अमेरिका जाँदा अमेरिकाकै चर्चा !

अमेरिका जाँदा अमेरिकाकै चर्चा !


केही प्राविधिक कुराहरू अद्यावधिक गर्नुपर्ने भएकाले पनि अचानक अमेरिकाको यात्रा तय भयो । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान आठ बजे नै ज्यान हाजिर भयो । सुरक्षा जाँचका सम्पुर्ण प्रक्रया पार गर्दै विमान उडानको प्रतीक्षास्थलमा बस्दै सामाजिक सञ्जालको प्रयोगले समय ब्यतीत गर्न सजिलो भयो । एक घण्टा ढिलो गरेर कतारी जहाजले जुरुक्क उचाल्यो र कुद्यो हामी सयौँ यात्रीलाई लिएर कतारको राजधानी दोहातर्फ !

चार घण्टाको उडानपछि कतार एअरवेजले काठमाडौंमा जसरी उचालेको थियो, त्यसैगरी दोहामा जहाजका सबै यात्रुलाई बसाल्यो । बाहिर ३९ डिग्रीको वाताबरणीय तापमान भएपनि एअरपोर्टभित्र न्यानो कपडाको जोगाड नगरेकोमा पछुतो लाग्यो । विश्राम अवधिभर जाडो-जाडो भयो । केही समयको विश्रामपछि फेरि अमेरिकातर्फको उडान गर्नु त छँदै थियो । समय कटाउन मोबाइल आफ्सेआफ् हातमा आइहाल्यो । फेसबुकले पलपलका सन्देश तथा समाचारहरू अपडेट गराउँछ र उत्सुकता मेटाउन मद्दत गर्ने हुनाले फुर्सद मिल्यो कि हातमा फेसबुक आफैं आउँछ, आफैं खुल्छ । फेसबुक के हेर्दै थिएँ, अमेरिकाका राष्ट्रपतिको एक फोन कलले थाइल्याण्ड र कम्बोडियाबीचको केही दिनको लडाइँ निःशर्त रुपमा युद्धविराम गर्दै समाप्त भएको खबर पढेँ । यो समाचारले म खल्बलिएँ । हैन के हो यो अमेरिका अनि कस्तो हो अमेरिकन राष्ट्रपतिको शक्ति ? उसले बोल्यो कि जस्तोसुकै कठोर युद्ध पनि ठप्प रोकिन पुग्छ ! जस्तोसुकै झगडा पनि शान्त हुन्छ ! के जादु छ अमेरिकासँग त्यस्तो ! म घोत्लिन थालेँ ।

दोहाबाट न्युयोर्कका लागि जहाज छुटेपछि मेरो दिमागले अरु केही खेलाएन, केवल अमेरिका… अमेरिका… अमेरिका…मात्रै दिमागमा खेल्यो । जहाजमा सयौँ यात्रुहरू छन् तर म एक्लै भएको महसूस गर्छु । मेरी प्रिय जीवनसंगिनी भगवतीले मलाई एक्लो बनाएर गएपछि दोश्रो पटक अमेरिका एक्लै पस्दैछु । जहाजमा यात्रु भरिभराउ छन् तर म एकलकाँटे बनेको छु । एक्लै हुँदा न हो चिन्तन गर्ने; भयो त्यस्तै ! म फरक्क फर्केर सन् १९९० तिर पुगेँ । तर मनमा फरक ढंगले अमेरिका खेलाउँदै र स्मृतिमा आउने पुराना यादहरू टिप्दै अगाडी बढेँ । राजधानी काठमाडौं बाहेक मोफसलतिर टिभीको खासै गुञ्जायसै थिएन । कसै-कसैका घरमा मात्र टिभी थिए । हिन्दी टेलिश्रृङ्खला रामायण र महाभारत हेर्न टिभी हुनेका घरमा मारामार भिड हुन्थ्यो । टिभी भएको ठुलो कोठामा जुत्तामोजा गन्हाउने त छँदै थियो मान्छेको मुखबाट चुरोटको श्वासमिश्रित असह्य गन्धले भरिएपनि चुपचाप टिभी हेरिन्थ्यो । टिभीधनीलाई उत्तिकै सास्ती थियो । दुर्गन्ध र भीडले रुमल्लिँदै आफैले पनि गतिलोसँग सिरियल हेर्न पाउँदैनथे बिचरा …! ओहो, क्या थिए ती दिन !

