श्रम अभियानमा ‘डोर हाजिर भुक्तानी’ र पत्रकारको विश्वसनीयतामा प्रश्न !

श्रम अभियानमा ‘डोर हाजिर भुक्तानी’ र पत्रकारको विश्वसनीयतामा प्रश्न !


धरानका नगरप्रमुख हर्क साम्पाङको श्रम अभियान, सहभागीहरूको श्रमदान र नगरप्रमुखको कार्यशैलीका विषयमा अनेक प्रश्न उठेका छन् । ‘श्रमदान’ आवरणमा नगरप्रमुख साम्पाङले पालिकाको बजेट दोहन (भ्रष्टाचार) गरेको आरोपसहित सञ्चारमाध्यमहरूमा विषय उठाइएका छन् । तर यो प्रकरणमा धरातलीय यथार्थ के हो ? सम्बद्ध पत्रकारले जनतामा स्पष्ट पार्न सकेको पाइँदैन ।

समाजका अन्य वर्गमा जस्तै पत्रकारितामा पनि आजभोलि विकृतिको मात्रा बढेको छ । अपवादबाहेक पत्रकारले कुनै पार्टीको कार्यकर्ता भएर आफूसमर्थित दलको गुनगान गाएको देखिन्छ । नगरप्रमुख हर्कका समर्थक पत्रकारहरू पनि छन् । उनीहरू पनि हर्कको अन्धसमर्थन र गुणगान गाउने गर्छन् । स्वतन्त्र समर्थित हुन् वा दलका पत्रकारले भ्रामक वा एकपाखे सूचना सम्प्रेषण गर्नु सामाजिक अपराध हो ।

अधिकतर सञ्चारमाध्यमले खोजमूलक समाचार, लेख आदि सामग्रीभन्दा बढी कोठेगफ, पूर्वाग्रही र कपीपेस्ट सामग्रीलाई प्राथमिकता दिने गरेको पाइन्छ । पत्रकारिताको धर्म निर्वाह पत्रकारहरूबाटै बेवास्ता भइरहेको देखिन्छ । समाचार लेख्दा निरन्तर देश, जनता र मानवीय संवेदनालाई ख्याल गर्नुपर्ने हुन्छ । तर कसलाई कसरी खुइल्याउने भन्दै व्यक्तिगत, राजनीतिक दल, नेता तथा कोही खास व्यक्तिको स्वार्थमा एकतर्फी समाचार प्रवाह गरेको पाइन्छ ।

सिद्धान्ततः समाचारमा दुई पक्ष हुन्छन्- पीडित र पीडक । समाचार लेख्दा हरेक पक्षको भनाइ समेट्नुपर्ने हुन्छ । पीडक भनिएको पक्षको भनाइ वा प्रतिक्रियालाई पनि स्थान दिनुपर्ने हुन्छ । समाचार सत्यतामा आधारित र विश्वसनीय छ/छैन ? सन्तुलनको अवस्था के छ ? समाचार प्रकाशन–प्रसारणपछि के-कस्तो प्रभाव उत्पन्न हुन्छ ? यावत् कुराहरूमा पत्रकारले ध्यान राख्नुपर्ने, पूर्वआँकलन गर्नुपर्ने हुन्छ ।

कानुन–व्यवसायजस्तो पत्रकारिता कर्ममा पक्ष-विपक्ष हुँदैन । तथापि सञ्चारगृह र पत्रकारलाई सरकारको स्थायी प्रतिपक्ष मानिन्छ । सरकारले गरेका कामको प्रचार गर्ने जिम्मा सरकारी संयन्त्रको हो, पत्रकारको होइन । पत्रकारितालाई आवाजविहीनहरूको आवाज उठाउने थलो मानिने हुँदा पत्रकारले आम जनताको पक्ष, देशसहित सबै प्राणीको हितका लागि लेख्ने/बोल्ने हो ।

