सत्ताप्राप्तिको साधन मात्र हो समाजवाद ?

सत्ताप्राप्तिको साधन मात्र हो समाजवाद ?


नेपालको राजनीतिक इतिहासमा विश्वेश्वरप्रसाद कोइराला, अर्थात् बीपी, त्यो व्यक्तित्व हुन् जसले लोकतन्त्रको पक्षमा लडे र समाजवादलाई नेपाली माटोमा रोप्ने प्रयास गरे । उनको समाजवाद सत्ताप्राप्तिको साधन थिएन, बरु गरिब, श्रमजीवी र सीमान्तकृत जनताको मुक्ति र आत्मसम्मानका लागि बनाइएको विचार थियो । तर, आजको यथार्थ कस्तो छ ? बीपीको नाममा राजनीति गरिँदैछ, तर व्यवहारमा उनकै विचारहरूको हत्या भइरहेको छ । समाजवादको नाममा सुविधाभोग, अवसरवाद र विचारको अपहरण भैरहेको छ । प्रश्न उठ्छ- के हाम्रा समाजवादी नेताहरू साँच्चै समाजवादप्रति प्रतिबद्ध छन् ? कि यो केवल पद, पैसा र पहुँचको भर्‍याङ हो ?

बीपीले भनेका थिए- ‘समाजवाद भनेको गरिबको पक्षमा खडा हुने विचार हो, व्यक्तिको स्वतन्त्रता र सामाजिक न्यायसँगै सुनिश्चित गर्ने बाटो हो ।’ उनले समाजवादलाई कहिल्यै अधिनायकवादको पर्याय बनाएनन्, न विदेशी नक्कलका रूपमा स्वीकार गरे । उनको समाजवाद नेपाली समाजको संरचना, संस्कृति र यथार्थसँग गाँसिएको थियो । जसले भन्छ- ‘लोकतन्त्रबिना समाजवाद सम्भव छैन ।’

बीपीका नजिकका अनुयायी सीके प्रसाईं जस्ता विचारकहरूले बारम्बार स्मरण गराए- ‘बीपीको समाजवाद अनुभवमा आधारित थियो, दर्शनमा मात्र होइन ।’ सीके प्रसाईंका दृष्टिमा बीपीले समाज बुझ्न किताब पढेनन्, गाउँमा घुमेर, जनताको दुःखमा रमाएर, बिचल्ली भएको किसान र श्रमिकको हात समाएर समाजवाद बुझे । समाजवाद त्यसैले क्रान्तिको चर्का नाराभन्दा सहानुभूतिको शक्ति थियो ।

यस्तै, समाजवादी चिन्तक प्रदीप गिरीका अनुसार, ‘बीपी सर्जक समाजवादी थिए ।’ उनको धारणा थियो- समाजवाद न सर्वहारा अधिनायकवाद हो न त बुर्जुवा सम्झौतावाद । त्यो त समता, न्याय र स्वतन्त्रताको त्रिकोणमा उभिएको जीवनदर्शन हो । प्रदीप गिरीले चेतावनी दिएका थिए- ‘समाजवाद व्यक्तिको अधिकार र गरिमालाई खोसेर होइन, त्यसको संरक्षण गरेर मात्र सम्भव छ ।’ यो बीपी विचार हो । तर, यी तीनै जना आज हाम्रोसामु भौतिक उपस्थितिमा छैनन् ।

बीपीको समाजवादी विचारले अन्तर्राष्ट्रिय स्वीकृति प्राप्त गरेको थियो । उनी सन् १९७० को दशकमा Socialist Internationalको उपाध्यक्ष बनेका थिए । यो संस्था विश्वका समाजवादी र प्रगतिशील दलहरूको साझा छाता संगठन थियो, जसले लोकतन्त्र, सामाजिक न्याय र मानव अधिकारको प्रवर्द्धन गर्छ । बीपीले नेपाल जस्तो सानो राष्ट्रको नेताले त्यस्तो अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नु नेपाली समाजवादी आन्दोलनको गौरव हो । तर दुर्भाग्य, आज यही गौरवलाई भजाएर समाजवादविरुद्ध गतिविधि बढिरहेका छन्।

