देश लुट्नेहरु कहाँ जालान् !?

देश लुट्नेहरु कहाँ जालान् !?


‘यसो भन्छन् नि कामरेड के हो ?’ सोधनी भयो यताबाट । अर्का कामरेडले उताबाट सोधे- ‘कसो भन्छन्… ? कल्ले भनो…?’ यिनै कामरेडले फेरि शङ्कालु कामरेडलाई थप्दै भने- ‘शङ्का नगर्नुस् न कामरेड, सँगसँगै जाने हो ! स्वर्ग गए’नि सँगै नर्क गए’नि सँगै जाउँला, किन फिक्कर गर्नुहुन्छ कामरेड ?’ उनको कुरा सुनेर यताका कामरेडले- ‘आहा…! क्या गज्जबको कामरेडसँग सहकार्य भएछ ! अब पाँच्चै वर्ष मज्जाले खाने भएँ…’ भन्दै मख्ख परेको त पाँच घण्टा पनि नटिकेको कथा पोहोरै सुनेको हो । अहिले पनि ठ्याक्कै त्यस्तै-त्यस्तै आँकलन गरिँदैछ । के हुन्छ यसै भन्न त सकिँदैन…, भनिन्छ- हिजोको मित्रसँग जस्तो भएको थियो आजको मित्रसँग पनि त्यही हुनेवाला छ । अर्थात्, यसपालि स्वर्ग गएपनि सँगै नर्क गएपनि सँगै जाने पालो ‘जयनेपाल कामरेड’को होला जस्तो छ !

तर, यहाँ प्रसङ्ग अलि अर्कै छ । ‘सरकार टिकोस्, टुटोस् वा भत्कोस्.. सरोकार छैन । कुरो के हो भने जीवनको मृत्युपछि सबकुछ सकिन्छ, कोही कहीँ जाँदैन । न स्वर्ग जान्छ न त नर्क नै’ भन्दै सांसारिक जीवनलाई नै अन्तिम सत्य मान्ने कामरेडहरूमा अचेल स्वर्ग-नर्कको आशा पलाएको देखेर दुनियाँ चकदङ परेको छ ! काङरेडहरूमा भने स्वर्ग जाने आशा पलाएको ०४६ पछिदेखि नै हो । तर स्वर्ग र नर्क कहाँ जाने भन्ने तय आफै गरेर हुँदैन भन्ने महोदयहरूलाई बोध भएजस्तो पटक्कै लाग्दैन । किनकि, कुन कर्मले स्वर्ग लान्छ र कुन कर्मले नर्क लान्छ भन्ने पहिला बुझ्नु जरुरी थियो… बुझेनन् ।

कर्म तीन प्रकारका हुँदारहेछन्- मनसा, वाचा र कर्मणा ! अर्थात् शारिरिक कर्म, वाचन कर्म र दिमाग लगाएर गरिने मानसिक कर्म । यसअनुसार जीवनमा गरिएका कर्मका आधारमा मृत्युपछि स्वर्ग वा नर्कको निर्धारण हुन्छ । हेक्का रहोस्, स्वर्ग गए त ठिकै छ तर नर्कै जान परेछ भने त वैतरणी नदीमा डुबाएर दन्दनी दन्केको सालमलि बृक्षको हाँगामा झुण्ड्याएर सेकुवा बन्नु पऱ्यो भने के हाल होला कामरेड–काङरेड ? बुझ्दा राम्रो हुन्छ !

यसै प्रसंगमा केही समयअगाडि मेरो गुरुको सान्निध्यमा रहँदा परम् आदरणीय गुरुले एउटा कथा सुनाउनुभएको थियो । कथाको शीर्षक थियो- ‘गोठालो र धूर्त पण्डित’ ! कथा रोचक र समसामयिक थियो । उत्सुकतापूर्वक कथा सुनेँ । गोठालो सोझो अनपढ र अज्ञानी थियो । धूर्तपण्डित वेद-वेदाङ्ग र शास्त्रमा पारंगत थियो । दुवैले आ-आफ्ना कर्म गर्थे । गोठालाले गाई-बाख्राहरूलाई वनमा लगेर चराउने काम गर्थ्यो । पण्डितले घर-घरमा पूजाआजा लगायत पुराण वाचन गर्थ्यो । गोठालो र पण्डितले यस्तै-यस्तै कर्म गर्दै दिनहरू गुजारिरहेका थिए । दिनहरू गुजार्दागुजार्दै एकदिन दुवैका दिन पनि सकिए । दिन सकिएपछि जाने त आखिर कि स्वर्गै हो कि त नर्कै हो, अर्को विकल्प त छँदै छैन !

