‘इमोशनल लिटरेसी’मा काम गरौँ

‘इमोशनल लिटरेसी’मा काम गरौँ


मानिसको जीवनमा धेरै कुराले महत्व राख्छ, त्यसमध्ये सबैभन्दा बढी भावनात्मक सुरक्षा र असुरक्षाले राख्छ । विश्वमा धेरै घटनाहरू भावनात्मक असुरक्षाका कारण भएका छन् । सर्वसाधारणदेखि धेरै ठुला ओहदामा पुगेकाहरू सम्मलाई भावनात्मक स्वास्थ्य र सुरक्षाले फरक पारिरहेको हुन्छ । मान्छेको मन र मष्तिष्कमा कतिबेला के कुरा झट्ट आउँछ भन्नै सकिन्न । एउटा काम गर्दागर्दै मष्तिष्कमा अर्कै कुरा आइदिन सक्छ । महाभारतमा उल्लेख भएअनुसार यक्ष प्रश्नमा युधिष्ठिरलाई यक्षले गरेका प्रश्न मध्ये एक थियो- ‘यो संसारमा सबैभन्दा तीव्र गतिमा दौडिन सक्ने के हो ?’ युधिष्ठिरको जवाफ थियो- ‘मन’ ! मन र मष्तिष्कको तालमेल गर्न सकिएन भने जीवनको बाटो असहज हुनपनि सक्छ । तथापि, जीवनमा कहिले मन हाबी भइरहेको हुन्छ त कहिले मष्तिष्क । कहिलेकाहीँ मनले गर भनेको कुरा मष्तिष्कले रोकिदिन्छ, कहिले मष्तिष्कले निर्देश गरेको कुरा मनले यो त हुँदैन भनिदिन्छ । हामीले गहिरिएर नसोचेका मात्रै हौँ, यस्तो हामीलाई जीवनमा पटक-पटक पर्दै आएको छ ।

देशको प्रधानमन्त्री हुन या राष्ट्रपति, सार्वजनिक जीवन बाँचिरहेको मानिस होस् या नितान्त ब्यक्तिगत जीवन बाँचिरहेका मानि, तपाईं कस्तो ‘स्टेट आफ माइण्ड’मा हुनुहुन्छ भन्ने कुराले अर्थ राख्छ । तपाईंको ‘इमोशनल हेल्थ’ राम्रो छैन भने तपाईंले गर्ने निर्णयहरू गलत पनि हुनसक्छन् । रुनु, हाँस्नु, पीडा या खुशी महसूस गर्नु इमोशन अर्थात् भावनात्मक अवस्थासँग जोडिएका कुरा हुन् । मानिसको जीवनमा कुनै न कुनै प्रकारको भावनात्मक दुःख या खुशी चलिरहेकै हुन्छ । वरिपरि हतियारले सुसज्जित सुरक्षाकर्मीका साथमा हिँडेका राष्ट्र या सरकारप्रमुख, सेना या प्रहरीप्रमुख, मन्त्री या यस्तै ओहदामा हुँदैमा ती मानिस भावनात्मकरूपमा सुरक्षित छन् भन्न मिल्दैन । चोट, पीडा या खुशीबाट मुक्त मान्छे भेट्न गाह्रो छ । जति सुख भोग्ने ठाउँमा पुगोस्, यदि उसले सानो छँदा धेरै दुःख पाएको रहेछ भने ति दृष्यहरू बाट उ टाढा रहन सक्दैन । भावनात्मक स्वतन्त्रता मानिसको जीवनमा निकै ठुलो कुरा हो । दुःख, सुख, खुशी, पीडालगायतका कुरालाई ब्यवस्थापन गर्न सक्नु भावनात्मक स्वतन्त्रता हो । जुन ठाउँसम्म पुग्न मानिसले धेरै ठुलो मेहनत गर्नुपर्ने हुन्छ ।

