जनताले होश पुऱ्याए देश बाँच्नेछ

जनताले होश पुऱ्याए देश बाँच्नेछ


नेपालले पछिल्ला केही दशकमा गणतन्त्र, सङ्घीयता, लोकतन्त्र जस्ता ठूला परिवर्तनको अनुभव गरेको छ । यति धेरै परिवर्तन भए तापनि राजनीतिक स्थायित्व, सुशासन, पारदर्शिता र दीर्घकालीन विकास भने अपेक्षाअनुसार हुन सकेको छैन । यसपछाडिको एउटा गहिरो कारण हो- पपुलिस्ट नेताहरूको बढ्दो प्रभाव ! यस्ता नेताहरूले जनताको भावना, निराशा र असन्तोषको सहारा लिँदै लोकप्रियता कमाउँछन्, तर मुलुकलाई समस्यामुक्त बनाउने दिशामा ठोस काम गर्न भने सामर्थ्य राख्दैनन् ।

पपुलिज्मको खास चाल भनेको जनतालाई लोभलाग्दो सपना देखाउनु हो । ‘म देश बनाउँछु’, ‘सबै चोर छन्, म मात्र देशभक्त हुँ’, ‘देश अहिले सङ्कटमा छ, मलाई एक मौका देऊ’… जस्ता नाराले जनतालाई मानसिक रूपमा बाँधिन्छ । उनीहरू सामान्य समस्यालाई अतिरञ्जित ढङ्गले प्रस्तुत गर्छन्, अनि आफूलाई एकमात्र उद्धारकर्ता बनाएर अगाडि ल्याउँछन् । यस्तो नेतृत्वले जनताको तत्कालीन भावना त जित्न सक्छ, तर दीर्घकालीन राजनीतिक स्थायित्व र समृद्धिका लागि घातक हुन्छ ।

नेपालमा यो प्रवृत्ति एक प्रकारको संस्कृतिमा परिणत हुँदैछ । नेताहरू सस्तो लोकप्रियताको पछि लाग्न थालेका छन् । उनीहरूको प्राथमिकता योजना, नीति, अध्ययन, तथ्य होइन; भाषण, भिड र सामाजिक सञ्जालमा भाइरल हुने प्रयास मात्रै रहन्छ । यस्ता नेताहरू आलोचना सहन सक्दैनन्, प्रश्न उठाउनेलाई दुश्मन करार गर्छन् र न्याय, विधि, स्वतन्त्र प्रेसजस्ता संस्थालाई कमजोर बनाउँछन् ।

धेरैजसो पपुलिस्ट नेताहरूले गरिबी, बेरोजगारी, भ्रष्टाचार, विदेशी हस्तक्षेपजस्ता मुद्दालाई उचाल्छन् । तर जब सत्तामा पुग्छन्, त्यही समस्याको समाधान गर्ने कुनै ठोस रणनीति नल्याएर अझ ती समस्या लम्ब्याउने काम गर्छन् । कारण स्पष्ट छ- पपुलिज्म त समय काट्ने रणनीति हो, समाधान दिने दर्शन होइन ।

अब प्रश्न उठ्छ- नेपाली जनता यस्ता नेताबाट कसरी जोगिन सक्लान् ?

पहिलो कुरा हो, राजनीतिक चेतना । देशका नागरिकहरू, विशेषगरी युवाहरूले अब नेताको अनुहार होइन, उसको अतीत, काम, सोच र दृष्टिकोण हेर्न सक्नुपर्छ । नेताले विगतमा के गऱ्यो ? उसले बोलेको कुरा पूरा गऱ्यो कि गरेन ? उसले दिने योजना व्यावहारिक छ कि केवल भावना हो ? यी सबै कुरा सोचेर मात्र समर्थन गर्नु आजको आवश्यकता हो ।

दोस्रो, शिक्षित समाजको निर्माण । जनताले समाचार हेर्दा, भाषण सुन्दा वा सामाजिक सञ्जाल स्क्रोल गर्दा प्राप्त सूचनालाई मूल्याङ्कन गर्न सक्ने क्षमताको विकास अत्यावश्यक छ । हामीले प्रचार होइन, प्रमाण खोज्नुपर्छ । प्रश्न सोध्नुपर्छ किन यस्तो भनियो ? त्यसको तथ्य के हो ? यसको लाभ कसलाई हुन्छ ?

तेस्रो, सशक्त र स्वतन्त्र संस्थाको निर्माण । न्यायालय, निर्वाचन आयोग, अख्तियार र प्रेस जस्ता संस्थाहरू बलिया नहुनजेल पपुलिस्ट प्रवृत्तिलाई नियन्त्रण गर्न सकिँदैन । यी संस्थाहरू राजनीतिबाट मुक्त हुनुपर्छ र आम नागरिकको सेवामा निष्ठापूर्वक समर्पित हुनुपर्छ ।

चौथो कुरा हो, जनदबाब । नागरिक समाज, पत्रकार, बौद्धिक वर्ग, विद्यार्थी, मजदुर सबैले मिलेर गलत प्रवृत्तिविरुद्ध आवाज उठाउनु आजको परम कर्तव्य हो । सडकदेखि संसदसम्म निगरानी गर्ने संस्कार बसाल्नुपर्छ ।

अन्तमा, हामीले लोकतन्त्रलाई केवल चुनावको नाममा सीमित राख्न सक्दैनौंँ । लोकतन्त्र भनेको पाँच वर्षमा भोट हाल्ने मात्रै होइन, प्रत्येक दिन नेताको कदम नियाल्ने, मूल्याङ्कन गर्ने, आवश्यक परे प्रश्न गर्ने र सही निर्णयको माग गर्ने प्रक्रिया हो । हामीले अब नेतालाई शक्तिशाली होइन, उत्तरदायी बनाउनु छ ।

पपुलिस्ट नेताहरू भावनामा खेल्छन्, तर देशको मुहार बदल्न सक्दैनन् । हामीले नारा होइन, नीति रोज्नुपर्छ । उग्र जोश होइन, गहिरो होश अपनाउनुपर्छ । नेपाल जोगिन सक्छ, तर त्यो जनता सचेत हुँदा मात्रै सम्भव छ ।