कम्युनिस्ट पार्टीका संकीर्ण खालका हर्कतले दलीय राजनीतिमा आक्रोश, आशंका र तीव्र असन्तुष्टि बढाउँदैछ । कम्युनिस्ट नामधारी सबै कम्युनिस्ट पार्टी खासमा कम्युनिस्ट पनि छैनन्, रहेनन् ।
✍ अधिवक्ता डा. प्रेमराज सिलवाल
२०६७ सालमा प्रचण्डको दल नेकपा माओवादीले ‘कुकुरभन्दा ठूलो पुच्छर’ भन्ने उखान चरितार्थ गर्दै पार्टीको विशाल केन्द्रीय कमिटीको निर्माण गऱ्यो । केन्द्रमा छाता आकारको कमिटी निर्माण गऱ्यो । सुरुमा तीन सय उनान्सय सदस्यको केन्द्रिय कमिटी बनायो । सार्वजनिक, बौद्धिक र नागरिक स्तरमा तीव्र आलोचना हुँदाहुँदै फेरि त्यो बढाएर प्रचण्डले तत्कालै चार सय उनान्सय सदस्यको केन्द्रिय कमिटी बनाए । फेरि आकाङ्क्षीको माग र विरोध भयो । त्यही क्रमले बढाउँदै उनले नौ सय उनान्सय सदस्यको कमिटी निर्माण गरे । आन्तरिक विरोध झन् तीव्र भयो । ‘उचाहिँ केन्द्रमा जाने म तल्लै कमिटीमा बस्ने ?’ भन्ने भयो । पछि प्रचण्डले फेरि केन्द्रमा जाने सङ्ख्या बढाउँदै-बढाउँदै तीन हजार नौ सय उनान्सय सदस्यीय बनाए । तर केही समयपछि त्यसलाई विघटन गर्न उनी बाध्य भए । अर्थहीन, औचित्यहीन र विधिसम्मत्त नभएको कार्य फिर्ता हुनुको विकल्प पनि हुन्न । ‘क्रान्ति’ गरेको भनेर सत्ता सञ्चालन समेत गरिसकेको माओवादी पार्टीले गरेको त्यो कार्य राजनीतिक संगठनमा ‘छाता आकार’को पार्टीको निर्माणले कम्युनिस्ट आन्दोेलन र लोकतन्त्रमा कूसंस्कृति निर्माण गऱ्यो । जसले सामाजिक मर्यादा, प्रजातान्त्रिक मूल्य र विश्वव्यापी अभ्यास भत्काइदियो । आखिर त्यो गलत थियो, गलत भयो ।
हाल भएका ठूला पार्टीमध्ये तुलनात्मक रूपमा एमालेले चाहिँ केन्द्रिय कमिटीदेखि पार्टीका संगठनमा निश्चित मापदण्ड, आधार र प्रस्ट वैधानिक व्यवस्था लागु गरेर ‘छाता आकार’को होइन कि ‘पिरामिड आकार’का संगठन निर्माण गर्ने सोचले २०८२ साल साउन ६ गते सम्पन्न केन्द्रीय कमिटीको बैठकबाट प्रस्ताव पास गऱ्यो । पदाधिकारी पनि १९ बाट १५ झार्नेगरी विधान संशोधन गर्ने बोल्यो । यद्यपि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन बाटो छेकेपछि त्यसले देशव्यापी चासो र चर्चा वृद्धि गराएको छ ।
उता एमालेबाट एमाले भन्दा ‘ठूलो क्रान्तिकारी हुने’ भन्दै निर्माण गरेको माधव नेपालको पार्टीले फेरि नेपाली राजनीतिमा ‘छाता आकार’को केन्द्रिय कमिटीको गठन गरेर ‘दुनियाँ’ हँसायो । जनसमर्थन नभएको र तीन लाख भोट पनि ल्याउन नसकी ‘थ्रेसहोल्ड’ कटाउन नसकेको दलको केन्द्रिय कमिटी तीन सय चौवालीस सदस्यीय किन चाहियो ? अब छाता आकारको पार्टी निर्माण गरेर पार्टी बचाउँछु भन्ने माधवको भ्रम तुहिने छ । माधवको र त्यस्ता नाम मात्रका कम्युनिस्ट पार्टीहरूले त्यसरी छाता आकारका संगठन निर्माण