केटा र केटी यदि साथीमात्रै रहेछ भनेपनि हामी शङ्काको दृष्टिले हेर्छौं, तर केटा-केटा सँगै हिँड्दा, एउटै ओछ्यानमा सुत्दा वास्ता गर्दैनौँ । हरेक कदममा शङ्का गर्ने कुरा पनि आएन तर मानिसका ब्यवहारमा, आफूलाई कसैले गरेको दुर्ब्यवहारका विषयमा खुलेर कुरा गर्न सक्ने वातावरण भने बनाउन आवश्यक छ ।
✍ बबिता बस्नेत
हाम्रो घर-परिवार र समाजमा घरबाहिर गएका छोरीहरू अलि ढिला घर फर्कंदा जसरी पीर, चिन्ता र प्रश्न गरिन्छ- छोराहरू ढिलो घर फर्कंदा खासै वास्ता गरिँदैन । ‘छोरामान्छे हो, के होला र ?’ प्रायः यस्तै प्रश्न मनमा उब्जिन्छ । अन्य सुरक्षाको चिन्ता भएपनि कसैले कतै फकाएर लैजाला कि ? यौन शोषणमा पर्ला कि ? भन्ने चिन्ता हामी लिदैनौँ । छोरा मान्छे या बालकमाथि पनि यौनजन्य घटनाहरू हुन सक्छन् भन्ने अवधारणाबाट नै हामी टाढा छौँ । तर विश्व र हाम्रो आफ्नै मुलुकमा भएका घटनाका तथ्याङ्कले बालकहरू हामीले सोचेजस्तै सुरक्षित छन् भन्ने देखाउँदैन ।
सन् २०२५ मा सार्वजनिक भएको ल्यासेन्ट पब्लिकेशनमा प्रकाशित प्रतिवेदन अनुसार, विश्वमा १४.८ प्रतिशत पुरुषहरूले १८ वर्ष पुग्नुअगाडि नै यौनहिंसा भोग्ने गरेका छन् । नेपाल प्रहरी साइबर ब्युरोको अनुसार, नेपालमा इन्टरनेटमार्फत बालकहरूमा हुने यौनहिंसाका घटना बढिरहेका छन् । वि.सं. २०८०/८१ मा २५३ जना बालकमाथि हिंसा भएका घटनाहरू दर्ता भएका छन, जसमा अधिकांश घटना यौन हिंसासँग सम्बन्धित छन । बिसं २०७९/८० मा ५१ जना बालकहरू यौन हिंसामा परेको उजुरी साइबर ब्युरोमा दर्ता भएको थियो । नेपाल प्रहरी, महिला, बालबालिका तथा जेष्ठ नागरिक निर्देशनालयका अनुसार, २०७७/७८ मा ९० जना बालक यौनहिंसाबाट प्रभावित भएका घटना नेपाल प्रहरीमा दर्ता भएका थिए भने २०७८/७९ मा ९३ बालक यौनहिंसामा परेका थिए ।
नेपालमा पनि कार्यालय रहेको ‘भ्वाइस अफ चिल्ड्रेन र फेमिलि फर एभ्री चाइल्ड’ संस्थाले सन २०१९ मा नेपालमा एउटा अध्ययन गरेको रहेछ । जसमा नेपालमा बालकहरू पनि यौनशोषणमा पर्न सक्छन् भन्नेबारेमा मानिसहरूले सोच्ने नगरेको उल्लेख गरिएको छ । हुन पनि हामीकहाँ केटा-केटा घुम्न जाँदा या सँगै बस्दा सामान्यरूपले लिइन्छ । चाहे ठुलो उमेरका हुन् या साना या उमेरमा तल-माथि, जोसँग पनि बाहिर जाँदा या सँगै बस्दा शङ्का गरिँदैन, सुरक्षित भएको विश्वास गरिन्छ । परिवार र समाजमा यो विषयमा कुराकानी र छलफल नहुने भएकाले हिंसामा पर्ने बालकले आफूमाथिको घटना सुनाउने वातावरण पनि हुँदैन । बालकहरूप्रति पनि हिंसा हुनसक्छ भन्ने विषयमा चर्चा नहुने हुँदा हाम्रा नीति, कानून, शिक्षा लगायतमा यो विषयले महत्व पाएको छैन । यौनहिंसामा परेका बालिकामाथि हुने मानसिक आघात र बालकमाथि हुने यौन हिंसाको मानसिक चोट उस्तै हुने घटना अध्ययनहरूले देखाएका छन् । बालकहरूले आफूमाथि भएका घटना आफैभित्र राख्दा उनीहरूमाथि थप आघात पुग्ने गरेका घटनाहरू पनि छन् ।
