सक्रिय राजनीतिमा विद्या भण्डारी : ब्यक्तिगत इच्छा कि राष्ट्रको आवश्यकता ?

सक्रिय राजनीतिमा विद्या भण्डारी : ब्यक्तिगत इच्छा कि राष्ट्रको आवश्यकता ?


अमेरिकाका छैठौं राष्ट्रपति जोन क्वीन्सी आडम कुटनीतिज्ञ, सिनेटर, मन्त्री हुँदै सन् १८२५ मा राष्ट्रपतिमा निर्वाचित भए । उनी राष्ट्रपति हुँदा अमेरिकामा दासतामुक्तिको आन्दोलन चलिरहेको थियो, जोन क्वीन्सी उक्त आन्दोलनको पक्षधर थिए । मानवअधिकार र स्वतन्त्रताको लागि आफूले अझै गर्न बाँकी रहेको ठानी उनले दोश्रो कार्यकालका लागि उम्मेद्वारी दिए, तर पराजित भए । सन् १८३० मा उनलाई आफ्नो क्षेत्र मासाच्युसेस्टका जनताले संसदीय निर्वाचनमा उठ्न र कंग्रेस (अमेरिकी संसद्)मा प्रतिनिधित्व गर्न अनुरोध गरे । उनी निर्वाचित भएर राष्ट्रपतिको कार्यकाल सकिएपछि १७ वर्ष निरन्तर अमेरिकी राजनीतिमा रहे । उनको पछिल्लो चरणको राजनीति दासताविरुद्ध र मानवअधिकार तथा स्वतन्त्रता बहालीमा केन्द्रित रह्यो । वास्तवमा मुलुकको राष्ट्रपति या प्रधानमन्त्री हुनु र जनताको पक्षमा निरन्तर काम गर्नु, गरिरहनु फरक कुरा हो । उनले जनप्रतिनिधिका रूपमा जनताको सेवालाई जिन्दगीभर निरन्तरता दिए ।

अमेरिकाका १७औँ राष्ट्रपति एन्ड्रु जोन्सोन पनि आफ्नो कार्यकालपछि फेरि अमेरिकी सिनेटको सिनेटर बनेका थिए । तथापि, पछिल्लो पटक संसदमा उनको उपस्थिति लामो समय रहन नपाउँदै मृत्यु भयो । अमेरिकाका २७औँ राष्ट्रपति वीलिम होवर्ड टाफ्ट राष्ट्रपतिको कार्यकाल सकिएपछि सन् १९२१ देखि १९३० सम्म अमेरिकी सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनेका थिए । यसैगरी फ्रान्सका राष्ट्रपति चार्ल्स दी गाउली पनि सन् १९५९ देखि १९६९ सम्म दुई कार्यकाल राष्ट्रपति भएर फेरि राजनीतिमा फर्किएका थिए । मुलुकको सर्वोच्च ओहदामा पुगेका ब्यक्ति फेरि राजनीतिमा फर्किएर पदमै बसेका पछिल्लो उदाहरणका रूपमा रुसका राष्ट्रपति भाल्दमिर पुटिनलाई लिन सकिन्छ । सन् २००० देखि २००८ सम्म राष्ट्रपति रहेका पुटिन सन् २००८ देखि १२ सम्म प्रधानमन्त्री बने र अहिले पुनः राष्ट्रपति पदमा रहेका छन् ।