गरेका छन् । त्यसैमा फेरि बेरोजगार र मूल्यहीन वामदेव गौतम मिसिएपछि केन्द्रीय सदस्यहरूको संख्या फेरि बढ्दै जाने प्रस्टै छ । जबकि माधवको दल नै चौरासीसम्म नटिक्ने पक्कापक्की भइसक्यो । कम्युनिस्ट नामधारी सबै कम्युनिस्ट पार्टी खासमा कम्युनिस्ट पनि छैनन्, रहेनन् । एमालेले चाहिँ तुलनात्मक रूपमा उत्कृष्ट रह्यो । संगठन र व्यवस्थापकीय विधिमा निश्चित विधि, विधान र अभ्यासलाई पालना गर्दै आयो । माधव कुमार नेतृत्वको समूहले हालै गरेको केन्द्रीय सदस्यको मनोनितको छाता शैलीले लोकतान्त्रिक मूल्य, मान्यता र राजनीतिक पार्टीको अभ्यासलाई नै पङ्गु बनायो । अख्तियारले मुद्दा लगाए पनि पदमा टाँसिएका नेता माधव नेपाल त झन ‘पत्रु’ नै भए । यही छाता आकारको पार्टी बनाएको कारण एमालेमा फर्कनेको ताँती देखिएको हो ।
‘कुकुरको ज्यानभन्दा पुच्छर ठूलो’ भनेजस्तो कम्युनिस्टका केन्द्रीय कमिटी भए । सङ्घीय संसदमा भएको दुई सय पचहत्तरको सङ्ख्या बढी भयो भन्ने जनआवाज आइरहेको समयमा माधवको पार्टीमा यसअघि भएको ‘छाता आकार’को केन्द्रीय कमिटीको मनोनयनले उनी कुन विधि, थिति र नीतिबाट अघि बढ्न चाहेका रहेछन् ? प्रस्ट भयो । ‘.. केलाई भन्दा देख्नेलाई लाज’ जस्तो भयो ! तीन करोडभन्दा कम जनता भएको नेपालमा एक सय बढी दल हुनुको औचित्यमाथि प्रश्न उठेको बेला यस्ता हर्कतले जनतामा निराशा थप्ने मात्र हो । एक अर्ब चालीस करोड जनता भएको चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले नेशनल पिपुल्स कंग्रेस नामको संसदमा दुई हजार आठ सय सतासी जनाको सङ्ख्याले मुलुक सञ्चालित छ । भारतको लोकसभामा पाँच सय त्रिचालीस सदस्य सङ्ख्या छ । नेपालका कम्युनिस्ट पार्टीमा कार्यकर्तालाई टीका लगाएर छाता आकारका संगठन निर्माण गर्नमात्र पार्टी गठन गरेको जस्तो देखियो ।
माधवले गरेको ‘छाता सूत्र’बाट उनको समाजवादी पार्टीमा पहिले माओवादीमा भएको जस्तो पुरानो रोग बढाउँदैछ । छाता पार्टी बनाउँदा जसरी प्रचण्डले दुःख भोगे । कोही पनि सन्तुष्ट भएन । माधवको समूहमा पनि उहीखाले आफूसँगैको ‘त्यो केन्द्रमा म किन तल्लो कमिटी’ भन्ने असन्तुष्टि र रोग तीव्र हुँदैछ । स्थापित मूल्य र विधिबाट होइन ‘त्यो रिसाउला कि ?’ ‘त्यो फेरि एमालेमा जाला कि ?’ भन्ने आधारबाट केन्द्रिय कमिटीमा खल्तीबाट मान्छे हाल्दा लोकतान्त्रिक संस्कृतिको धज्जी उड्यो । यसले पार्टीको स्वरुप र आकार पूरै ‘छातामा’ परिणत भयो । वास्तवमा यो विधि र तरिकाबाट जति धेरैलाई भर्ती गरेपनि थप असन्तुष्टि बढ्दै जाने मात्र हो । माधव नेपालको समाजवादी पार्टीले त्यही असन्तुष्टिको मार भोग्ने प्रस्टै छ । फेरि एमालेसँग ‘एकीकरण’ गर्न त्यो छाता विधि बाधक हुनेछ । राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरण तथा संस्कृतिको निर्माण गर्न निर्माण गरिएका कम्युनिस्ट पार्टी जनताको संगठन भएकाले ‘पिरामिड’ आकारका हुनुपर्दथ्यो/पर्छ । ‘छाता आकार’का पार्टी हुनु भनेको अन्तमा सकिने दिशातर्फ अघि बढ्नु हो ।
