चीनको समाजवादी मोडल पूँजीवाद र साम्यवादको बीचको यात्रामा रहेको महसूस गरिन्छ । चीनले परम्पराको जगेर्ना गर्दै आधुनिकताको यात्रा गरिरहेको र संस्कृति तथा सभ्यताको संरक्षण गर्दै समृद्धिप्राप्तिको लक्ष्यप्रति आफूलाई समर्पित गरेको हेर्दा वास्तवमा चीनको दर्शन, विचार र सिद्धान्त भनेकै ‘राष्ट्रवाद र आर्थिक समृद्धि’ बाहेक अरु केही नरहेको बुझ्न सकिन्छ ।
✍ देवप्रकाश त्रिपाठी
कम्युनिष्टप्रति गैरकम्युनिष्ट विश्वको दृष्टिकोण भिन्न रहेजस्तै कम्युनिष्टले देख्ने संसार पनि भिन्न हुने गर्दछ । कम्युनिष्टलाई आलोचना गर्नुपऱ्यो भने मानिसहरू एकदलीय ‘अधिनायकवादी’ भनेर टिप्पणी गर्ने गर्दछन्, तर त्यसलाई उनीहरूले आलोचना भएको ठान्दैनन्, साम्यवादी स्कूलिङले अधिनायकवादी हुनुलाई गाली ठान्दैन, बरू स्वभाविक ढङ्गले ग्रहण हुने गर्दछ । गैरकम्युनिष्ट कित्ताले कम्युनिष्टमाथि राज्यसत्तालाई एकपक्षीय बनाएको, दुरुपयोग गरेको र फरक विचार-ध्रुवमाथि वैरभावी दृष्टिकोण राखेको जस्ता टिप्पणी गरेर कम्युनिष्टहरूको धज्जी उडाएको ठान्दछ, तर यस्ता टिप्पणीले कम्युनिष्टलाई किन छुँदैन भने राज्यसत्ता लोककल्याणकारी साधन नभएर शोषणको साधन भएको र पूँजीवादी (अल्पसङ्ख्यक) हरूले श्रमिक वर्ग (बहुसङ्ख्यक)माथि शदीयौँदेखि गर्दै आएको शासन-सत्तालाई उल्टाएर श्रमिक (बहुसङ्ख्यक)को हातमा सत्ता पुऱ्याउनु नै वास्तविक क्रान्ति हो भन्ने मान्यताबाट बनेको सत्ताले एउटा पक्ष (श्रमिक)को हितमा मात्र आफूलाई केन्द्रीत गर्ने राज्य-संस्कृतिलाई उनीहरूले सगौरव अवलम्बन गरिरहेका हुन्छन् ।
कम्युनिष्टलाई धर्मविरोधी भन्दै होच्याउने आत्मरतिपूर्ण आलोचनात्मक टिप्पणी गरेको पनि पाइन्छ । कसैले धर्मविरोधी भनिदिँदा त्यसलाई एउटा सच्चा कम्युनिष्टले सगौरव ग्रहण गर्दछ । अनि कम्युनिष्टलाई राष्ट्रवादी र देशभक्त होइनौ भनेर आलोचना गरिएपनि एउटा समझदार कम्युनिष्टलाई अस्वाभाविक लाग्दैन, देशहरूको अस्तित्व नामेट तुल्याएरमात्र साम्यवाद स्थापना हुनेछ भन्ने सिद्धान्त घोकेर राजनीतिमा संलग्न भएका कम्युनिष्टहरूलाई देशभक्त र राष्ट्रवादी नभनिएमा उनीहरूलाई आश्चर्य लाग्ने गर्दैन ! तर, कम्युनिष्टको रूपमा चीनले गरेको अभ्यास भने अनेक दृष्टिले भिन्न देखिन्छ ।
स्तालीनकालिन रसिया (तत्कालीन सोभियत सङ्घ)सँगको सीमा विवादमा माओ त्से तुङ्गले लिएको अडानले माओचाहिँ कम्युनिष्ट भएर पनि खाँटी देशभक्त भएको दर्शाउँछ । त्यसबेला स्तालिनले साम्यवाद घोषणा भएपछि अन्तर्राष्ट्रिय सीमाहरू मेटिने भन्दै भूमि छोड्न माओलाई दबाब दिएका थिए, तर माओ एक इञ्च भूमि छोड्न पनि तयार भएनन् । चीनको समाजवादी मोडल पूँजीवाद र साम्यवादको बीचको यात्रामा रहेको महसूस गरिन्छ । चीनले परम्पराको