एमाले राजनीतिमा विद्यादेवी भण्डारीको औपचारिक प्रवेशपछि राष्ट्रिय राजनीतिमा नौलो तरंग थपिएको छ । कांग्रेसका वरिष्ठ नेता डा. शेखरले यो सरकारबाट भइरहेका खुलेआम भ्रष्टाचार र अनियमितताका विरुद्ध सघाउन एमाले नेतृ विद्यालाई आग्रह गर्नु र विद्याले त्यो गर्ने वचन दिनुले पनि कांग्रेस-एमालेको यो सत्ता-गठबन्धन विरुद्ध खिचडी पाकिरहेको प्रष्ट हुन्छ ।
✍ राजेश ढुंगाना
वर्तमानमा एमाले र नेपाली कांग्रेसको गठबन्धन विरुद्धको माहोल ह्वात्तैसँग चुलिएको छ । एकातर्फ, उपेन्द्र यादवको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने स्वयम् गठबन्धन सरकारका साझेदार कांग्रेस-एमालेभित्र पनि गठबन्धन र यसको नेतृत्वप्रति असन्तुष्टि र आक्रोश स्पष्ट रुपमा देखिन थालेको छ ।
कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले निकै पहिलेदेखि यो गठबन्धनप्रति मसिनो स्वरमा भए पनि असन्तोष र असन्तुष्टि जनाएकै हुन् । तर, यतिबेला उनको त्यो विरोधको स्वर अत्यन्त तीक्ष्ण, तिखो र स्पष्ट भएको छ ।
प्रमुख प्रतिपक्ष भएकाले माओवादीको धर्म नै हो, भइरहेको सरकार जुनसुकै संवैधानिक उपाय र दबाबले ढाल्न खोज्नु । वर्तमान गठबन्धन बनेदेखि नै उसले त्यो गरिरहेकै छ । ऊसँगै संसद्मा २१ सिट लिएर गतिलो उपस्थिति जनाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि स्वाभाविक रुपमा यो गठबन्धनविरुद्ध हुने भइहाल्यो ।
यो गठबन्धन सरकार अन्य सबैतिर असफल भइसकेको मात्र होइन, स्वयम् मन्त्रीहरू नै एकपछि अर्काे गर्दै भ्रष्टाचार र अनियमितता काण्डमा नांगेझार भएपछि कांग्रेस-एमाले गठबन्धनको ओली सरकार जनताको आँखामा गिरिसकेको छ । अब संसद्बाट औपचारिक रूपमा गिर्न मात्र बाँकी छ ।
यो गठबन्धन बनेको एक वर्ष मात्र भएको छ । तर, यो स्यानै समयमा यो सरकारको चौतर्फी बदनामी र आलोचनाको मात्रा र आयतन भने १० वर्षभन्दा माथिको भयो । यसउसले अब यो सरकारको आयु सकिएको संकेत आउन थालेको छ ।
सत्ता साझेदार दल नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले हालै मात्र प्रमुख प्रतिपक्षी दल माओवादीलाई सार्वजनिक रुपमै यो गठबन्धन भत्काउन स्पष्ट आग्रह गरिसक्नुभएको छ । यसले के बताउँदछ भने यो गठबन्धन विरुद्ध कांग्रेसको एउटा ठूलो हिस्सा स्पष्टतः विरोधमा उत्रने पक्का छ ।
अर्कातर्फ, एमाले राजनीतिमा विद्यादेवी भण्डारीको औपचारिक प्रवेशपछि एमालेको आन्तरिक राजनीतिमा नयाँ प्रकारको तरंग आउनु स्वाभाविकै हो । त्यससँगै राष्ट्रिय राजनीतिमा समेत नौलो तरंग थपिएको छ । वरिष्ठ नेता डा. शेखरले यो सरकारबाट भइरहेका खुलेआम भ्रष्टाचार र अनियमितताका विरुद्ध सघाउन एमाले नेतृ विद्यालाई आग्रह गर्नु र विद्याले त्यो गर्ने वचन दिनुले पनि कांग्रेस-एमालेको यो सत्ता-गठबन्धन विरुद्ध खिचडी पाकिरहेको प्रष्ट हुन्छ ।
देउवालाई पार्टीभित्र कोइरालाले दिइरहेको गतिलो र सशक्त चुनौति र विद्याको एमालेमा सक्रियतापछि यो गठबन्धन त्यसै पनि मकैको ढोँडको तोक्मा भएको छ । ढोँडले थेग्न-थाम्न सक्ने पनि भएन र अब गर्लम्मसँग ढल्न मात्र बाँकी छ ।
प्रतिक्रिया