सरकार वा जो कसैले गरेका असल कामको सार्वजनिक चर्चा र गलत काममा खबरदारी गर्ने अग्र-दायित्व पत्रकारकै हो । पत्रकारका जिम्मेवारी धेरै र जोखिमपूर्ण भएकाले नै आमजनताले सम्मान र विश्वास गर्छन् । तर केही दल तथा अमुक व्यक्तिको ‘झोले’ प्रवृत्तिका पत्रकारका कारण सिङ्गो पत्रकारिता जगत बदनाम भएको छ ।

पत्रकार कहिल्यै पूर्वाग्रही हुनुहुँदैन । पत्रकारलाई समाचार लेख्ने समयमा कसैले प्रभाव पार्नुहुँदैन । पत्रकारले कसैको प्रभाव तथा दबाबमा परेर समाचार लेख्छ भने उसले लेखनमा सन्तुलन कायम राख्न सक्दैन । कसैको प्रभावमा पारेर लेख्नु पर्चाकारिता हो, पत्रकारिता होइन ।

त्यसो त पत्रकारिता कर्ममा प्रवेश गर्न अन्य व्यावसायिक क्षेत्रभन्दा सजिलो छ । कुनै सञ्चार संस्था, पत्रकारितासँग सम्बन्धित सङ्गठन तथा नेपाल पत्रकार महासङ्घको सदस्यता लिएपछि पत्रकार भयो । तर जनताको विश्वास जित्ने ‘वास्तविक’ पत्रकार हुन भने सजिलो छैन ।

पत्रकारले लेखेको समाचार र प्रवाह गरेको विचारले केही न केही परिवर्तन हुनुपर्छ भन्ने विश्वव्यापी मान्यता छ । समाचार लेखेका आधारमा परिवर्तनहरू भएका पनि छन् । समाचार लेखिएकै कारण सशस्त्र द्वन्द्वका बेला विद्रोहीको ज्यान जोगिएका, भ्रष्ट-अपराधी व्यक्तिहरू कारबाहीको दायरामा आएका थुप्रै उदाहरण छन् । कतिपय मन्त्री, राजनीतिक व्यक्ति, कर्मचारी, सुरक्षाकर्मीले राजीनामा दिनुपरेको छ । ओझेलमा परेका कतिपय क्षमतावान् व्यक्तिले समाचार प्रभावका कारण अवसरहरू पाएका छन् । पीडितहरूले उद्धार, राहत र न्याय पाएका उदाहरण पनि कम छैनन् ।

पत्रकारितालाई त्यसै राज्यको चौथो अङ्ग भनिएको होइन । राज्यका तीन अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा भएका गलत कार्यहरूबारे पत्रकारले खबरदारी गर्ने, तीनै अङ्गको अनुगमन गरी तथ्य सूचना जन–जनमा पऱ्याउने भएकाले पत्रकारितालाई राज्यको चौथो अङ्गको सम्मान प्राप्त छ ।

जनतामा यथार्थ सूचना प्रवाह गर्ने क्रममा पत्रकारको जीउज्यान जोखिममा पर्नसक्छ । कतिपय पत्रकारले त्यस्तो नियति ब्यहोरेका पनि छन् । केही दिनअघि काठमाडौंको तीनकुने घटनामा समाचारका लागि भिडियो फुटेज सङ्कलन गरिरहेका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकले आगोमा जलेर मृत्युवरण गर्नुपरेको कहालीलाग्दो घटना हामीसामु ताजै छ ।

कतिपय पत्रकारहरूले नाहकमा प्रहरीको कुटाइ खानुपरेको छ । कतिपयले गुण्डाहरूको निसानामा पर्नुपरेको छ । आपराधिक प्रवृत्तिका व्यक्तिहरूले कतिपय पत्रकारको ज्यान लिएका घटनाहरू पनि छन् । शत्ता र शक्तिको आडमा पत्रकारहरूलाई झुठा मुद्दा लगाएर फसाएका उदाहरणहरू पनि छन् ।