अहिले हाम्रो देशमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन लाग्दा विभिन्न टीका-टिप्पणीहरू भइरहेका छन् । ‘आउँदा राम्रै हुन्छ’ भन्नेहरू देखि लिएर ‘आफ्नो पोजिसन किन घटाउन खोजेको ? अकाशमा पुगेको मान्छे फेरि जमिनमा किन खस्न लागेको ?’ जस्ता चर्चा गर्नेहरू पनि छन् । खासमा राजनीतिमा आउने या चुपचाप घर बस्ने भन्दा पनि आउने हो भने किन आउने ? भन्ने कुराले अर्थ राख्दोरहेछ । राजनीति गर्ने मान्छे उच्च तहमा पुगेपनि नपुगेपनि राजनीतिक माहौल भन्दा टाढा रहन सक्दैन । कुनैपनि मुलुकको सर्वोच्च पदमा पुग्ने राजा हुन् या रानी या राजनीति भन्दा बाहिरका ब्यक्तित्वहरू जो भएपनि खासमा त्यो पदचाहिँ राजनीतिक नै हो । राजनीतिक निर्णय बिना उक्त पदमा कोही पनि पुग्न सक्दैन । मान्छे राजनीतिक पृष्ठभूमिको नहुन सक्छ तर पदचाहिँ राजनीतिक हो । फरक यति हो – फरक पृष्ठभूमिबाट गएका ब्यक्तिहरूले पदबाट बाहिरिएपछि राजनीति गरेको देखिएको, सुनिएको छैन । बरु आफ्नै पेशा/ब्यवसायमा फर्किने गरेका छन् । उदाहरणका लागि भारतका पूर्व राष्ट्रपति एपीजे अब्दुल कालमलाई लिन सकिन्छ । प्राध्यापक र वैज्ञानिक पृष्ठभूमिका उहाँले राष्ट्रपतिको कार्यकाल सकिएपछि विगतमा आफूले गर्दै आएको काम गर्न थाल्नुभएको थियो, तर अचानक उहाँको देहान्त भयो ।

राजनीतिबाट उच्च तहमा पुगेका सबैले फर्किएर पुनः राजनीतिमै सक्रिय हुन्छन् भन्ने होइन तर कुनै न कुनै रूपको राजनीतिक सक्रियताचाहिँ हुने रहेछ । बाराक ओबामा, विल क्लिन्टनहरूले पनि अरुबेला चुपचाप बसेपनि निर्वाचनका बेला आफ्नो पार्टीका उम्मेद्वारलाई भोट देउ है भनेको सुनिएकै छ । जहाँसम्म विद्या भण्डारीको कुरा छ, उहाँ राजनीतिमा आउँदा विभिन्न पार्टीहरूबीचको संयोजनचाहिँ राम्रो होला भनी अपेक्षा गर्न सकिन्छ । त्यस्तो संयोजन अहिलेको सत्ता-गठबन्धमा जस्तो नभइ विकास निर्माणका लागि हुन सक्यो भने त्यसले उहाँ र उहाँको पार्टीलाई मात्र नभइ मुलुककै हित गर्छ । आफू केको लागि राजनीतिमा पुनः सक्रिय हुन खोजेको भन्ने कुरामा भने उहाँ स्पष्ट हुनुपर्छ नै, समयक्रममा औचित्य पनि सावित गर्न सक्नुपर्छ ।

नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्था भएको देशमा राष्ट्रवादमा नाममा आफ्नो अभीष्ट पूरा गर्ने भन्दा मन, वचन, कर्म सबै कुराले देशलाई केन्द्रमा राखेर काम गर्ने नेताको खाँचो छ । विगतमा रक्षामन्त्री हुँदा विद्या भण्डारीले संवेदनशील अवस्थामा अवलम्बन गर्नुभएको सुझबुझ अविस्मरणीय छ । नेपालको महिला आन्दोलनले वर्षौंदेखि उठाउँदै आएको राजनीतिमा महिला सहभागिताको एजेण्डालाई संकल्प प्रस्तावमार्फत संसदमा ल्याइ संविधानमै राखेर कार्यान्वयनमा ल्याउने नेता विद्या भण्डारी नै हो । यस अर्थमा विद्या भण्डारीले नेकपा एमालेसम्बद्ध मात्र नभइ विभिन्न राजनीतिक दलमा संलग्न समग्र महिलाहरूको राजनैतिक यात्रालाई अर्थपूर्ण बनाउनुभएको छ । यो सन्दर्भमा नेपाली काङ्ग्रेसकी नेता कमला पन्तको भूमिका त्यत्तिकै महत्वपूर्ण छ ।

राजनीतिमा को, कहिलेसम्म बस्न मिल्ने र पाउने भन्ने कुनै पावन्दी छैन । हामीलाई त राम्रा कामहरू खासै नभएकाले यी नेताहरूले अब आराम गरेर बसे हुने जस्तो लाग्ने हो, एकपछि अर्को राम्रो काम हुँदै गयो भने चुप लागेर बस कसैले भन्दैन । राजनीति सेवा हो र सेवा गर्नका लागि उमेरको हदबन्दी हुँदैन । एक वर्षअघि मैंले नेताहरूलाई ‘अब आरामले जीवन बिताउनु न आफूलाई कति दुःख दिएको’ भनेर लेख लेखेकी थिएँ । नयाँ भिजनका साथ यदि कसैले काम गर्छ भने उमेर त धेरैले भन्ने गरेझैँ नम्बर मात्रै हो ।

