हृदयेन्द्र शाह एक इतिहास बोकेको परिवारका वंशज हुन् । तर उनी आफ्नो वर्तमानमा बाँच्न चाहन्छन्, आफ्नै आँखाले देश हेर्न चाहन्छन्, आफ्नो पुस्तासँग संवाद गर्न चाहन्छन् । यो सामान्य विषयलाई ‘राजतन्त्रको पुनरागमनको संकेत’ देख्नु, अमर्यादित टिप्पणी गर्नु, अराजनीतिक हौवा हो, जसको कुनै आधार छैन ।
✍ रश्मिशेखर सुवेदी
पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहको जुम्ला भ्रमण र त्यसलाई लिएर गरिएको टिप्पणीले फेरि पनि नेपाली राजनीतिमा गहिरो पूर्वाग्रह र असहिष्णुता झल्काएको छ । एक स्वतन्त्र नागरिकको रूपमा देशको विकट क्षेत्रको यात्रा, त्यहाँको अवस्था प्रत्यक्ष अवलोकन गर्ने प्रयास र आन्तरिक पर्यटनमा रम्ने कार्यलाई राजनीतिक व्यक्तिबाट फोहोरी टिप्पणी हुनु भनेको लोकतन्त्रप्रतिको गम्भीर अविश्वास भन्दा पनि चेतनाको ठूलो खडेरी हो ।
हृदयेन्द्र शाह कुनै राजनीतिक दलका कार्यकर्ता होइनन्, न उनी सार्वजनिक पदमा छन् न त कुनै घोषणासहित देश दौडाहामा छन् । उनी त नेपाली नागरिकको हैसियतमा जुम्ला भ्रमणमा पुगेको देखिएका हुन् । समाज बुझिरहेका होलान् ! राष्ट्रप्रति आफ्नो भावनात्मक सम्बन्ध स्थापित गरिरहेका होलान् ! तर कतिपय अतिवादी राजनीतिक घेराहरूले यस सामान्य गतिविधिलाई पनि ‘प्रतिगमनको पूर्वसंकेत’ भन्दै प्रचार गर्नु लोकतान्त्रिक चेतनाको दुर्बलतासँगै गम्भीर दुराशयको सङ्केत हो भने अर्कोतिर यसैलाई चटनी बनाएर राजनीतिक जिब्रो फटकार्नेहरुको पनि कमी छैन ।
नेपाली इतिहासमा समाजवादी क्रान्ति र कम्युनिष्ट आन्दोलनले केही चरणमा निकै चर्चा कमाएको हो । जसको लक्ष्य समतामूलक समाजको निर्माण नै थियो । ऐतिहासिक जनआन्दोलनले गणतान्त्रिक शासन व्यवस्थाको स्थापना पनि गऱ्यो । तर, संस्थागत गर्नुपर्ने बेलामा आज पनि तिनै कतिपय पार्टी र नेताहरू पूर्वराजसंस्था, पश्चिमा राष्ट्र र वैचारिक प्रतिद्वन्द्वीहरूलाई निरन्तर शत्रु ठानिरहने संकीर्णतामा अल्झिरहेका छन् । विडम्बना त के छ भने जनताको नाममा साम्राज्यवादविरोधी भाषण दिने, अमेरिका वा बेलायतलाई ‘पुँजीवादी दलाल’ भन्नेहरु नै आज आफ्ना सन्तानहरूलाई तिनै राष्ट्रमा उच्च शिक्षाका नाममा स्थायी बसोबासको बाटोमा धकेलिरहेका छन् । र, आफू पनि तिनै मुलुकहरूमा ‘तेल भिसा’मा रमाइरहेका दृश्यहरु देखिन्छन् । यसको पछाडि कतै त्यही ‘दलाल पुँजीवाद’को आकर्षण त छैन ?
यो विरोधाभास केवल वैचारिक असमानता होइन, नैतिक विचलन हो । ‘मलाई चैँ हेर तर मेरो व्यवहार हेर्न पाइन्न’ भन्ने दोहोरो मापदण्डले नै आज नेपाली राजनीतिमा नैराश्यता, विसङ्गति र अविश्वासको वातावरण फैलिएको छ । जनताको नाममा राजनीति गर्ने, गणतन्त्रको रक्षा भन्दै भाषण दिने तर व्यवहारमा लोकतन्त्रको मूल मर्म सहिष्णुता, विवेक र सार्वजनिक सम्मानलाई पाखण्डको रूपमा लिने प्रवृत्तिले देशको भविष्य नै अन्योलमा पारिरहेको छ।
एक समय थियो जब राजसंस्थाले सत्तामा निरंकुशता देखायो । जनताले त्यसको प्रतिरोध गरे । त्यो प्रतिरोध जनताको आन्दोलन थियो । तर, आन्दोलन सफल भएपश्चात सत्ताको केन्द्रमा पुगेका नेताहरूसँग गरिएका आशा, भरोसा र अपेक्षा क्रमश: नैराश्यतामा परिणत हुँदै गएको अनुभूति गरिरहेछन् तिनै जनताले । सत्तामा पुगेपछि नेताहरुको व्यवहार निरंकुश बन्दै गयो । जनतालाई सुन्ने संयम हरायो । असहमतिहरूलाई गाली गरिने, धम्की दिने, लाञ्छना लगाउने संस्कृति मौलायो। अहिले त यस्तो अवस्थासम्म आइपुगेकोछ, जहाँ एउटा युवाले देश घुम्न निस्कनु पनि कसैका लागि खतराको सङ्केत बन्न पुग्छ !