जगेर्ना गर्दै आधुनिकताको यात्रा गरिरहेको र संस्कृति तथा सभ्यताको संरक्षण गर्दै समृद्धिप्राप्तिको लक्ष्यप्रति आफूलाई समर्पित गरेको हेर्दा वास्तवमा चीनको दर्शन, विचार र सिद्धान्त भनेकै ‘राष्ट्रवाद र आर्थिक समृद्धि’ बाहेक अरु केही नरहेको बुझ्न सकिन्छ । चीन हरेक क्षेत्रमा आफ्नो विशिष्टता र मौलिकतालाई सगौरव स्थापित गर्न चाहन्छ भन्ने उसका दृष्टिकोण र ब्यवहारले स्पष्ट गरिरहेको छ ।
पत्रकारिताको अभ्यास पनि चीनले मौलिक ढङ्गले गरिरहेको बुझ्न सकिन्छ । प्रजातन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता, सांस्कृतिक एवम् धार्मिक स्वतन्त्रता, नागरिक स्वतन्त्रता र आर्थिक स्वतन्त्रता जस्ता विषयहरूमा चीन पश्चिमा परिभाषाअनुरूप बुझ्न र व्यवहार गर्न चाहिरहेको छैन । उल्लिखित मुद्दाहरूमा चीनको बुझाइ भिन्न र मौलिक छ । चिनियाँहरू राज्यको हितमा नै आफ्नो हित देख्छन्, राज्य कमजोर बनाएर आफू बलियो हुने कल्पनासम्म उनीहरू गर्दैनन् । पार्टी र सरकार सधैं आफ्नो (जनताको) हितमा केन्द्रीत छ भन्ने जनविश्वासका कारण चिनियाँहरू राज्यको स्वार्थ र आफ्नो स्वार्थलाई एकीकृत ढङ्गले बुझ्ने गर्दछन् । तथापि भ्रष्टाचारमा दोषी ठहरिएर दण्डसजाय भोगेका ब्यक्ति तथा तिनका परिवार, अनियमितता र भ्रष्टाचारमा कडाइ गरिएपछि त्यसबाट प्रभावित ब्यक्तिहरू, सरकार र नागरिकको आँखा छलेर रातारात धनाढ्य बन्न खोज्नेहरू तथा कतिपय सरकारी कर्मचारीहरू चाहिँ असन्तुष्ट रहेको बुझिन्छ ।
चीनले ‘कन्स्ट्रक्टिभ जर्नलिज्म’को अभ्यास गरिरहेछ । उनीहरूले आफ्नै मिडियाको विकाश गरेका छन् र टिकटक लगायतका न्यु मिडियालाई चिनियाँहरूले चीनको आर्थिक समृद्धि र रचनात्मकतामा सदुपयोग गरिरहेका छन् । सञ्चारमाध्यमलाई पनि राष्ट्रिय स्वार्थमा केन्द्रीत गर्न सकिन्छ र यसलाई ब्यवस्थित गर्न सकिन्छ भन्ने अद्वितीय दृष्टान्त चीनले प्रस्तुत गरिरहेको छ ।
सरकारी कर्मचारीलाई निजी र सरकारी गरि दुई प्रकारको पासपोर्ट जारी गर्ने चिनियाँ नीति छ, तर अनियमित काम गरि सुटुक्क देश छोडेर भाग्नसक्ने सम्भावनालाई दृष्टिगत गर्दै दुवै पासपोर्ट सरकारले आफ्नो नियन्त्रणमा राख्ने गर्दछ । सरकारी कर्मचारीले बाहिरी मानिस (सेवाग्राही)सँग गुप्त भेट गर्ने या नागरिक तहका मानिससँग होटल रेष्टुरेन्ट आदिमा सँगै खाना खान नपाउने संहितालाई चीनले कडाइका साथ पालना गरेको हुँदा त्यहाँ कर्मचारीले भ्रष्टाचार गर्ने, घुस खाने, सेवाग्राहीलाई सताउने, काम पन्छाउने या त्यस्तै प्रकारको अन्य अनियमिततामा सामेल हुने सम्भावना न्यूनीकरण भएको छ । जसका कारण कतिपय कर्मचारीमा असन्तुष्टि नभेटिने होइन, तर ती सुषुप्त छन् ।
