कुण्ठा र सङ्कीर्णताको चपेटामा ‘श्री ५’

कुण्ठा र सङ्कीर्णताको चपेटामा ‘श्री ५’


हामी खै कसरी गर्वले चिच्याउने हिम्मत गर्छौं कि महामानव गौतम बुद्ध नेपालमा जन्मनुभएको हो ! जबकि आज हामी विश्वकै सबैभन्दा न्यून स्तरको विवेक भएका नागरिकको सूचीमा परेको खबर सुन्नुपर्दा लज्जाले शिर झुकाउनुपर्ने अवस्थामा पुगेका छौँ ।

शास्त्र र विधिले ऋषिमुनिको आशीर्वाद प्राप्त महाराजाहरूले निर्माण गरेर कसैको गुलाम नबनी सुरक्षित राखेको पारिवारिक सञ्जालमा बाँधिएको यो तपोभूमि नेपालको संयुक्त परिवार सामाजिक विशिष्टता अलौकिक सनातनी धार्मिक सांस्कृतिक धरोहर ध्वस्त नास्तिकताका पुजारीहरू खेताला बनाइयो र, विश्वकै मौलिक धार्मिक-सांस्कृतिक र सामाजिक अलौकिक विशेषता भएको एउटा सुन्दर मालारुपी नेपाल अनेक बहानामा धुजा-धुजा तुल्याइँदैछ. । आज देशका भविष्यका ध्रुवतारा युवा-युवतीलाई श्रमिक बनाइ बेचेर खानुपर्ने अमानविय एवम् दरिद्र मनोविज्ञानले ग्रस्त राज्य ब्यवस्था स्थापना भएको छ । भ्रष्टाचार, अनियमितता, दण्डहीनता, अस्थिरता, अपराध, अशान्ति, बेथितिको कालो बादलले देशलाई ढाकेको छ ।

प्रसङ्ग जोडौँ तत्कालिन महाराजाधिराज श्री ५ ज्ञानेन्द्र जो त्याग र धर्यताको प्रतिमूर्ति पनि हुन्- उनले हाँसी-हाँसी कसैलाई दोष नदिइकन दरबार त्यागेर निस्कँदै गर्दा साँच्चै उनमा केही न केही बुद्धत्व रहेको महसूस पङ्क्तिकारले गरेको थियो । तत्कालिन अवस्थामा कुनै तहको निर्वाचन हुन नसकेको, अशान्ति हत्या-हिंसा, भ्रष्टाचारको अन्त्य गरी २ वर्षभित्रमा निर्वाचित जनप्रतिनिधिलाई सत्ताको साँचो सुम्पिन्छु भनेर प्रतिबद्धता जनाएकै थिए । तत्कालिन श्री ५ ज्ञानेन्द्रको गल्ती के थियो ? उनको उद्देश्य सकारात्मक थियो तर एक्ला बृहस्पति हुन पुगे । असफल हुन पुगे । जनताको माग स्वीकार गर्दै सहजताको लागि असंवैधानिक तरिकाले भएपनि सदन पुनर्स्थापना गरिदिएका थिए । यस्ता सकारात्मक सोचका धनी त्यागी राजा विश्वमा बिरलै पाइन्छ । दुर्भाग्य ! ‘सम्झौता’ धोखामा परिणत भयो । उनी निषेध र प्रतिशोधको शिकार हुन पुगे । त्यसपछि नेपाल दिनदिनै असफलतातर्फ उन्मुख भइरहेको छ ।