यत्तिकैमा एकदिन मेरो घरमा पनि टिभी भित्रियो । मेरो घरमा पहिलो पटक टिभी भित्र्याउँदा कम्ता रमाइलो लागेको थिएन । बिहे गरेर बुढी कोठामा हुल्दा केटो के रमाउला, म त्यति रमाएको थिएँ ! टिभी त आयो नेपाली हेर्नु छैन । अहिलेको जस्तो गत न पतका नेपाली च्यानल ऊबेला कहाँ पाउनु ? भएको एउटा नेपाल टिभी पनि देशैभर जाँदैनथ्यो ! नेपाल टेलिभिजन हेर्नु नै थिएन । भारतीय टेलिभिजन च्यानलहरूको एकलौटी बर्चस्व थियो । ‘खाए खा नखाए घीच्’को शैलीमा भारतीय टेलिभिजन खुब हेरियो । राजधानी र ठुला शहरमा सीमित नेपाल टेलिभिजनका कार्यक्रम काठमाडौंमा रेकर्ड गरेर भोलिपल्ट हामीकहाँ प्रसारण गर्थे ऐण्टेनावालाले । त्यही पनि ‘आहा !’ थियो । रेकर्ड नै सही, राजा-रानीका सवारीहरू र सन्तोष पन्तको ‘हिंजोआजका कुरा’ हेर्न मज्जा लाग्थ्यो ।…

०००

दोहाबाट चौध घण्टा दश मिनेटको यात्रामा यस्तै-यस्तै कुरा खेलाउँदै न्युयोर्क उत्रेँ । कुराको उठान अमेरिकाकै थियो, त्यसैको सन्दर्भमा उपरोक्त प्रसङ्ग स्मरण गर्दागर्दै अमेरिकाकै मूल थलो न्युयोर्कमा मेरो बैठान पनि भयो । यहाँ मध्यराति भएपनि मलाई नेपालकै समयले साथ दिएकाले अरु लथालिङ्ग परेर सुतेका भएपनि मेरो भने कुर्चीमा आरामदायी बसाइ हुने भयो । त्यसैले होला आँखा टाठा छन् र औंलाले पनि मज्जाले टाइप बोर्डमा थिचेकै छन् ।

सन् २००१ को अगस्ट ११ मा यही न्युयोर्कमा रहेका विश्वप्रसिद्ध जुम्ल्याहा भवनमा आतंककारी संगठन अलकायदाले यात्रुबाहक विमान ठोक्काएर ठुलो धनजनको क्षति अमेरिकाले ब्यहोर्नुपरेको थियो । यो घटनाले त्यतिबेला विश्व हल्लिएको भनौँ वा पृथ्वी नै डगमगाएको मानिन्थ्यो । यो त्रासदीपुर्ण घटनाको प्रत्यक्ष प्रसारण त्यही मेरो घरमा भर्खर भित्रिएकी बेहुली जस्तो चुट्टको सानो टिभीमा हेरेको थिएँ । त्यतिखेर टिभीमा न्युयोर्कबाट सिएनएनद्वारा प्रसारित प्रत्यक्ष प्रसारण देख्ने जो-कोही पनि स्तब्ध र भावविह्वल भएका थिए भने केही-केहीले ‘बल्ल खाइस् अमेरिका !’ भन्दै रमाउनेहरू पनि थिए । आफूले केही गर्नुनपर्ने अरुले राम्रो गरेको देखेर इर्ष्या-डाहा गर्ने हाम्रो समाजमा रहेको घटिया संस्कार भएका मान्छेहरू त्यसरी खुब रमाउँछन् । यस्तै खालका बेकामेहरू अमेरिकाको त्यो दर्दनाक दुःखमा खुबै रमाएका थिए ।