दिन सकिएका दुवैजना मर्त्यलोकको बाटो लागे । जाँदाजाँदै बाटोमा दोबाटो आयो । कता जाने… ? दोबाटोको चेकजाँचपछि मात्र तोकिएको बाटो लाग्नु पर्थ्यो । आफ्नो मनखुशीले बाटो रोज्न पाइँदैनथ्यो ! जन्मलोकमा गरेका कर्म र कुकर्मका आधारमा मृत्युलोकमा बाटो तय हुन्थ्यो । गोठालो र पण्डित दुवैले स्वर्गै जानका लागि दोबाटोमा माथापच्ची र घच्चाघच्ची चल्यो । पण्डित भन्छन्– ‘मैले पढेँ, लेखेँ । सबैलाई ज्ञान बाँडेँ । आजापूजा गराएँ । भगवानको भक्तिमा लागेँ । भागवत पुराण वाचन गरेँ । धर्मैधर्म गरेँ । तैँले के त्यस्तो के पुण्य कर्म गरिस् र स्वर्ग जाने ? स्वर्ग जाने हक मलाई मात्र छ, छोड् मेरो बाटो ! तँ नर्क जा !’ पण्डितले गोठालालाई थर्कायो ।

गोठालो अज्ञानी-अशिक्षित थियो । सोझो सिधा थियो तर बलियो थियो । वनमा गाईबस्तु चराउँथ्यो । निस्काम कर्ममा सरासरका दिन बिताउँथ्यो । पण्डितले जस्तो इधर-उधर केही जान्दैन्थ्यो । स्वर्ग जाम्ला भनेर उसको जीवनमा कहिल्यै कुनै पनि कर्मै गरेन । शिक्षाको अवसरबाट वञ्चित बनेको गोठालो बाठो पण्डितका कुराले नाजवाफ बन्थ्यो र धकेल्थ्यो । बढी सवाल जवाफ गर्ने अवस्थामा गोठालो नभएपनि स्वर्ग र नर्क जाने दोबाटोमा यी दुईजनाको विवाद र झगडाले गर्दा बाटो अवरुद्ध बन्यो । सानोतिनो प्रयासले विवाद सुल्झेन । अन्तमा यमराज र चित्रगुप्त नै विवादलाई साम्य पार्न भनेर स्वयम् दोबाटोमा आए ।

यमराजले चित्रगुप्तलाई गोठालो र पण्डितले जन्मलोकमा गरेका कर्मका बारेमा बेलिविस्तार सुनाउन लगाए । चित्रगुप्तले अभिलेख पल्टाउँदै यमराजले भनेअनुसार उनीहरूले गरेका सम्पुर्ण कर्म-विवरण सुनाए बुझाए । जसअनुसार गोठालो स्वर्गै जान्थ्यो, धूर्त पण्डित नर्क पुग्थ्यो ! तर यमराज आश्चर्यमा परे- पण्डित स्वर्ग जानुपर्ने हो ! के भयो ? यमराजलाई चित्त बुझेन । तसर्थ, यमराजले पण्डित र गोठालोसँग एक्लाएक्लै अन्तरंग कुरा गरे । अन्तर्वार्ता लिए ।

यमराजले बुझ्दा पण्डितले शुरुदेखि नै जे-जे कर्महरू गर्थ्यो, स्वर्ग जाने स्वार्थले गर्दोरहेछ तर गोठालोले स्वर्ग र नर्कको ख्यालै नगरी निस्काम कर्म गर्दोरहेछ । किनकि ऊ अज्ञानी थियो । कर्म गर्थ्यो फलको आशा राख्दैनथ्यो । घर-वन गर्दा जतिपनि काम गर्थ्यो हरदम कुनै अपेक्षारहित कर्ममा लीन रहन्थ्यो । आफ्ना गाईबस्तु चराउनुको अलावा जंगलमा दुःख पाएका पशुहरूको पनि सेवा गर्थ्यो । एउटी गर्भिणी मृग काँडेतारमा अल्झेर पानी प्यासले प्याक-प्याक परेकी थिइ । गोठालाले आफ्ना गाईबस्तुको पर्वाह नगरी मृगलाई पानी खुवाएर बचायो । काँडेतारमा अल्झेको उसलाई मुक्त गराएको कुरा पनि गोठालाले यमराजका सामु बतायो । अन्तमा दुवैका कुरा सुने/बुझेपछि चित्रगुप्तले राखेको अभिलेख नै ठिक भएकोले गोठालाले स्वर्ग जान पाउने र पण्डित जति नै विद्वान् तथा धार्मिक भएपनि कम्तिमा ६ वर्ष नर्कको बासपछि मात्र स्वर्गमा जान पाउने ठहर यमराजले सुनाए । धुर्त पण्डित हिस्स पऱ्यो ! यसपछि विवाद साम्य भयो र दोबाटोको चहलपहल पूर्ववत सामान्य बन्यो ।