आजका तथाकथित समाजवादी नेताहरू बीपीको नाम लिन्छन्, उहाँका तस्बिर टाँस्छन्, भाषणमा समाजवादको महिमा गान गर्छन् । तर व्यवहारमा उनीहरू ठूला उद्योगी-व्यापारीसँग साँठगाँठ गर्छन्, दलाली र कमिशनबाट कमाइ गर्छन्, श्रमिक र किसानको अधिकार कटौती हुने नीतिमा समर्थन जनाउँछन् । उनीहरूको जीवनशैली पूँजीवादी विलासितामा डुबेको छ । बालुवाटारको नजिक रहनु नै उनीहरूका लागि समाजवाद भएको छ । यस्तो अवस्थामा प्रश्न उठ्छ- समाजवाद सत्ताको साधन मात्र हो त ? बीपीको नाम लिनेहरूलाई बीपीले भन्ने गरेका शब्द सम्झन जरुरी छ- ‘क्रान्तिको नेतृत्व गर्न चाहनेले सर्वप्रथम त्याग गर्न सिक्नुपर्छ।’

त्यसैले आज जनता समाजवादप्रति शंकालु बनेका छन् । आज समाजवाद भनेको भाषणको चुरा हो, घोषणापत्रको फूल हो, जुन चुनाव सकिएपछि ओइलाउँछ । नेताहरूको भाषामा समाजवाद अझै बाँच्छ, तर व्यवहारमा त्यसको मृत्यु भइसकेको छ । बीपीको समाजवाद सडकमै छोडिएको छ, त्यसको हावा चिल्ला गाडीभित्र एसी भएको छ ।

तर यो सधैंका लागि यथार्थ होइन । अझै केही समाजवादी अभियन्ताहरू छन्, जो बीपीको विचारलाई बोकेर गाउँ-गाउँ पुगिरहेका छन्, युवाहरूलाई पढाइरहेका छन्, जनताको मुक्ति विचारबाट मात्र सम्भव छ भन्ने चेतना फैलाइरहेका छन् । ती अभियन्ताहरूले राजनीति होइन, समाज परिवर्तनलाई ध्येय बनाएका छन् । उनीहरू भन्छन्- बीपीको समाजवाद केवल स्मृति होइन, कर्म हुनुपर्छ।

बीपीले भनेका थिए- ‘राजनीतिक क्रान्ति त भयो, अब सामाजिक क्रान्ति चाहिन्छ ।’ जात, लिङ्ग, वर्ग, क्षेत्रको विभेद अन्त्य बिना समाजवाद अधूरो रहन्छ । आज पनि समाज उही विभेदमा बाँडिएको छ, न्याय पाउनेले पाउँदैन, पाउनेले पनि पैसाले किनेर लिन्छ । यस्तो बेला बीपीको समाजवाद झनै सान्दर्भिक भएको छ।

अन्ततः, बीपीको नाममा राजनीति गर्ने तर व्यवहारमा उनको विचारको हत्या गर्नेहरू सच्चिनुपर्छ। समाजवाद नारामा होइन, आचरणमा प्रकट हुनुपर्छ। जबसम्म नेपाली समाजमा समाजवादीहरू जनतामुखी, सेवाकेन्द्रित र मूल्यमा अडिग हुँदैनन्, तबसम्म बीपीको सपना अधूरो रहन्छ । आजको आवश्यकताको घडी यही हो- बीपीलाई सम्झनु मात्र होइन, उहाँजस्तो बन्ने साहस गर्नु । समाजवादको नयाँ युग त तब सुरू हुन्छ जब हामी समाजका सबै व्यक्तिको समान गरिमा र अवसर सुनिश्चित गर्न सक्षम हुन्छौँ- नत्र ‘बीपी’ भन्ने नाम केवल चुनावी होर्डिङमा सीमित रहन्छ ।

(लेखक नेका झापाका सूचना, सञ्चार तथा प्रचार संयोजक हुन् ।)