७ अक्टुवर, २०२३ मा इजरायललाई लक्षित गर्दै हमासले सस्ता पटका पड्काए जसरी मिसाइल प्रहार गऱ्यो । हमासको लागि यो उसको आत्मघाती कदम थियो । अहिलेसम्म साठी हजार बढी मान्छे मारिए । लाखौँ घाइते छन् । युद्ध रोकिने छन्दै छैन । यसो हुनुमा को बदमास ? झुक्क्याएर १४ शय मान्छे मार्ने हमास बदमास कि इजरायल बदमास ? पढ्न र श्रम गर्न इजरायल पुगेर आफ्नो परिवारलाई खुशी दिउँला भन्ने सपना बुनेका होनहार दश जना नेपाली युवालाई हमासले ठहरै पारे । अहिले पनि नेपाली युवा विपिन जोशी वेपत्ता छन् । नेपाली छोराछोरी मरेकोमा घटिया चिन्तन भएका नेपालीलाई पटक्कै चिन्ता छैन तर ज्यानमारा हमासप्रति हुरुक्कै हुन्छन् । उसैको समर्थन गर्छन् । हमासले इजरायललाई नजिस्काएका भए हमासको यो हविगत कहिल्यै हुन्थ्यो ? हुँदैनथ्यो ! यसको अर्थ अशान्ति भैरहोस् भन्ने कदापि होइन । यहाँ अबुझ अथवा पुर्वाग्रही चिन्तन र घटिया संस्कार भएका बेवकुफहरू त्यही हमासको पक्ष लिएर इजरायललाई सरापेर अझै थाकेका छैनन् ।

नेपालीलाई मार्ने हमास ठिक कि नेपाललाई संयुक्त राष्ट्र संघको सदस्यता तुरुन्तै दिनुपर्छ भनेर सर्वप्रथम समर्थन र वकालत गर्ने इजरायल ठिक, कुन ठिक ? विश्वको एकमात्र यहुदी राष्ट्र मेटाउन अरब राष्ट्रमा थुप्रै हमासहरू छन् । इजरायली जनताले बुझ्नेजति हामी नेपाली भैदिएको भए नेपाल पनि हिन्दुराष्ट्र भैरहनबाट कसैका बा’को तागतको केही लाग्ने थियो र ? नेपालीको दुर्भाग्य ! बाह्य तागत कामयाब बन्यो ! हामी हेरेको हेऱ्यै भयौँ । ठिक-बेठिक छुट्याउने विवेक पनि अरुले हाल्दिनुपर्ने हामी किन बन्यौँ ? यस्तो प्रश्न गर्दा आफ्नै शीर निहुरिन्छ तर गर्ने के ? …

म अमेरिका आउने-जाने भएकाले होइन कि इराकले कुवेत खाँदा अमेरिकाले आक्रमण नगरेको भए कुवेत भन्ने देश विश्व मानचित्रबाट उहिल्यै हराउँथ्यो भनेर भन्न थालेको थिएँ । जसका कारण इराक थला पऱ्यो भने राष्ट्रपति सद्दाम हुसेनको समुल अन्त्य भयो । अर्थात्, कतिपय साना मुलुकहरू अमेरिकाले गर्दा बाँचेका छन्, अस्तित्वमा छन् । नत्र गायब भइसक्थे । हाम्रै देश नेपालका बारेमा पनि भित्रभित्रै कतै भारतले हामीलाई सिक्किम बनाउने त होइन भन्ने शंशयले जरो नगाडेको होइन । तर अमेरिकाको उपस्थितिमा कसैले यस्ता कल्पना गर्नु पर्दैन भन्छन् जानकार तथा राजनैतिक विश्लेषकहरू !

हुन त, कुनै पनि मुलुकले सर्वप्रथम आफ्नो राष्ट्रिय स्वार्थलाई सर्वोपरि राख्छ, राख्नुपनि पर्छ । आफ्नो राष्ट्रिय स्वार्थका खातिर गरिने कतिपय ठुला राष्ट्रका गतिविधि हामीलाई चित्त नबुझ्नु यौटा कुरा हो । हामीले पनि हाम्रो राष्ट्रिय हितको रक्षा गर्न जान्नु पर्दछ । तर हामीले नजानेर यस्तो व्यवस्था जन्मायौँ कि हाम्रो हितभन्दा पराईको हितकारी बनेर कुर्चीमा बस्न थाल्यौँ । आफ्नो निर्णय सर्वोपरी हुनुपर्नेमा पराईको निर्णय झन् उपरी हुन थाल्यो । जसले गर्दा राष्ट्रको र जनताको स्वार्थ भन्दा निजी र पराईको स्वार्थमा लिप्त भयौँ । फलतः देशभित्र देशवासीले आफ्नो भविष्य देख्नै छोडे । राजनीतिमा स्थायित्व भन्ने चिज नै हरायो ।