एमालेबाट चोइटिँदा आफूलाई विधि, नीति र आदर्शवान भन्ने स्वघोषित नेता माधवकुमार नेपालले के-के न गर्छु भन्दै एमालेबाट केही असन्तुष्ट ‘झुन्ड’सहितको ‘ग्याङ’ बोकेर हिँडेको औचित्य कहिल्यै पुुष्टि भएन । उनी त भ्रष्टाचार काण्डमा डुबे । उनले समूह पनि डुबाउने पक्का छ । एमालेमा हुँदा केन्द्रीय कमिटीको सदस्य भइएन, प्रदेशमा गइएन र जिल्लामा पुगिएन भन्दै ‘रुने खन्चुवा’हरूलाई भेला गरेर विधिलाई धोती लगाएर ‘एमालेमा जिल्लामा पुग्ने हैसियत नभएकालाई पनि केन्द्रिय सदस्यमा ‘मनोनित’ गरेका छन् । राजनीतिमा कुनै ‘हुती’ नभएको एकीकृत समाजवादी नामको कम्युनिस्ट नामधारी पार्टीले ‘छाता’ जस्तो आकारमा केन्द्रिय कमिटी बनाएपछि सर्वत्र आचोलना भएको छ । सकिएको र बाँकी पनि छिट्टै सक्किने संकेत हो त्यो । त्यतिमात्र होइन उनकै समूहमा नेतादेखि कार्यकर्तासम्म अधिकांश असन्तुष्ट भएर भटाभट मूल घर एमालेमा प्रवेश गर्नेको लर्काे लाग्दैछ । पहिले राजेन्द्र पाण्डेले विज्ञप्ति निकाले । रामकुमारी झाँक्री एमालेमा छिर्न बहाना खोज्दैछिन् । आफ्नो क्षेत्रमा विज्ञता निर्माण गरेका डा. द्वारिका उप्रेती माधवको पार्टी काम नलाग्ने भन्दै आफ्नो पुरानो घर फर्के । रामकुमारी झाँक्रीले ‘समाजवादी पार्टी यही अवस्थामा चल्नै नसक्ने’ भन्दै माधव नेपाललाई ‘सिनो’को विशेषण दिएकी छन् । ‘माओवादीसँग एकता भए सबैजसो कार्यकर्ता एमालेमा नै फर्कने’ उनको ठम्याइ रह्यो ।
दुई लाख नब्बे हजार भन्दा कम भोट ल्याउने माधवकुमार नेपालको समाजवादी पार्टीले तीन सय चौवालीस सदस्यीय केन्द्रिय सदस्य बनाउनु र त्यसैमा वामदेव छिरेपछि सङ्ख्या थपिँदै जानेक्रममा हुनुले त्यो दलको संगठन ‘कुकुरको ज्यानभन्दा पुच्छर ठूलो’ भनेजस्तो भएको छ । कम्युनिस्ट पार्टीका यस्ता संकीर्ण खालका हर्कतले दलीय राजनीतिमा आक्रोश, आशंका र तीव्र असन्तुष्टि बढाउँदैछ । लोकतान्त्रिक मूल्य, मान्यता र विधिबाट पार्टी सञ्चालन गर्न नखोज्दा आधारभूत तहमा जनता नभएको पार्टी ‘खोक्रो’ बन्ने पक्का हुन्छ । आफूलाई जनताको संगठन र पार्टी भन्ने कम्युनिस्ट पार्टीहरूले ‘कुकुरको ज्यानभन्दा पुच्छर ठूलो’ जस्तो केन्द्रीय कमिटीको निर्माण गर्ने कुसंस्कारले लोकतन्त्रप्रति नागरिक असन्तुष्टि वृद्धि गराएको छ । प्रचण्डले भित्र्याएको कुसंस्कारबाट कहिले तिनीहरू बाहिर आउलान् ? तिनको बुद्धि कहिले फिर्ला ? नागरिकले यिनीहरूप्रति यस्ता अनेकौँ प्रश्न गर्ने गरेका छन् ।
प्रतिक्रिया