पत्रकारले समाचार लेखेपछि कि ताली कि गाली आउनुपर्छ भन्ने सार्वजनिक मान्यता नै छ । समाचार सङ्कलनका क्रममा र प्रकाशन-प्रसारणपछि पत्रकारलाई अनेक धाकधम्की आउँछन्, तिनीहरूलाई खेप्न सक्नुपर्छ । सत्यतामा आधारित रहेर पत्रकारिता गरेकाहरूले शासकलाई जहिले पनि झुकाएकै छन् ।

यतिबेला धरान नगरप्रमुख हर्क साम्पाङ राईले ‘श्रमदान गर्नेहरूको डोर हाजिरी बनाएर रकम भुक्तानी लिएको’ समाचारले बजार तातिएको छ । समाचारअनुसार डोर हाजिरीमा पेजको पुछारमा ‘श्रमदाताले भुक्तानी नलिने’ टिप्पणी उल्लेख छ, तर श्रमदान भनेर प्रचार गरिएको आयोजनामा केही श्रमदातालाई ‘ज्याला’ भुक्तानी गरिएको छ । नगरप्रमुखको तजबिजमा गठित उपभोक्ता समितिमार्फत बिल पेस गर्न लगाइ डोर हाजिरी फारम भराएर रकम दिइएको समाचारहरूमा उल्लेख छ । त्यस्तो डोर हाजिरी राखेर भुक्तानी माग गरिन्छ भने नगरप्रमुख हर्कको सिधै गल्ती हो ।

पत्रकारले गहिरो अध्ययन गरेर यस विषयको तहमा पुग्नु जरुरी छ । विवादित योजना कुन-कुन हुन् ? श्रमदान, उपभोक्ता समितिमार्फत वा ठेक्कामा कार्य सम्पन्न गर्ने भनिएको छ ? यदि निर्णय गर्दा श्रमदानबाट सम्पन्न गर्ने भनिएको छ भने सो काममा खटिएका श्रमदाताको डोर हाजिर गराई भुक्तानी मागिएको छ भने सिधै गल्ती हो । त्यसलाई कसैले पनि ढाकछोप गर्न मिल्दैन । यदि उपभोक्ता समितिबाट निर्माण कार्य सम्पन्न गर्ने भनिएको छ भने नियमसङ्गत उपभोक्ता समिति गठन भएको हुनुपर्छ । त्यसको लागि नगरबाट बजेट छुट्याइएको हुन्छ । आवश्यक प्रक्रिया पूरा गरेर भुक्तानी दिनुपर्ने हुन्छ । नियमसङ्गत तरिकाले गठित उपभोक्ता समितिले गरेको काममा डोर हाजिरी फारमबाट भुक्तानी दिइनुलाई गलत वा भ्रष्टाचार गरेको भन्न मिल्दैन ।

नगरप्रमुख साम्पाङले कुनै राजनीतिक दलको छाता नओढी स्वतन्त्र रूपमा निर्वाचन जितेकाले राजनीतिक दलहरूलाई भित्रभित्रै भतभती पोलेको अवस्था छ । त्यसमा पनि राम्रो काम गरे भने जनताले भोलिका दिनमा हर्कजस्ता स्वतन्त्र व्यक्तितर्फ मतदाता आकर्षित हुने भएकाले राजनीतिक दलहरूले हर्कलाई असफल बनाउन, बद्नाम गर्न चाहन्छन् । यसबाहेक राजनीतिक दलका नेताहरू देश र जनताको हितमा हुने काम गर्न खासै रुचि राखेको पाइँदैन । को अगाडि बढेको छ वा बढ्ने सम्भावना छ, उसको खुट्टा तान्न र बद्नाम गराउन समय खर्चिएको देखिन्छ ।

जनताको हितमा काम गर्न बजेट चाहिन्छ । तर बजेट जति प्रशासनिक भुक्तानी र भ्रष्टाचार गरेर सकिहाल्छन् । नगरप्रमुख हर्कले भ्रष्टाचार गर्न त परै जाओस्, उल्टै श्रमदान गरेर, गर्न लगाएर कतिपय विकास-निर्माणका कामहरू सम्पन्न गरेका छन् । श्रम अभियानको प्रशंसा गर्दै देश-विदेशबाट उल्लेख्य आर्थिक सहयोग पनि आएको छ । हर्कको श्रमदानमा सामेल हुन टाढा-टाढाबाट सेलिब्रिटीदेखि सर्वसाधारण वर्गका थुप्रै मानिसहरू आएका छन् ।