चीनको सञ्चारमाध्यम, सञ्चारकर्मी या पत्रकारले सरकारी निकायमा कतै भ्रष्टाचार भएको सूचना प्राप्त गरेमा त्यसको प्रमाणसहित सरकारलाई जानकारी गराएर भ्रष्टाचार नियन्त्रणमा सहयोग पुऱ्याउने परम्परा बसालिएको छ । सञ्चारमाध्यमले समाचार सार्वजनिक गरेर भ्रष्टाचार नियन्त्रण हुने विश्वास चीनमा गरिँदैन । त्यसरी नकारात्मक समाचार बनेमा जनतामा निरासा र आक्रोश बढ्नसक्ने तथा कसुरदारले प्रमाण मेटाउन सक्ने भएकोले सञ्चारमाध्यमहरू समाचार सार्वजनिक गरेर सनसनी मच्चाउनेतिर लाग्दैनन् । अफ्रिका सञ्चार अनुसन्धान केन्द्रकी निर्देशक समेत रहेकी कम्युनिकेशन युनिभर्सिटी बेइजिङकी प्राध्यापक चाङ यान्क्यु (Zhang yanqiu) ले त यतिसम्म भनिन् कि ‘मिडियाले सार्वजनिक रूपमा औंल्याएकै कारण भ्रष्टाचार नियन्त्रण हुने या सुशासनको सुनिश्चितता दिने भन्ने हुँदैन, बरू मिडियाले सिधै सरकारलाई जानकारी दिएर भ्रष्टाचार नियन्त्रणमा सहयोग गर्न सक्छन् र चीनले त्यस्तो अनुभव गरिरहेको पनि छ ।’
चाङ्ले अझ स्पष्ट गर्दै भनिन्- ‘सरकार र मिडियाका एजेण्डा भिन्न हुन भनेर बुझ्नु हुँदैन, कार्य भिन्न भएपनि खोजिएको परिणाम एउटै हो राष्ट्रिय हित र सुशासन ।’ उनले अगाडि भनिन्- ‘कन्स्ट्रक्टिभ जर्नलिज्मले मात्रै देशको समृद्धि र स्थायित्वमा योगदान दिन सक्छ । नकारात्मकतामा मिडियाको ध्यान जाने गर्छ, तर नकारात्मक पत्रकारिताले देश र समाजलाई योगदान दिन सक्दैन, त्यसैले हामी कन्स्ट्रक्टिभ जर्नलिज्मको अभ्यास गरिरहेका छौँ र चीनलाई यसले धेरै राम्रो गरिरहेको पनि छ ।’
हुनपनि नकारात्मक समाचारले आम मानिसको मनोविज्ञानमा नकारात्मक असर गर्ने विश्वाससहित चिनियाँ पत्रकारिता सकारात्मक सञ्चार प्रवाहमा केन्द्रीत रहेको देखिन्छ । पत्रकार तथा सञ्चारमाध्यमको ध्यान विकाश निर्माण, आर्थिक गतिविधि, पर्यटन प्रवर्द्धन, मौसम, कृषि, उद्यम व्यापार, प्रविधि, मनोरञ्जनात्मक सामाग्री, खेलकुद, कला, संस्कृति र अन्तर्राष्ट्रिय घटना-परिघटनाहरूमा केन्द्रीत रहने परम्पराले चीनको पत्रकारितालाई सकारात्मक, रचनात्मक र जिम्मेवार बनाएको छ । यसैलाई चीनले ‘कन्स्ट्रक्टिभ जर्नलिज्म’को रूपमा परिभाषित गर्ने गरेको छ । चीनको पत्रकारिताले सरकार र आफ्नो एजेण्डा भिन्न रहेको महसूस गर्दैन ।
चिनियाँहरू राज्यको हितमा नै आफ्नो हित देख्छन्, राज्य कमजोर बनाएर आफू बलियो हुने कल्पनासम्म उनीहरू गर्दैनन् । पार्टी र सरकार सधैं आफ्नो (जनताको) हितमा केन्द्रीत छ भन्ने जनविश्वासका कारण चिनियाँहरू राज्यको स्वार्थ र आफ्नो स्वार्थलाई एकीकृत ढङ्गले बुझ्ने गर्दछन् । तथापि भ्रष्टाचारमा दोषी ठहरिएर दण्डसजाय भोगेका ब्यक्ति तथा तिनका परिवार, अनियमितता र भ्रष्टाचारमा कडाइ गरिएपछि त्यसबाट प्रभावित ब्यक्तिहरू, सरकार र नागरिकको आँखा छलेर रातारात धनाढ्य बन्न खोज्नेहरू तथा कतिपय सरकारी कर्मचारीहरू चाहिँ असन्तुष्ट रहेको बुझिन्छ ।