मनमा परेको चोटलाई कसरी ब्यवस्थापन गर्ने ? जीवनमा सहनै गाह्रो हुनेगरी अकस्मातै केही कुरा आइलाग्यो भने कसरी सम्हालिने ? नकारात्मक प्रतिक्रियालाई कसरी हेण्डिल गर्ने ? अरुले नराम्रो गरे भने त उनीहरूलाई रोक्न दायरा बनाउँला, आफूले आफैलाई नराम्रो गर्दा त्यस्ता कुरालाई रोक्नका लागि सीमा कसरी तय गर्ने ? तारबार कसरी लाउने ? प्रायः हामी अरुले आफूमाथि गरेको नराम्रो ब्यवहारको चर्चा गर्छौं । तर आफूले आफैलाई हानी हुने काम कति गरिरहेका हुन्छौँ, जसको चर्चा हामी गर्दैनौँ । भावनात्मक साक्षरता अर्थात् ‘इमोशनल लिटरेसी’भित्र यी र यस्तै कुराहरू पर्छन् ।

हामी प्रायः मिडिया लिटरेसी, डिजिटल लिटरेसी, फाइनान्सियल लिटरेसी लगायतका कुरामा चर्चा गरिरहेका हुन्छौँ । तर, इमोशनल लिटरेसीको कुरा गर्दैनौँ । विगतमा धेरै आवश्यक थिएन होला तर समयक्रममा अहिले परिवारसँगै भएको मानिसले पनि एक्लो महसूस गर्दै जीवन समाप्तिसम्मको गलत निर्णय लिएका घटनाहरू बढ्दै गएकाले भावनात्मक साक्षरताको आवश्यकता देखिएको छ ।

आफूलाई के भइरहेको छ, कस्तो कुराले असर गरिरहेको छ भन्ने कुरा थाहा पाउनु, बुझ्नु, ब्यक्त गर्नु, ब्यवस्थापन गर्नु जस्ता कुराको जानकारी भावनात्मक साक्षरताभित्र पर्छन् । दुःख, सुख, खुशी मात्र होइन रीस, इर्ष्या, डर, भय, त्रास सबै भावनात्मक कुरा हुन् । मृत्युको त्रास, आफन्त या आफ्नो नजिकको मान्छे गुमाउने भय, असफलताको डर जीवनमा केही न केही त भइ नै रहेको हुन्छ । सफलता र असफलता कुनै पद या ओहदासँग नभएर तिमीले यो संसारलाई हेर्ने दष्टिकोणसँग सम्बन्धित छ भनेर बुझाउने मान्छे कमै भेटिन्छन् । कसैलाई ठुला-ठुला पदमा पुग्दा यो केवल उत्तरदायित्व मात्रै हो भन्ने लाग्नसक्छ । कतिलाई त्यही ठाउँ पुग्दा संसारै पाएझैँ लाग्न सक्छ । तपाईं कुन धरातलमा उभिएर सोच्नुहुन्छ त्यसमा भर पर्छ । जिन्दगीमा अहिलेसम्म लागेको सबैभन्दा गाह्रो कुरा मानिसको सोच बदल्नु नै हो । हामीले धेरै कुरामा काम गऱ्यौँ, गरिरहेका छौँ, अब सोचमा काम गर्नु आवश्यक छ ।

जिन्दगीमा असाध्यै दुःख हुँदा कसरी सहने, जीवनमा अकस्मातै के-कस्तासम्म नसोचका कुराहरू आइपर्न सक्छन् भन्ने कुरा बुझाउन र मानसिक रूपले तयार गराउन हाम्रा पुर्खाले विभिन्न कथाको सिर्जना गर्थे । राजा-महाराजाहरूले कसरी सडकको बास भोग्नु पऱ्यो भन्ने सन्देश दिने जीवनीहरू तयार गर्थे । भर्तृहरिको कथा होस् या सुनकेशरी रानीको यी सबै दुखलाई ब्यवस्थापन गर्न सिकाउने सिर्जना हुन् । त्यतिबेला अहिलेजस्तो पाठ्यक्रम नै बनाएर पढाउने स्कुल-कलेजहरू थिएनन्, तर अहिले छन् । भावनात्मक साक्षरता स्कुलको पाठ्यक्रममै राख्नु आवश्यक छ । सानैदेखि सिकायो भने परिस्थिति सहाल्न मानिसलाई त्यति कठिन हुँदैन जति कठिनाइ एक्कासी आइलाग्दा पर्छ ।