गत अप्रिलमा कश्मिरको पहलगाममा आतंककारीले एक नेपालीसहित २६ जनाको हत्यापछि उत्पन्न विवाद युद्धमा परिणत भयो । भारत र पाकिस्तान बीचको यो युद्धले दक्षिण एशिया नै अत्यन्त त्रसित बनेको थियो । पाकिस्तानले परमाणु हतियार फाल्छ कि भन्ने आम मान्छेमा डर बनेको थियो । तर अमेरिकाका राष्ट्रपति ट्रम्पले भारत र पाकिस्तानलाई चेतावनी दिँदाबित्तिकै युद्ध रोकियो । तथापि दुवै राष्ट्रले आ-आफै एक-अर्कालाई पराजित गरेको दाबी गर्दै आएका छन् । जेहोस्, युद्धविराम भयो । युद्ध मत्थर भयो । ट्रम्प भन्छन्- मैले हस्तक्षेप नगरेको भए अहिलेसम्म भारत र पाकिस्तान लडिरहेका हुने थिए । साँच्चै, यो युद्ध चर्केको भए अलग्गै बसेको देश भनेर के गर्नु, नेपाल नराम्रोसँग प्रभावित हुने निश्चित थियो । धन्न शान्त भयो, थप केही क्षति हुन पाएन । यसका लागि भगवानलाई धन्यवाद भन्ने हो कि ट्रम्पलाई भन्नेमा म द्विविधामा परेको छु ।

अस्ति फेरि कहिल्यै कल्पना नगरिएका दुई राजतन्त्रात्मक मुलुक थाइल्याण्ड र कम्बोडिया युद्धमा उत्रिए । यौटा प्राचीन र पुरातात्विक शिव मन्दिरको विषयलाई लिएर विवाद उत्पन्न भयो । विवाद नसुल्झेपछि दुवै शान्त मुलुक युद्धमै पुगे । केही दिनको युद्धमा केही हताहती पनि भयो । धनजनको नाश भयो । खासमा, यही समाचार कतारमा रहँदा पढेपछि यो लेखनी जन्मेको हो । यहाँ पनि अमेरिकी राष्ट्रपति ट्रम्पले हस्तक्षेप गर्न पुगे । हिजोमात्र उनले व्यापार सम्झौताको बारेमा धम्क्याएपछि विनाशर्त युद्धविराम गर्न पुगेका छन् । त्यसो त, आशियान अध्यक्ष राष्ट्र मलेशियाको दुईघण्टे मध्यस्थ वार्ताले गर्दा दुवैराष्ट्र पछिहटेको पनि बताइन्छ ।

इरान र इजरायलको युद्धले पनि ठुलो नरसंहार निम्त्याउला भन्ने भय आममान्छेमा बनेको थियो । इस्लामिक धार्मिक कट्टरतामा रहेका देश वा पक्षधरहरूलाई घातक हतियार उत्पादन र भण्डारण गर्न दिने हो भने कुनैपनि बेला विश्वले भयावह अवस्था ब्यहोर्नुपर्छ भन्ने मन्यतामा अमेरिकाकै पहलमा परमाणु उत्पादन केन्द्रलाई ध्वस्त बनाइयो । यसकै कारण इरान पछि हट्न पुगेको छ । इरान र ऊ जस्तै अरु देशले आतंककारी समुह खडा गरेर विभिन्न देशमा अशान्ति मच्चाइरहेको मानिन्छ । यस्ता आततायी हर्कत रोक्ने प्रयासमा अमेरिकाले हस्तक्षेप गरेकै ठिक !

रुसले क्रिमिया कब्जा गर्दा चूँ नबोल्नेहरू युक्रेनलाई अमेरिकाले हतियार सहयोग गरेको देखेर कतिपयको टाउको दुख्छ । युक्रेनले अमेरिकाको समर्थन र सहयोग नपाएको भए युक्रेनको अस्तित्व आज के हुन्थ्यो होला यसै भन्न सकिन्न । रुसले युक्रेनमाथि हमला गरेर हजारौँ युक्रेनी मार्दा कतिपयलाई ठिक लाग्छ तर इजरायलले आफ्नो देश र नागरिकको रक्षार्थ हमासमाथि गरेको आक्रमणलाई बेठिक लाग्छ । आफ्नो जन्मभूमि छाडेर विस्थापित भएका लाखौँ युक्रेनीहरूको कथा पढ्नुस् त कति कहालिलाग्दो छ । छन त, गाजामा पनि हालत उस्तै छ । युद्ध कुनै पनि ठिक होइनन् । सबभन्दा राम्रो त कुनैपनि खाले विवाद शान्त समाधान होऊन् र युद्ध नै नहोस् भन्ने कामना गर्नु नै हो । तर शुभकामना राख्दैमा सबै शुभ भएको त कहाँ थियो र, तैपनि सकारात्मक बन्न सकिन्छ ।