कुनै पनि काममा स्पष्टता महत्वपूर्ण कुरा हो । ‘भिजन’ र ‘क्लारिटी’ बिना गन्तब्यमा पुग्न सकिँदैन । विद्या भण्डारीको राजनीतिक लिगेसीमा रहेको जनताको बहुदलीय जनवादले बहुलवादलाई स्वीकार गरेर अघि बढेका कारण बाटो त्यति अष्पष्ट भएको देखिँदैन । बिर्सन नहुने कुरा के हो भने मदन भण्डारीसँग विद्या भण्डारीको विवाह साँस्कृतिक या पारिवारिक नभइ राजनीतिक थियो । दुवै जना भूमिगत राजनीतिमा रहेको बेला उहाँहरूको भेट भएर पार्टीले गरिदिएको विवाह थियो । विवाहपछि अन्य धेरै महिलाहरूले झैँ उहाँले श्रीमानको राजनीतिलाई अघि बढाउन आफू राजनीतिक यात्राबाट पन्छिनुभएको थियो । पतिको देहान्तपछि राजनीतिमा पुनः जोडिएपछि विभिन्न राजनीतिक पदहरू सफलतापूर्वक संहाल्नुभएको इतिहास उहाँसँग छ ।

आफू पार्टीको उपाध्यक्ष भएको बेला नेकपा एमालेको नवौं महाधिवेशनको कमाण्ड सम्हालेर विद्याले त्यतिबेला सख्त बिरामी हुनुभएका नेता केपी शर्मा ओलीलाई अध्यक्ष बनाउनुभएकै हो । अहिले कतिले ‘केपी शर्मा ओलीले विद्या भण्डारीलाई राष्ट्रपति बनाए, उनले के गरिन् ?’ भन्ने गरेको, लेख्ने गरेको पनि सुनिएको, देखिएको छ । नेकपा एमालेको नवौँ महाधिवेशनमा माधव नेपालसँग केपी शर्मा ओली लडिरहँदा ओली जिन्दगीको अन्तिम अवस्थामा पुगिसकेको भन्दै निर्मम शब्दहरू प्रयोग गर्नेलाई विद्या भण्डारीले एक दिनमात्रै बाँचेपनि केपी ओलीलाई नै अध्यक्ष बनाइछाड्ने हो भन्दै निर्वाचनको कमाण्ड सम्हालेको लेख्ने पत्रकारहरू धेरै छौँ, छन् । नेपालको राजनीतिमा पुरुषले महिलालाई मात्र बनाएका छैनन्, महिलाले पनि पुरुषलाई ओहदामा पुऱ्याएका छन् । त्यसमध्येको एउटा उदाहरण यो पनि हो ।

अहिले नेपालको राजनीतिमा विद्या भण्डारीको सक्रियता झट्ट हेर्दा उहाँको ब्यक्तिगत आकाङ्क्षाजस्तो देखिएपनि ब्यक्तिगत गालीगलौजबाट माथि उठेर फराकिलो सोचले सबैलाई मिलाएर लैजानसक्ने नेतृत्व राष्ट्रिय आवश्यकता हो । उहाँले राष्ट्रपति हुँदा मुलुकको आवश्यकतालाई नजिकबाट नियाल्न पाउनुभएको छ । के गर्दा गाँठो फुक्छ, के गर्दा कसिन्छ उहाँलाई राम्ररी थाहा छ । यस्तो अनुभवी ब्यक्तिले सक्रिय राजनीतिमा आफू किन आउँदैछु भन्ने निश्चय नै सोच्नुभएको होला । सक्रिय राजनीतिमा पुनः प्रवेश उहाँको ब्यक्तिगत महत्वाकाङ्क्षा मात्रै हो या राष्ट्रिय आवश्यकता पूरा गर्ने दह्रो खम्बा – त्योचाहिँ आगामी दिनमा उहाँले चाल्ने कदमहरूले मात्रै पुष्टि गर्न सक्नेछन् ।