हामीकहाँ केटा-केटा घुम्न जाँदा या सँगै बस्दा सामान्यरूपले लिइन्छ । चाहे ठुलो उमेरका हुन् या साना या उमेरमा तल-माथि, जोसँग पनि बाहिर जाँदा या सँगै बस्दा शङ्का गरिँदैन, सुरक्षित भएको विश्वास गरिन्छ । परिवार र समाजमा यो विषयमा कुराकानी र छलफल नहुने भएकाले हिंसामा पर्ने बालकले आफूमाथिको घटना सुनाउने वातावरण पनि हुँदैन ।
विगतमा ब्यक्ति-ब्यक्तिबीच (इन पर्सन) ब्यक्त गर्न नसक्ने कुराहरू हिजोआज इन्टरनेटको माध्यमबाट ब्यक्ति गर्ने, निषेधयोग्य तस्बिर या भिडियो खिच्ने वातावरण बनाएर पछि तिनै भिडियो र तस्बिरमार्फत ब्ल्याकमेल गर्ने गरेको पाइएको छ । बाबुआमालाई तस्बिर या भिडियो पठाइदिन्छु, स्कुलमा शिक्षकहरूलाई देखाइदिन्छु भनेर कतिपय वयस्क पुरुषले बालकलाई बारम्बार यौनशोषण गरेका घटनाहरू बढिरहेका छन् । इन्टरनेटको ब्यापक प्रयोगसँगै अहिले बालकहरूमाथिको यौनहिंसा बढ्दै गएको तथ्याङ्कहरूले देखाएका छन् । बालिकामाथि पनि हिंसा बढ्दो छ । समाज सभ्य हुँदैजाँदा हिंसा कम हुने जुन आँकलन गरिएको थियो, त्यस्तो देखिएको छैन । इन्टरनेटको प्रयोगले बालबालिकालाई अवसरसँगै इन्टरनेट कुलतदेखि यौनहिंसासम्मका चुनौतीसँग सामना गर्नु परिरहेको छ । भ्वाइस आफ चिल्ड्रेन केएनएफ जर्मनीले सन् २०२३ मा गरेको अध्ययनमा सहभागी बालकमध्ये ३२.२ प्रतिशतले यौनजन्य कल र सन्देशहरू, २९.२० प्रतिशतले अश्लील फोटाहरू, १५.४० प्रतिशतले अश्लील भिडियो, इमेजहरू प्राप्त गर्ने गरेको बताएका थिए । पुरुषहरूबाटै यौनशोषणमा बालकहरू पर्ने गरेकाले आफन्त हुन् या साथीभाइ- सम्बन्धमा सजग हुनुपर्ने यी तथ्याङ्कहरूले देखाएका छन् ।
भ्वाइस अफ चिल्ड्रेनमा रहेर यौन हिंसामा परेका बालकहरूका बारेमा कार्यरत सञ्चारकर्मी कृति भट्टराईका अनुसार, नेपालमा यौन दुर्ब्यवहारमा पर्ने बालकहरू मध्ये थोरैले मात्र आफूमाथि भएको घटना सेयर गर्ने गरेका छन् । नेपालमा बालकहरूमा हुने अनलाइन यौन हिंसाका सम्बन्धमा सन् २०१७ मा नै एउटा अध्ययन भएको रहेछ । त्यतिबेला ४५२ जना बालबालिकामा अध्ययन गर्दा ८० प्रतिशतले इन्टरनेट प्रयोग गर्ने गरेको र त्यसमध्ये ४७ प्रतिशत बालकहरू यौन दुर्व्यवहारमा पर्ने गरेको देखिएको थियो । यो ८ वर्षको बीचमा इन्टरनेट प्रयोगकर्ताहरूको संख्या धेरै नै बढेको छ र यस प्रकारका अध्ययनहरू समय-समयमा भइरहनुपर्ने देखिन्छ । अध्ययनमा देखिएका समस्याको समाधान पनि सँगसँगै हुनुपर्ने देखिन्छ ।
मान्छे-मान्छेबीच प्रेम र विवाहमात्र होइन शोषण र दुर्ब्यवहार पनि हुनसक्छ भनेर हामीले सोच्न, कुराकानी गर्न, जनचेतना फैलाउन र कानूनमा परिमार्जन गर्न आवश्यक छ ।