समग्रमा चीनले अभ्यास गरिरहेको ‘कन्स्ट्रक्टिभ जर्नलिज्म’का केही विशेषताहरू छन् । पहिलो- चीनको पत्रकारिता पूर्ण आधिकारिकतामा विश्वास गर्दछ । अनुमान र आशङ्काका भरमा सञ्चारमाध्यमहरूले सामाग्री सम्प्रेषण गर्ने गर्दैनन् । दोस्रो- पत्रकारिता क्षेत्रको आँखा सधैं नकारात्मक विषयवस्तुमा जान्छ र आलोचनात्मक प्रस्तुतिलाई यसले प्राथमिकता दिन्छ भन्ने चिनियाँ सञ्चारविज्ञ तथा पत्रकारहरूलाई थाहा छ, तर उनीहरू नकारात्मकतालाई सञ्चारमाध्यममा स्थान दिने गर्दैनन् । नकारात्मकताले निराशा र आक्रोश बढाउने विश्वास उनीहरूमा छ । तेस्रो- चीनको पत्रकारिता पूर्ण जिम्मेवार देखिन्छ । जनता र देशलाई के-कस्ता सामाग्रीहरूले सहयोग पुऱ्याउन सक्छ भन्नेबारे उनीहरू सधै सचेत र सम्वेदनशील रहेको महसूस तिनको कार्यब्यवहारले गराउँछ । आफूले सम्प्रेषण गरेको सामाग्रीप्रति सञ्चारगृह र पत्रकार पूर्ण जिम्मेवार देखिन्छन् । चौथो- चिनियाँ पत्रकारिता राष्ट्रिय स्वार्थमा केन्द्रीत छ, राष्ट्रहितभन्दा बाहिर जाने उनीहरू कल्पनासम्म गर्न सक्दैनन् । पाँचौं- सत्य र तथ्यमा आधारित सामाग्रीबाहेक कुनैपनि प्रकारको अपुष्ट कथ्यलाई चिनियाँ सञ्चारमाध्यमले स्थान दिँदैनन् । छैठौं- चिनियाँ पत्रकारिताले विकास निर्माण र आर्थिक समृद्धिलाई मुख्य प्राथमिकता दिने गर्दछन् । यसले आम नागरिकमा आत्मविश्वास बढाउने उनीहरूको विश्वास छ । सातौँ- चिनियाँ पत्रकारिताले सरकार र राज्यसँग वैरभावी दृष्टि राख्दैन, बरु सरकार र सञ्चारमाध्यमका एजेण्डाहरू समान भएको ठान्दछ र मिडियाले सरकारसँग सहकार्य गर्ने कुरालाई प्राथमिकतामा राखिन्छ ।
चीन यसरी ‘कन्स्ट्रक्टिभ जर्नलिज्म’को अभ्यास गरिरहेछ र यसले सकारात्मक परिणाम दिएको आमरूपमा ठानिएको पाइन्छ । न्यु मिडिया अर्थात् सामाजिक सन्जाललाई पनि चीनले ब्यवस्थित र सकारात्मक तुल्याएको छ । फेसबुकलगायत अधिकाङ्श पश्चिमी कमाण्डका सामाजिक सन्जाललाई चीन प्रवेशमा रोक लगाइएको छ । यसलाई उनीहरूले राष्ट्रिय सूरक्षासँग सम्बन्धित सम्वेदनशील विषय मानेका छन् । प्राध्यापक चाङको विचारमा ‘पश्चिमी न्यु मिडियालाई चीनले प्रवेश दिनुपर्छ भन्ने छैन, हामी हाम्रो राष्ट्रिय सूरक्षाप्रति सम्वेदनशील र जिम्मेवार छौँ ।’ उनीहरूले आफ्नै मिडियाको विकाश गरेका छन् र टिकटक लगायतका न्यु मिडियालाई चिनियाँहरूले चीनको आर्थिक समृद्धि र रचनात्मकतामा सदुपयोग गरिरहेका छन् । सञ्चारमाध्यमलाई पनि राष्ट्रिय स्वार्थमा केन्द्रीत गर्न सकिन्छ र यसलाई ब्यवस्थित गर्न सकिन्छ भन्ने अद्वितीय दृष्टान्त चीनले प्रस्तुत गरिरहेको छ ।
जय मातृभूमि !
प्रतिक्रिया