हिंसात्मक विद्रोहमार्फत भएको परिवर्तन जनअपेक्षाको प्रतिकुल प्रमाणित भएको छ । नेतृत्व र पद्धति असफल र अफाप सिद्ध भइसकेको छ । त्यसैकारण आज ‘श्री ५’लाई विस्थापन गरेको डेढ दशकपछि शहरका सडकमा, गाउँका बस्ती-बस्तीमा ‘श्री ५ आऊ देश बचाउ’को नारा घन्किएको हो । नेपालको राजसंस्था फगत एक राजनैतिक पद नभएर हाम्रो धार्मिक सांस्कृतिक सामाजिक परम्पराको वा पुर्वीय सभ्यताको एउटा अखण्ड संस्कृतिको प्रतिनिधि पनि हो । राजा नजोडिएको कुनै जात्रा पर्ब चाडबाड छैन । हाम्रो समाजको राजा भनेको शाहवंश वा नेपालीको मात्र नभएर पौने अर्ब सनातनीहरूको सांस्कृतिक आस्था जोडिएको वा भावनात्मक सम्बन्ध रहेको प्रतिनिधि-संस्था हो । विश्वका धेरै देशहरू झैँ नेपाल राष्ट्रको निर्माण पनि र संरक्षण पनि राजाहरूले गर्दै आएका हुन् । राजा श्री ५ ज्ञानेन्द्र वा अन्य कुनै नाम नभएर यो राष्ट्रको गौरवशाली पहिचानको धरोहर पनि हो । एउटा जीवन्त इतिहास पनि हो । जापान बेलायत नर्वे लगायत ५३ भन्दा बढी सम्पन्न शान्त देशहरूले यसको ऐतिहासिक महत्व एवम् अस्तित्वलाई आत्मसात गरेर स-सम्मान स्थान दिएका हुन् । राजाहरूले राष्ट्रको स्वाभिमानलाई उच्च राख्न ठुलो सङ्घर्ष गरेका छन् ।

नेपालको राजसंस्था लोकतन्त्रप्रति उदार छ, सहिष्णु छ । ज्युँदा साक्षी अझै छन्, स्वयम् राजा महेन्द्र जसलाई हामी लोकतन्त्रको घाँटी निमोठेको आरोप लगाउने गर्छौं, उनी पनि लोकतान्त्रिक संविधान तयार पार्दै थिए, तर दैवले छिट्टै लग्यो । राजा वीरेन्द्रले ०३६, ०४६ मा सदासयता देखाएका नै हुन् । राजा ज्ञानेन्द्रले पनि त असंवैधानिकरूपमै भएपनि सदन पुनर्स्थापना गर्ने महानता देखाएकै हुन् नि ! नेपालको श्री ५ महाराज धिराजलाई ‘निषेध र प्रतिशोध’को शिकार हुनु नपर्ने हो । गणतन्त्रको हिमायती प्रचण्ड-मण्डलीले आजको सत्ता मनोरञ्जनको अवसर पाएको पनि उनै राजा वीरेन्द्र र ज्ञानेन्द्रको सदासयता तथा उदारताको कारण होइन र ? राजा नहुँदा हुन् त गिरिजाले के बाँकी राख्थे ? गिरिजाले तत्कालिन हिंसात्मक विद्रोहीविरुद्ध सेना लगाउन खोज्दा उनै राजाले रोकेका कारण सशस्त्र प्रहरी गठन भएको होइन र ?

वर्तमान अवस्थाले राजाको अनिबार्य आवश्यकता झनै टड्कारो भएको महसूस गराइरहेको छ । अहिले बिपी कोइराला र मदन भण्डारी प्रवृत्तिको नेतृत्वको पनि आवश्यक भएको छ जो सत्ताभन्दा देशलाई महत्व दिने विवेकशील एवम् परिपक्व सोच राख्थे । राजसंस्था नेपालको इतिहास गौरव पहिचान धार्मिक सांस्कृतिक एवम् सामाजिक परम्पराको एउटा जीवन्त अङ्ग हो । त्यसैले तत्कालिन श्री ५ महाराजाधिराज ज्ञानेन्द्र सरकार झैँ शालीनता, त्याग, देश र जनताप्रतिको विवेक र जिम्मेवारीपूर्ण ब्यवहारको अनुशरण गरी राजनैतिक दल वा नेतृत्वहरूले राष्ट्रिय एकता, स्वाधीनता, स्वतन्त्र अस्तित्व र स्थायित्वको रक्षार्थ नेपालको अभिभावकीय एवम् सनातनी सांस्कृतिक पहिचानको स्तम्भको रूपमा स्थान दिनु बुद्धिमानी राजनीति हुन्छ । राजसंस्थाविरुद्ध सङ्कीर्णता र कुण्ठा अनि निषेध र प्रतिशोधको सोच त्यागेर एक ठाउँमा बसी नयाँ राजनैतिक मार्ग निर्माण गर्नु अनिबार्य देखिन्छ ।

