ राख्न सफल सीमित नेताहरूमा विद्या भण्डारीको नाम अङ्कित छ । भ्रष्टाचार गरेर भएपनि आर्जनचाहिँ गर्नुपर्छ भन्ने सोचकी नेतृ भएको भए उहाँलाई त्यसको पर्याप्त अवसर थियो, अवसर पाएर पनि उहाँबाट अनियमित या भ्रष्टाचारको दुर्गन्ध आउने कुनै कार्य भएन । त्यसैले विद्या भण्डारीबाट आगामी दिनहरूमा पनि भ्रष्टाचार नहुने मात्र नभइ भ्रष्टाचार नियन्त्रणका निम्ति ठोस कदम चालिने आशा गर्न सकिन्छ ।

रक्षामन्त्रीको भूमिकामा रहनुहुँदा विद्या भण्डारीले नेपाली राष्ट्रिय सेनाको रक्षाका निम्ति जुन स्तरको अडान राख्नुभयो त्यो इतिहास स्मरणीय छ । यदि त्यो समयमा विद्या जस्तो नेतृले रक्षा मन्त्रालयको जिम्मेवारी नसम्हालेको भए राष्ट्रिय सेनामा पार्टीद्वारा दीक्षित दशौँ हजार छापामारको घुसपैठ गराउन अवान्छित तत्वहरू सफल हुन सक्थे । तत्कालीन सेनापति, केही सन्देहास्पद जनरल र माओवादीका नेताहरूबीच अनौपचारिक तवरमा एक स्तरको सहमति बनेर दश हजारभन्दा बढी छापामारलाई राष्ट्रिय सेनामा घुसाउने तयारी भइसकेको थियो । विद्याको अडानका कारण अवान्छित तत्वका योजना असफल हुन पुगेको थियो । त्यसैगरी, राष्ट्रपतिको जिम्मेवारीमा रहँदा पनि राष्ट्रहित र राष्ट्रिय स्वाभिमानसँग गाँसिएका मुद्दामा उहाँले कहिल्यै सम्झौता गर्नुभएन । नागरिकता विधेयकमा उहाँले लिनुभएको अडान कति सम्वेदनशील थियो र कति राष्ट्रकेन्द्रीत भावनाबाट प्रेरित थियो भन्ने महसूस नेपालीले भविष्यमा समेत गरिरहनुपर्ने छ । बाबु र आमाको पहिचान नखुलेका सन्तानलाई वंशजको नागरिकता उपलब्ध गराउने लगायतका प्रावधान राखी नागरिकता विधेयकमा लालमोहर लगाउने जुन कार्य भएको छ यो नेपालका निम्ति कति घातक छ भन्ने जानकारी पाउन अर्को एक दशक पर्खनुपर्ने छैन । विद्या भण्डारी राष्ट्रहितविरूद्धको नागरिकता विधेयकमा लालमोहर लगाउन कहिल्यै तयार हुनुभएन । त्यसैले उहाँले आगामी दिनहरूमा पनि राष्ट्रहितप्रति सचेत र प्रतिबद्ध भएर आफ्नो भूमिका निर्बाह गर्नुहुने विश्वास गरिएको छ । नेपाललाई यतिबेला आवश्यक परेको पनि षड्यन्त्र नगर्ने, देशभक्त, राष्ट्रवादी, राष्ट्रहितमा केन्द्रीत रहने, भ्रष्टाचार नगर्ने र गर्न नदिने इमान्दार नेतृत्व हो, विद्या भण्डारी देशले अपेक्षा गरेजस्तै परिपक्व नेतृ भएकोमा शङ्का गरिरहनु नपर्ला ।

नेकपा एमाले एउटा उग्रवामपन्थी विचारको गर्भबाट पैदा भएको राजनीतिक दललाई मदन भण्डारीले बहुदलीय प्रजातान्त्रिक पद्धतिमा रमाउने प्रगतिशील शक्तिमा रुपान्तरण गर्नुभएको हो । जनताको बहुदलीय जनवादको अवधारणा अघि सारेर एकदलीय ब्यवस्थाको पक्षमा उभिएका नेता-कार्यकर्तालाई बिना उल्झन सहजै प्रजातान्त्रिक पद्धतिमा अवतरण गराउन सक्नु मदनको विशिष्ट क्षमता र योगदान थियो । तर एमालेको विद्यमान नेतृत्वले माओवादीसँग एकीकरण गरेर एक समय झण्डै मार्ग परिवर्तन गरिसकेको थियो भने पछिल्लो समयमा एमालेभित्रै जबजको मार्गदर्शन सिद्धान्त उपेक्षित हुँदै गएको महसूस गर्न थालिएको बुझिन्छ । समानता र न्यायसहितको प्रजातान्त्रिक पद्धतिका पक्षमा उभ्याउन जबजको परिभाषा व्यापक तुल्याउँदै पार्टीको वैचारिक आधार मजबूत तुल्याउनुपर्नेमा पछिल्लो समय एमालेको नेतृत्वपङ्क्ति जबजको सिद्धान्तबाट च्युत हुँदै गएको महसूस धेरैले गरेका छन् । मदनलाई होच्याएर कसैले आफूलाई अग्लो देखाउने नियत नराखेकै भएपनि सत्ताकेन्द्रीत संस्कृतिको कोपभाजनमा अन्य दलका नेताजस्तै एमालेको नेतृत्वपङ्क्ति पनि परेको ठानिन्छ । विद्या भण्डारीको पुनरागमनले एमालेलाई सिद्धान्तनिष्ठ बनाउन सहयोग पुग्ने विश्वास एमालेकै समर्थकहरूले गरेका छन् ।

