खबरदार शङ्ख † होसियार घन्ट †-बद्रीप्रसाद दाहाल

खबरदार शङ्ख † होसियार घन्ट †-बद्रीप्रसाद दाहाल


जातिवादी राजनीतिले थिन्थिल्याउन थालेको नयाँ नेपालमा लिङ्गवाद, क्षेत्रवाद, वर्णवाद, अतिर्-धर्मवादजस्ता अर्वाचीन संस्करणहरू दिन प्रतिदिन चाङ लागेर मैदानमा ओर्लन थालेका छन् । आफ्ना रहन-सहन, खानपान, मान र शानलाई प्रस्तुत गर्दा अर्को तप्का अपमानित हुन्छ भन्ने चेतना बिस्तारै गुम्ने छाँटकाँट प्रस्तुतकर्तामा देखिन थालेको छ । राज्य उत्पत्तिको दैवी सिद्धान्तले मोटाएका किर्नाजस्ता सामन्त र त्यसका पृष्ठपोषकहरूले अझै पनि अवतारको अपव्याख्या गरेर आफ्नो वंशपरम्परादेखि चल्दै आएको मध्ययुगीन व्यवस्थाका अवशेषहरूलाई २१औँ शदीको प्रतिस्पर्धात्मक र सिर्जनशील कालखण्डमा पनि चण्ड, अचण्ड भएर जण्ड हुँदै जुलुसको लर्कोमा हिँडेको देख्दा भावी समयको अराजकता द्वन्द्व र भिल्ल युद्धको साङ्केतिक पूर्वाभ्यास मजैले हुँदै छ ।
अर्वाचीन युरोपमा पापमोचनपत्र बेचेर धर्मको आडमा राजनीतिक सत्ताको सत्र पारेर जनतालाई अलपत्र बनाई खलपत्र लुड्याउने कथित धर्मभीरू पण्डाहरूले इशा मसिहजस्ता नायकलाई खलनायक बनाउनै आँटेर एकजना धर्मशास्त्रका ज्ञाता मारि्टन लुथरले आफ्नो हिम्मतलाई देखाए । खुल्ला चौर र चोकमा बेचिएका पापमोचनपत्र (एक डलर देऊ र जिन्दगी भरी गरेको पापबाट माफ लेऊ) भन्ने अर्थात् ढोँगी कागजलाई जलाएर चर्को प्रोटेस्ट गरेकैले प्रोटेस्टेन्ट सम्प्रदायमार्फत क्रिश्चियन धर्मको ध्वजा फहराइरहेको छ । धार्मिक अतिवादले देवदूतजस्ता गान्धीको भौतिक अस्तित्व समाप्त पार्‍यो । अहिले पनि ठाउँ-ठाउँमा धार्मिक उग्रपन्थले हिंसाको राइँ-दाइँ चलेको हाम्रा आँखै अगाडि छ ।
हो, धर्म ‘धृति: क्षमा दमो˜स्तेयं शौचमिन्दि्रय निग्रह:’ भन्ने सूत्रको पूर्ण आलोक हुनपर्छ । जहाँ धैर्य गम्भीर भई क्षमा मुस्कुराएर मनलाई कुर्कर्मबाट पर राखी चोर्ने बानी हटाई शारीरिक एवम् मानसिक शुद्धीकरणमा इन्दि्यहरूलाई नियन्त्रण गर्न सकिने एउटा सात्विक हिम्मत पल्लवित र पुष्पित भएको हुनुपर्छ । त्यसैले त बिहानै उठेर नित्य कर्म सिध्याई स्त्रोतरत्नावली पढ्ने, पाञ्चायनको पूजा गरेर बहुलवादप्रति आस्था प्रकट गर्ने, अनि सात्विक गुणका आहार गरेर बिहारको व्यवस्थालाई नियमितता दिने तालिका हाम्रा ऋषिप्रवरहरूले दिएका छन् । प्रभातकालीन पाञ्चायन पूजामा शङ्ख, घन्ट डमरु, झुर्मा बजाएर एकातिर घरबाट डरलाग्दा भाइरसहरूलाई इतितसत् गर्दै अर्कोतिर ध्वनि प्रदूषणविहीन बनाएर श्वास-प्रश्वास क्रियामा समेत सजीवता दिई मानसिक आल्हाद प्रदान गराइएको होला ।
भारतका नोवलिष्ट जगदीशचन्द्र बसुले त आफ्नो प्रयोगशालामा शङ्ख, घन्ट, डमरु बजाएर यिनीहरूको चमत्कारको वैज्ञानिक व्याख्या गरिदिएका छन् । भगवान् विष्णुले यही शङ्ख फुकेर डरलाग्दा दैत्यवादको दादलाई गतिलै इन्जेक्सन दिए । डमरु, घन्ट, शङ्खलगायतका यी बाजाभित्र एउटा सुन्दर कथाचित्र लुकेको छ । जसको उद्घोषले शत्रुसेनालाई चुनौती दिँदै आफ्ना रणवीरहरूलाई उत्साह प्रदान गर्ने गूढ तागत हुन्छ ।
विडम्बना † यतिखेर नेपालमा वाङ्मयको स्रोत ‘डमरु’ उद्बोधन, जागरण र आह्वानकै प्रतीक ‘शङ्ख’ कर्णप्रिय सूचनाको संवाहक घन्टालाई आ-आफ्नै रणनीतिअनुसार टन्टा, लन्ठा पार लगाउने डन्डा बनाएर कुपात्रहरूले फुक्दै हिँडेको देख्दा न्यायप्रेमीहरूका मन मस्तिष्क झसङ्गिन्छन् । आजको नेपालको कथित राजनीति यिनै सात्विक बाजा, स्वनामधन्य बाबाहरूका स्वरलहरी र भेषभूषाको मार्चमा क्रमश: तानिन थालेको छ । दक्षिणपन्थको आतिवादले धर्मलाई हतियार बनाएर राजनीतिमा मतियारहरू सिर्जना गर्ने त्रास घनीभूत हुँदै छ । उता ‘धर्म एक अफिम हो’ भन्ने दर्शनबाट अफिमचीसरह दीक्षा पाएकाहरू रातारात काला बाबा सेता महाराज र पहेँला अम्बरधारीसित खासखुस गरी कम्मर भाँचेर हरिकर्तिनमा छँटाएको देख्दा कम्युनिस्ट दर्शनका महापण्डित कार्लमाक्र्स आफ्नै चिहानबाट धिक्कार छेडिरहेका छन् भने माओ औंला ठाडो बनाएर आफ्नै वादमै अपवाद खडा गर्ने अफवादी बच्चाहरूलाई तेनमेन चोकमा निमन्त्रणा दिइरहेका छन् । मन्दिर, मन्त्र र शास्त्रलाई सत्ता, शासनतन्त्र र सस्त्रमा रूपायित गर्न कस्सिएका बासी विचार सिस्नोझैं सप्रिन आँटेको यो स्थिति देख्दा नयाँ शङ्खासुर, घन्टाकर्ण र भस्मासुरको उदय हुनत आँटेको होइन – खबरदार जनता हाम्रो पाञ्चजन्य अर्थात् शङ्ख, सूचनाको प्रतीक कर्णमधुर ध्वनि दिने घन्टा अनि वाङ्मयको अथाह सागर डमरुलाई बोकेर छद्मभेषीहरूले उल्टो यात्रा थाल्लान् – समयमै वास्तविक धर्मको ध्वजालाई उचालौँ । फैलँदो शङ्खघण्टवाद माथि यक्ष प्रश्नले चिन्तन-मनन गरौँ । खबरदार शङ्ख † होसियार घन्ट †