एकपटक यता पनि हेरौँ राजा सनातनी वा पूर्वीय सभ्यताको सांस्कृतिक पहिचान पनि हुन् । प्रायः यूरोपियन मुलुकहरू लगायत थाइल्याण्ड, जापान, भुटानले मात्र राष्ट्रिय पहिचानको प्रतीकको रूपमा निरन्तरता दिएका छैनन् हाम्रो छिमेकी गणतान्त्रिक भारतमा अझै पनि दर्जनौँ तात्कालीन राजसंस्थालाई उनीहरूको पुरानै ‘रेगल लेजेन्सी’मा ससम्मान सुरक्षित राखेको छ । राजा-महाराजाहरूको नाममा रहेका हज्जारौँ स्थान प्रतिष्ठान शालिकहरूको सुरक्षा र नवनिर्माण समेत हुँदै गरेको छ । यो इतिहासप्रति गर्व र रक्षा गर्नुपर्ने चेतको प्रतिफल नै हो । भारतमा अझै लोयल लेजेन्सीमा रहेका राजदरबारहरू यसप्रकार छन्- १. मेवार डाइनेस्टी राजपरिवार, २. अलसिसार राजपरिवार, ३. जयपुर राजपरिवार, ४. वादीयर राजपरिवार, ५. राजकोट राजपरिवार, ६. जोधपुर राजपरिवार, ७. गेकवाडा बरोड़ा राजपरिवार, ८. ट्राभनसर राजपरिवार, ९. बिकानेर राजपरिवार, १०. पतौडी राजपरिवार । यसअलावा बिहारदेखि कास्मिरसम्मका राजदरबारमा अहिले पनि राजपरिवारहरू बसिराखेका छन्, तर हामीचाहिँ यस्तो असहिष्णु, कुण्ठित, परपीडक भयौँ कि ज्युँदो इतिहासको सम्मान र रक्षा गर्न सङ्कीर्णता देखाइरहेका छौँ । ती राजपरिवार (राजसंस्था)हरूको आफ्ना तत्कालिन विशेष झण्डा, तिनले प्रयोग गरेका गाडीको विशेष दर्ता प्लेट आफ्ना मन्त्री, भाइभारदार र सुरक्षा इकाई रहेका छन् । केही विशेष प्रकारको राजस्व राजदरबारले नै उठाउने गर्छ र राज्यले कर तिर्छ । दर्जनौँ विद्यालय अस्पताल निर्माण र सेवालगायत सामाजिक सेवामा आफ्नै सम्पति खर्च गर्ने गर्छन् । र, उही परम्परागत शैलीमा दरबारको आफ्नो झण्डा बिहान राख्ने र साँझ झिक्ने गरिन्छ । बेलायतीले ध्वस्त पार्न नसकेका यी राजपरिवारलाई भारतले ससम्मान सुरक्षित राखेको छ ।

तर नेपाल ? जसको पुर्खाले यो गौरवशाली देश निर्माण गर्‍यो, अनेकौँ संघर्ष गरी यसको अस्तित्व बचाइराख्न सफल भयो । विदेशीको गुलाम हुनबाट जोगायो । सकसपूर्ण संघर्ष गरी विकासको पूर्वाधार खडा गर्‍यो । धार्मिक, सांस्कृतिक, सामाजिक मुल्य र मान्यताको रक्षा गर्‍यो । त्यो शाह बंशले स्थान नपाउने ? निषेध, प्रतिशोध र असहिष्णुताको शिकार हुनुपर्ने ? यसरी इतिहास मेट्न पाइन्छ र ? नेपालमा ‘श्री ५’ लाई सम्मानका साथ सांस्कृतिक धरोहरको राजपरिवारका रुपमा नारायणहिटीमा राख्दा विश्वमा नेपालको इज्जत बढ्छ, घट्दैन । हामीले कुण्ठा र सङ्कीर्णता त्याग्न सक्नुपर्छ । सम्झौताको एउटा पक्षलाई भएको धोखा अब सच्याउनुपर्छ ।