यस्तै, विगत केही दशकदेखि नेपाली राजनीतिका धूर्त पण्डितहरू आफूमात्र स्वर्ग जाने आशले अनेक कर्म गर्दै गरेको नेपाली समाजले देख्दै आएको छ । देखावटीमा सत्तापक्ष र प्रतिपक्ष छन् । लुकावटीमा सबै एउटै पक्ष छन् । सबै आलोपालो सत्तामा विराजमान हुन्छन् । झैझगडा गरेजस्तो गर्छन्, उत्तिखेरै मिल्छन् । एकले अर्कोलाई सत्तोसराप गर्छन्, उत्तिखेरै अँगालो मार्छन् । शयको काम गर्छन् हजार लुट्छन् । गर्दागर्दा, नेताले जनतालाई यति झुक्क्याए कि जति स्यालले कुखुरा चोर्दा पनि मालिकलाई झुक्क्याएको थिएन । आपसमा मिलेर देश यति लुटे कि इहलोकमा त्यो सम्पत्तिको भोग गर्न नसकिने भयो । सम्पत्ति लुकाउन नसकिने भयो । लुटेर कुम्ल्याएको सम्पत्ति सन्तान-दरसन्तानलाई पनि बढी भयो । बढी भएको लुटको धन मरेपछि सँगै लिएर जाने सोंच भ्रष्ट नेताहरूमा पलायो ताकि लगेर पुनःस्वर्गमा पनि ऐशआराम चैन गर्न पाइयोस् ! तर कुन कर्मले आर्जेको कमाइ हो भन्ने यिनलाई कहिल्यै ज्ञान भएन । सांसारिक जीवनमा कस्तो गरिएको छ र त्यसको परिणाम के भोग्नुपर्ने हो भन्ने अहिलेका धुर्त सत्ताधारी पण्डितरूले बुझेकै छैनन् ।

अझ भनौँ, धुर्त ‘कमरेड’ र ‘काङरेड’हरूलाई अचेलका दिनमा स्वर्ग जाने आशा गुणात्मकरूपमा चुलिएको पाइन्छ । यस्तो आशा चुलिनुमा द्रब्यपिचासको गुण हुनु अनिवार्य रहेछ । यो गुणले भरिपुर्ण भएपछि स्वर्ग जाऊ-जाऊँ लाग्छ रे ! जिउँदो छँदै स्वर्ग र नर्कको अनुभव गर्ने हो मरेपछि त सबै कुरा बकबास भन्नेहरू अचेल अनेक कुकर्मबाट आर्जित अकुत धन उम्लन थालेपछि मृत्यु पश्चात स्वर्गमा लगेर लुकाउने र भोगचलन गर्ने उपाय रच्न थालेको कुरा व्यापक सुनिँदै छ ।

हेर्दै जाउ पण्डितहरू ! देशले ऋण काढेर ल्याएको धन अनावश्यक योजना बनाएर कमिशन खाने र खुवाउने तिम्रा योजनाकारका कर्मले तिमीहरूलाई कहिल्यै स्वर्गमा जान दिनेछैन । स्वर्ग जाने कोशिश जतिसुकै गर असफल हुनेछौ ! पहाडका धुरी-धुरीमा टावर आवश्यकै थिएनन्, किन बने ? यातायातले सुगम बनिसकेपछि थुप्रै विमानस्थल आवश्यकै थिएनन्, अर्बौं सकेर जहाज नचल्ने विमानस्थल किन बने ? वडा-वडामा लाखौँ करोडौँका सामुदायिक भवन अलपत्र र छरपष्ट फालिएका छन्, किन बनाइए ? दुनियाँ जगजाहेर छ । यस्तो कुकर्मको फलको परिणाम हात के लाग्छ ? सिउँडी रोपेर ड्रागन फ्रुट फल्छ ?

तल्ला इकाईका भुसुनाहरू त लोभीपापी भए-भए… बडेबडे भनाउँदा र जीवित पूर्व तथा बहालवाला प्रधानमन्त्रीहरू झन् दोब्बर लोभी र भ्रष्ट कहलिन पुगे । अर्बौंअर्बका काण्डमा उनीहरू नै भ्रष्टाचारका नाइके बनेका छन् । देश बनाउने बहानामा यिनले गरेका कुकर्मले जतिसुकै ठुलो पदमा रहेका भएपनि संसार छोडेपछि कथनीमा स्वर्गीय लेखेपनि करणीमा नरकबासी नै हुनेछन् । सरकारमा बसेरै नेपाली नागरिकलाई बेचबिखन गरि आर्जेको अकुत सम्पत्तिले तिम्लाई कहिल्यै स्वर्गयोग्य बनाउने छैन । राजाहरूले जोडेका र जोगाएका देशका सार्वजनिक सम्पत्तिमा बक्रदृष्टि लगाइ ‘प्रभु’हरूलाई रिझाएर हिनामिना गरि ब्रह्मलुट गर्ने–गराउनेलाई स्वर्गको द्वार कहिल्यै खुल्ला हुनेछैन, आशै नगर… ।

अन्तमा, भन्न के सकिन्छ भने स्वर्ग र नर्क त विश्वास हो आस्था हो, मान्नेले मान्न सक्छ नमान्नेले नमान्न ! तर समयचक्र बलवान बनेर नाच्यो भने परलोकको कुरा छोडौं यही लोकमा जनघात र राष्ट्रघात गर्नेहरूका लागि निर्मित नेपालआमाको कालकोठरीको बास अवश्यम्भावी छ । निश्चित छ । श्री ॐ प्रभु !