केपी शर्मा ओलीले एमालेको उचाई बढाउन जुन योगदान पुऱ्याउनुभयो, त्यसप्रति एमाले पार्टी सदा ऋणी रहन्छ भने त्यो स्वभाविक हो । पार्टीमा नयाँ नेतृत्वलाई मौका दिइ जीवन्त बनाइराख्न केपीकै प्रस्तावमा सत्तरीवर्षे उमेरहद र दुई कार्यकालको वैधानिक व्यबस्था गरिएकोले विधानतः केपी ओली पुनः अध्यक्ष बन्न पाउने सुविधामा हुनुहुन्न र सम्भवतः उहाँ आफैले निर्माण गरेको वैधानिक अवधारणाविपरीत जान पनि खोज्नुहुन्न । त्यसैले निकट हुँदै गरेको एमाले महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने ऐतिहासिक दायित्व पूरा गर्नुपर्ने हुन्छ । केपी झैँ सर्वस्वीकार्य नेताको हैसियतमा अर्को कुनै नेताको ब्यक्तित्व विकाश भइनसकेको, जसले केपीपछिको नेताको हैसियत बनेको ठानेका छन् ती कसैलाई पनि बाँकी अन्यले स्वीकार गर्ने स्थिति नरहेको हुँदा पार्टीमा गुटहरूबीचको अन्तरद्वन्द्व बढ्नसक्ने सङ्केतहरू देखापरेका छन् । यो स्थितिमा विद्या भण्डारी जस्तो नेताको पुनरागमनले केपीपछि पनि पार्टीलाई एकताबद्ध राख्न सहयोग पुग्ने विश्वास गर्न सकिन्छ । अन्य दलहरू भन्दा सङ्गठित, सुगठित, संस्थागत, एकताबद्ध र गतिशील मानिएको एमालेलाई विद्याले नेतृत्व दिन सक्नुभएमा पार्टीको आन्तरिक प्रजातन्त्र सबल हुने, गुटगत भावना निरुत्साहित हुने, त्रासको वातावरण अन्त्य हुने र नयाँ पुस्ताले अवसर प्राप्त गर्ने अपेक्षा राखेको पाइएको छ । त्यसैले विद्याको सक्रियता देश र पार्टी दुबैका निम्ति लाभप्रद हुन सक्नेछ ।

विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन आम नेपालीको चासोको विषयभित्र पर्दछ । वास्तवमा उहाँ राजनीतिमा सक्रिय हुन खोज्नुको कारण जान्ने इच्छा हरेक नेपालीमा भएजस्तै ममा पनि थियो । त्यसैले यसैबीचमा मैले उहाँलाई भेटेर राजनीतिमा फर्कनुको कारणबारे जिज्ञासा राखेको थिएँ, जवाफमा विद्याले भन्नुभयो- ‘किशोरावस्थामै म राजनीतितर्फ आकर्षित भएको हुँ र राजनीतिमा लाग्नुको एकमात्र उद्देश्य जनताले भोग्नुपरेको पीडा र देशले ब्यहोरिरहेको समस्याबाट मूक्तिका निम्ति थियो । मुलुकको समस्याले नछोएको भए सम्भवतः म राजनीतिमा लाग्ने थिइनँ । भविष्यमा राष्ट्रपति, मन्त्री या प्रधानमन्त्री बन्ने महत्वाकाङ्क्षा पालेर म राजनीतिक क्रियाकलापमा सामेल भएकी थिइनँ । देशले मलाई राष्ट्रपति जस्तो गरिमामय जिम्मेवारी सुम्पियो, यो एउटा संयोग थियो । राष्ट्रपतिको जिम्मेवारीमा रहँदा पनि मैले मुलुकको समस्या समाधानलाई नै हृदयमा राखेर आफ्नो दायित्व पूरा गरेको हुँ । राष्ट्रपति बन्नकै लागि राजनीतिमा नलागेको र देशको समस्या समाधनका प्रयासमा सामेल हुन मैले राजनीतिमा सहभागिता जनाएको थिएँ । तर देश अझै सकसपूर्ण अवस्थामा रहेको हुँदा मैले राष्ट्रपति बन्ने अवसर पाएँ भन्दैमा समस्यालाई टुलुटुलु हेरेर बस्ने स्थितिमा म रहिनँ । जीवन रहेसम्म राष्ट्रको समस्या समाधानको प्रयाससँग एकाकार भइरहने सङ्कल्पले मलाई सक्रिय राजनीतिमा समाहित गराएको हो । बाँकी जिन्दगी केवल मेरो देशको नाममा समर्पित छ, औंला उठ्ने स्थिति बन्न नदिने कसमसहित म सक्रिय राजनीतिमा फर्केकी हुँ, यसलाई यसरी नै बुझिदिनुहुन आग्रह गर्दछु ।’

विद्या भण्डारीको यस्तो जवाफलाई मैले प्रतिवाद गर्नुपर्ने आवश्यकता देखिनँ । सबै नेता उस्तै हुन् र सबै खराब छन् भन्ने सन्देश प्रवाह भइरहेको यो निरासाजनक समयमा कसैको सकारात्मक प्रयासको बदख्वाइँ गर्नु भनेको बर्बादीकै निरन्तरताका पक्षमा उभिनु हो । त्यसैले हरेक पार्टीभित्र इमान्दार र योग्य नेतृत्व स्थापित होउन्, जय मातृभूमि ।