उल्लिखित पृष्ठभूमिमा नगरप्रमुख हर्कले श्रमदानमा काम सम्पन्न गरेकोमा श्रमदाताको डोरहाजिरी गराएर पैसा भुक्तानी लिन्छन् भन्ने विश्वास लाग्दैन । यसमा पत्रकारले खोजबिन गरेर सप्रमाण सत्यतथ्य जनतासामु ल्याउनु पर्छ । हर्कले पनि यस्तो त्रुटि गरेको हो भने जनतासमक्ष माफी मागेर अबका दिनमा गल्ती नदोहऱ्याउने प्रतिबद्धता जनाउनु पर्छ । भनिन्छ- गल्ती गर्नुभन्दा पनि गल्तीलाई स्वीकार नगर्नु अपराध हो ।

डोर हाजिरी प्रकरणमा यदि कार्यकर्तास्तरबाट गल्ती भएको रहेछ भने अभियानको नेतृत्व त्यसप्रति जबाफदेही हुनुपर्छ । नेतृत्वले ‘म नियम-सियम मान्दिनँ, जनताले पाँच वर्षका लागि मलाई काम गर्न पठाएका हुन्, म आफ्नै तरिकाले काम गर्छु,’ भन्न मिल्दैन । कुनै पनि सार्वजनिक काम सार्वजनिक नियमसङ्गत र स्वीकार्य हुनुपर्छ ।

जनतालाई राम्ररी थाहा छ धरानका नगरप्रमुख हर्क साम्पाङ, धनगढीका गोपी हमाल, काठमाडौँका बालेन्द्र शाह (बालेन)बाट जानीजानी यसप्रकारका गल्ती हुँदैनन् । अन्जानमा वा कानुनी प्रक्रिया नजानेर भएको वा कसैले फसाएको हुनसक्ने सम्भावना रहेकाले नगरप्रमुख हर्कले वास्तविकतालाई लुकाउनु हुँदैन । गल्ती भएको हो भने माफी माग्नुपर्छ । जनताले एक पटकलाई माफी दिनेछन् । पत्रकारहरूले पनि राजनीतिक दल तथा नेताहरूको इच्छा पूरा गरिदिन गलत वा पूर्वाग्रही समाचार लेख्नुहुँदैन । समाचारमा आरोपीको भनाइ राख्ने मौका दिइनुपर्छ ।

पत्रकारको सबैभन्दा ठूलो सम्पत्ति भनेकै जनताको विश्वास जित्नु हो । पेसामा प्रतिबद्ध र व्यावसायिक पत्रकारहरूप्रति जनताले विश्वास गरेका हुन्छन् । पत्रकारले अमुक स्वार्थपूर्तिहेतु गलत सूचना सम्प्रेषण गरेको खण्डमा जनताप्रतिको विश्वास टुट्ने निश्चित छ । सही सूचना लुकाउने र भ्रामक कुराहरू बाहिर ल्याउने कार्य पत्रकारिताको सिद्धान्तविपरीत हो । दलका कार्यकर्ताले पत्रकारिताको आवरणभित्र नेताको निर्देशनमा नचाहिने काम पनि गरिरहेका हुन्छन् । त्यस्ताले समयअन्तरमा जनताबाट राम्रै जवाफ पाउने छन्, पाइरहेकै पनि छन् । एउटा जिम्मेबार पत्रकारले जनतामा सही सूचना प्रवाह गर्नुपर्छ । झुटा, भ्रामक सूचना प्रकाशन-प्रसारणले पत्रकारको विश्वसनीयतामा प्रश्नमात्र खडा गर्दैन, समाजलाई गहिरो अन्धकारतर्फ धकेलिदिन्छ ।