न्युयोर्क अवतरणलगत्तै मोबाइल एक्टिभ देखियो । यसको अर्थ सञ्चार र सम्पर्कमा सहज भयो । फोन एक्टिभ गराउनेलाई धन्यवाद छ । जोन अफ केनेडी एअरपोर्टमा पहिलो अवतरण मेरो थियो । मेरा सहयात्रीद्वय छात्रा युनिशा गिरी (इटहरी) र महेन्द्र परियार (बुटवल) आईटीका जानकार लाग्थ्यो । उनीहरूलाई सोध्नै परेन । ट्रान्जिट समय मनग्ये भएकाले एकाग्र चिन्तन गर्न अनुकुल भयो । मेरो ई-सिम स्वतः सकृय भएकाले फेसबुक पनि खुलिहाल्यो । खुल्नासाथै न्युयोर्कको म्यानहटनमा भर्खरै चार जनाको हत्या भएको खबरले शुरुमै झस्कायो । अमेरिकाको बैगुन भनेकै यही अन्धाधुन्धा गोली प्रहार हुनु हो । यो बैगुनले कतिपयलाई फाइदा पनि भएको छ । विदेश जाँदा सबैको पहिलो रोजाइमा पर्ने सपनाको देश अमेरिका भएपनि यत्ति यौटा ‘गन–फ्रि’को बैगुनले गर्दा अमेरिकन दूतावासले भिसा दिएन भने ‘त्यस्तो ज्यानको खतरा हुने ठाउँमा पनि कोही जान्छन् ?!’ भन्दै चित्त बुझाउन सजिलो बनाइदिएको छ । भन्न यसो-त्यसो भने पनि हत्याको समाचारले मेरै मनमा झस्को पस्यो ! गर्ने के ? उपाय नास्ति !

अन्तमा, प्रसंग बदलिए पनि कुरोको चुरो उतै छ- अमेरिका के हो ? डन हो कि, दादा हो कि, भूत हो कि, अभिभावक हो अमेरिका ? अमेरिकाका बारेमा सबैले यस्तै विविध खालका प्रश्न खडा गर्छन् । तर मैले काठमाडौंदेखि दोहा-न्युयोर्क हुँदै ज्याक्सनभील फ्लोरिडासम्मको पट्यारलाग्दो उँडाइ र बसाइमा पछिल्लो जिज्ञासा राख्नु मुनासिव ठानेँ । मेरो मनले यही नै उपयुक्त ठान्यो । विशेषतः हाम्रो देशको भूगोल नजिकका तीनवटा युद्धलाई अमेरिकाका राष्ट्रपतिको आग्रह अनुरोध वा धम्की नै दिएर भएपनि युद्ध रोकिन पुग्नु पक्कै पनि अभिभावकीय भूमिका नै ठान्नु पर्दछ । यस क्षेत्रका यी तीनैवटा भारत- पाकिस्तान, थाइल्याण्ड-कम्बोडिया र इरान-इजरायल युद्धहरू रुस र युक्रेन युद्धजत्तिकै लम्बिन्थे भने यस क्षेत्रका जनताको के हालत हुँदो हो ? नेपाल जस्तो भुपरिवेष्ठित देशले कस्तो परिणाम भुगत्न पर्थ्यो होला अनुमान गर्न मुस्किल हुन्थ्यो । त्यसैले अमेरिकाले संधैभरी विश्वको जुनसुकै भागमा उत्पन्न हुने हरेक प्रकारका विवादलाई समाधान गर्दै र माथि उल्लेखित अभिभावकीय भूमिका खेल्दै विश्वमा शान्ति कायम राख्न सकोस् भन्ने अपेक्षा राख्दा कसो होला ! श्री ॐ प्रभु !

(२०८२ श्रावण १३, अमेरिकाबाट)