विगतमा सडक बालबालिकाहरूमा भएका यौनशोषणका विभिन्न घटनाहरू सार्वजनिक हुने गरेका थिए । तर, बालकहरूमा हुने यौनशोषण सडकमा मात्र नभइ आफन्तहरूबाटै घर-घरमा हुनेगरेका घटना बढिरहेका छन् । आफन्त र नातेदारहरूबाट हुनेगरेका यस्ता घटनाहरू प्रहरीसम्म प्रायः पुग्दैनन् । सडकबालकहरूमाथि यौन दुर्ब्यवहार गर्ने प्रायः विदेशी नागरिकहरू हुनेगर्थे भने अहिले आफ्नै देशका र आफन्तबाटै बालकहरू दुर्ब्यवहारमा पर्नेगरेका छन् । भ्वाइस अफ चिल्ड्रेनकै सन् २००८ मा सार्वजनिक भएको तथ्याङ्कअनुसार ८५ प्रतिशत सडकबालकहरू यौन दुर्ब्यवहार र शोषणमा पर्नेगरेका थिए ।
परिवारका सदस्यबीच हामी यौनहिंसाका विषयमा खासै चर्चा गर्दैनौँ । मुलुकमा ठुलै घटना भयो भने समाचारसम्म हेर्छौं, ‘यस्तो भएछ..’ भन्छौँ, तर आफ्नै परिवारका सदस्यमाथि भइरहेका, हुनसक्ने या सम्भाव्य घटनाका बारेमा मौन रहन्छौँ । बाबुआमा, छोराछोरी सँगै बसेर या भनौँ परिवारमा जो-जो छ, सदस्यहरूबीच कुराकानी गर्नु आवश्यक छ । केटा र केटी यदि साथीमात्रै रहेछ भनेपनि हामी शङ्काको दृष्टिले हेर्छौं, तर केटा-केटा सँगै हिँड्दा, एउटै ओछ्यानमा सुत्दा वास्ता गर्दैनौँ । हरेक कदममा शङ्का गर्ने कुरा पनि आएन तर मानिसका ब्यवहारमा, आफूलाई कसैले गरेको दुर्ब्यवहारका विषयमा खुलेर कुरा गर्न सक्ने वातावरण भने बनाउन आवश्यक छ । विगतमा पनि यस्ता विषयमा खासै कुरा हुँदैनथ्यो । अहिले त झन् आमाबाबु र छोराछोरीबीच ज्यादै कम कुराकानी हने गर्छ । इन्टरनेटले संसारलाई चिनाइरहँदा आफ्नै परिवारका सदस्यको आनीबानी थाहा नपाउने अवस्थामा हामी पुगेका छौँ ।
हामीकहाँ पुरुषले पुरुषलाई र महिलाले महिलालाई यौनशोषण या दुर्ब्यवहार गर्न सक्छन् भन्ने परिकल्पना खासै गरिँदैन । विगतमा पुरुष र पुरुष या महिला-महिला विवाहको परिकल्पना पनि गरिँदैनथ्यो । त्यसैले हाम्रो विवाहको कानूनमा महिला र पुरुष उल्लेख गरिएको छ । विवाह महिला र पुरुषका बीच मात्रै हुन्छ भन्ने मान्यताका कारण महिला र पुरुष भनी उल्लेख गरिएको हो । तर समयक्रममा महिला-महिला र पुरुष-पुरुष या ‘एलजीबीटीआईक्यू’बीच जसरी विवाह भइरहेको छ, त्यसले कानूनमा परिवर्तनको सुरुवात भएको छ । मान्छे-मान्छेबीच प्रेम र विवाह मात्र होइन शोषण र दुव्र्यवहार पनि हुनसक्छ भनेर हामीले सोच्न, कुराकानी गर्न, जनचेतना फैलाउन र कानूनमा परिमार्जन गर्न आवश्यक छ । छोरो कोसँग बाहिर गएको थियो ? किन अहिलेसम्म आएन ? उसको अनुहार किन मलिन छ ? कुनै कुरा ब्यक्त गर्न खोजिरहेको पो छ कि ? छोरीप्रति त हामी संवेदनशील हुनुपर्छ नै, भइरहेका पनि हुन्छौँ । उल्लिखित तथ्याङ्कहरूले छोराप्रति पनि त्यत्तिकै संवेदनशील हुन आवश्यक देखाएको छ ।
प्रतिक्रिया