स्वचेतना, स्वजागरण जस्ता कुराहरूले हाम्रा पाठ्यक्रममा स्थान पाएका छैनन् । ‘स्वास्थ्य शिक्षा’मा पनि हामीकहाँ प्रायः शारीरिक स्वास्थ्य पढाइन्छ । भावना, मानसिकता जस्ता कुराहरू भन्दा शरीरलाई महत्व दिइएको छ । शरीरको बारेमा जान्नु आवश्यक छ, साथै भावनात्मक र मानसिक स्वास्थ्यलाई पनि महत्व दिनु त्यत्तिकै जरुरी छ । प्रायः लेख्ने, बोल्ने गरेको कुरा एक पल्ट फेरि दोहोऱ्याउँछु- हामीलाई सानैदेखि अरुलाई कस्तो ब्यवहार गर्नुपर्छ भनेर सिकाइयो तर आफैसँग कस्तो ब्यवहार गर्ने भन्ने सिकाइएन । फलतः हामी आफूले आफैलाई जोखिममा पुऱ्याउने क्रियाकलाप गरिरहेका हुन्छौँ । भावनात्मक साक्षरतामा आफूले आफैलाई गर्ने ब्यवहार प्रमुखरूपमा रहन्छ । राम्रो र सहज बनाइसकेपछि आफूलाई जे गर्दा राम्रो लाग्छ अरुलाई त्यस्तै ब्यवहार गरे भइहाल्यो । जुन कुरा घर, पाठशाला, कुराकानी, छलफल सबैतिर चर्चा गर्दा हुन्छ ।

तपाईं-हामीमध्ये जो-कोही जति ठुलो र शक्तिशाली पदमा पुगेपनि, जति धेरै नाम कमाएपनि आफ्नो भावनालाई नियन्त्रण गर्न सकेनौँ भने सबैभन्दा कमजोर मानिस हौँ । भावनालाई नियन्त्रण गर्न र मानसिकरूपले सवल हुनका लागि प्रत्येक दिन आफूले आफैमा काम गर्नुपर्ने हुन्छ । अरुलाई यस्तो बन्नुपर्छ उस्तो बन्नुपर्छ भनेर उपदेश दिन सजिलो भएपनि आफूले आफैलाई बनाउन त्यति सहज भने छैन । सकारात्मक ब्यवहार अरुलाई मात्र होइन आफैलाई पनि गर्नुपर्छ । बिहानैदेखि मन र मष्तिष्कमा राम्रा-राम्रा सोचहरू ल्याउनु, अरुलाई दुःख हुने काम नगर्नु पनि आफूलाई राम्रो गर्नु हो । लामो समय न्युयोर्क टाइम्समा साइन्स जर्नलिष्टको रूपमा काम गरेका इमोशनल इन्टेलिजेन्स पुस्तकका लेखक डानियल गोलम्यानले भनेका छन्, ‘पैसाले मात्रै जिन्दगी सहज हुँदैन । साथमा धन, सम्पत्ति टन्नै हुनेहरूले पनि आफूले आफैलाई प्रेरित गरिरहनु पर्छ, आफूवरिपरिको परिवेश सौहार्द्धपूर्ण नहुञ्जेलसम्म जीवन सहज हुँदैन । त्यो परिवेश बनाउनेचाहिँ आफूले नै हो ।’

अन्त्यमा, देशका लागि राजनीतिक स्थिरता जति आवश्यक छ, मानिसको जीवनमा भावनात्मक स्थिरता त्यत्तिकै जरुरी छ । भावनात्मक स्थिरताका लागि हरेक तह र तप्कामा छलफल गरौँ, स्थानीय तहदेखि नै भावनात्मक साक्षरताको सुरुवात गरौँ ।