स्वदेशमा कृषिको दुर्दशा, रोजगारीको खडेरी र बेरोजगारी एवम् विदेश पलायनले राष्ट्रको भविष्यलाई सन्देहको खाडलमा धकेल्दैछ । युवाको जोश, सीप र शक्तिलाई देशमै प्रयोग गरी आयआर्जनको वातावरण सिर्जना गर्न सकिएमा मात्र आत्मनिर्भर र स्वाभिमानपूर्ण नेपाल सम्भव हुनेछ ।
✍ राजबाबु शंकर
राष्ट्र निर्माणमा राज्य र नागरिक दुवैको भूमिका हुन्छ । तर, योजनाको नेतृत्व र कार्यान्वयनको जिम्मेवारी मुख्यतः राज्यकै हुन्छ । जनशक्तिको उपयुक्त व्यवस्थापन र प्रयोग बिनाको देश विकास असम्भव हुन्छ । नेपालमा प्रजातन्त्र स्थापना भएदेखि नै विकास र सुशासनको अपेक्षा गरिए पनि ती अपेक्षाहरू पूर्ण रूपमा पूरा हुन सकेका छैनन् । विशेषतः युवा पुस्ताले निराशाजनक अवस्था भोग्नु परेको छ- बेरोजगारी, अवसरको अभाव र विदेश पलायनको अवस्थाले राष्ट्रिय भविष्यप्रति प्रश्न खडा गरिरहेको छ ।
नेपालका शिक्षित, सीपयुक्त र ऊर्जाशील युवाहरू देशभित्र अवसर नपाएर विदेश पलायन हुन बाध्य छन् । गाउँघरमा कृषियोग्य जग्गाहरू बाँझा छन्, तर ती खेतमा काम गर्ने हातहरू छैनन् । उर्वर भूमिमा उत्पादन गर्ने सम्भावना र पौरख हुँदाहुँदै पनि युवाहरू विदेशमा श्रम बेच्न विवश छन् । किनभने, अवसरको अभावले गर्दा युवाले देशमा भविष्य देख्न सकेका छैनन् ।
राज्यले कृषि आधुनिकीकरणको कुरा त गर्छ । तर, व्यवहारमा नीति र कार्यान्वयनबीच गहिरो खाडल छ । अनुदान वितरण, तालिम, प्रविधि हस्तान्तरण सबै राजनीतिक पहुँचको भरमा भएको देखिन्छ । वैज्ञानिक कृषि प्रणाली, यान्त्रिकीकरण र व्यावसायीकरण अझै पहुँचमा छैनन् । कृषिमा खर्च हुने अर्बौं रकमले न आजसम्मन् स्वरोजगार सिर्जना गर्न सकेको छ न त कृषकको जीवनस्तर उकास्न !
तथापि कृषि, पशुपालन, पर्यटन र स्थानीय उद्यमशीलतालाई नै रोजगारी सिर्जनाको माध्यम बनाइनु भने आवश्यक छ । हरेक स्थानीय तहमा तालिम, प्रयोगशाला, अनुसन्धान तथा बजार प्रणाली विकास गरेर युवालाई सीपमूलक र व्यावसायिक बनाइनु जरुरी छ । आधुनिक कृषि प्रविधि, उत्पादनमा आधारित उद्योगहरू र कृषि शिक्षाको विस्तारद्वारा नै आत्मनिर्भरता सम्भव छ । कृषिविज्ञ, वैज्ञानिक र उद्यमशील युवालाई चीन, इजरायल, न्युजिल्याण्डको कृषि मोडेललाई अनुकरण गर्नु पर्छ । ती सबैलाई योजनाको मूल प्रवाहमा सरिक गराउँदै युवालाई स्वदेशमै आत्मनिर्भर बनाउने वातावरण सिर्जना गर्न दीर्घकालीन नीतिहरू अख्तियार गरिनु पर्दछ ।
निष्कर्षमा के भन्न सकिन्छ भने, नेपालमा राजनीतिक परिवर्तन भए पनि आम जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन आउन सकेको छैन । स्वदेशमा कृषिको दुर्दशा, रोजगारीको खडेरी र बेरोजगारी एवम् विदेश पलायनले राष्ट्रको भविष्यलाई सन्देहको खाडलमा धकेल्दैछ । युवाको जोश, सीप र शक्तिलाई देशमै प्रयोग गरी आयआर्जनको वातावरण सिर्जना गर्न सकिएमा मात्र आत्मनिर्भर र स्वाभिमानपूर्ण नेपाल सम्भव हुनेछ । त्यसैले अब वाहियात गफ र राजनीतिका नाममा ‘चटक’ देखाउने होइन, काम गरेर देखाउने चुनौती छ- बेला यही हो ।
प्रतिक्रिया