हृदयन्द्रको नाम र वंशजका आधारमा ‘शत्रु’ ठान्नु भनेको अलोकतान्त्रिक सोच हो । उनका बाबु, बाजे, जिजुबाजेहरुले गरेका नराम्रा कर्महरूको दोषको भारी उनलाई बोकाउनु र त्यही दृष्टिकोणबाट मूल्यांकन गर्नु एउटा युवाको निर्दोषितामाथि न्यायसंगत हुँदैन ।
हृदयेन्द्र शाहको भ्रमण कुनै औपचारिक या शासकीय भ्रमण थिएन । उनले बोलेका कुरा कुनै भाषण या सत्ता परिवर्तनको विषय र आशयका पनि थिएनन्। नेपालको एक सामान्य नागरिक भएर जुम्ला पुगेका थिए उनी । उनले जनजीवन अध्ययन गर्ने, समस्या अनुभूत गर्ने, देशको दुर्गमता र सौन्दर्यतालाई सामाजिक सञ्जालमा सबैले राखे झैं राख्न मन गरे । यही कुरा असह्य बन्नु, यसैबाट त्रसित बन्नु भनेको लोकतन्त्रमाथि ठूलो अविश्वास हो ।
लोकतन्त्र केवल शासन प्रणाली होइन, यो आचरण हो, व्यवहार हो, दृष्टिकोण हो । लोकतन्त्र असहमतिको सम्मान गर्न जान्दछ । जो भिन्न देखिन्छ, जो विरोधी देखिन्छ, उसलाई निषेध गर्ने होइन, उसलाई पनि स्थान दिने नाम हो लोकतन्त्र । तर नेपालको विडम्बना के हो भने- हामीले सत्ता बदलेका छौं, व्यवस्था बदलेका छौं, तर मानसिकता पुरानै निरंकुश छ, कट्टर छ, हिंस्रक छ।
हृदयेन्द्र शाह एक इतिहास बोकेको परिवारका वंशज हुन् । तर उनी आफ्नो वर्तमानमा बाँच्न चाहन्छन्, आफ्नै आँखाले देश हेर्न चाहन्छन्, आफ्नो पुस्तासँग संवाद गर्न चाहन्छन् । यो सामान्य विषयलाई ‘राजतन्त्रको पुनरागमनको संकेत’ देख्नु, अमर्यादित टिप्पणी गर्नु, अराजनीतिक हौवा हो, जसको कुनै आधार छैन । बरु यस्तो हौवा फैलाउनु तिनै नेताहरूको रणनीति हुन सक्छ जो जनतासँग गुमाएको भरोसा यस्तै भावनात्मक डर देखाएर पुनः प्राप्त गर्न चाहन्छन् ।
वास्तविक लोकतान्त्रिक चेतना भनेको आफ्ना विचारमा विश्वास राख्ने तर अर्काको उपस्थितिलाई स्वीकार गर्ने क्षमता हो । आज हामीकहाँ त्यो चेतना छैन । हामीले गणतन्त्र निर्माण गऱ्यौँ, तर गणतन्त्रप्रतिको धैर्य विकास गर्न सकेनौ । हामीले राजसंस्थालाई संविधानबाट हटायौं, तर राजसंस्थासँग जोडिएको प्रत्येक गतिविधिमा षड्यन्त्र देख्ने रोगबाट मुक्त हुन सकेनौं ।
हिजो जसरी राजतन्त्र निरंकुश हुँदै गयो र अन्ततः समाप्त भयो, यदि आजको गणतन्त्र पनि त्यही घृणा, हिंसा र दम्भको बाटोमा हिँड्ने हो भने यसको पनि अस्तित्व गुम्न सक्छ । लोकतन्त्र बचाइराख्न हाम्रा विचार, ब्यवहार, सोच र आचरण पनि लोकतान्त्रिक हुनु आवश्यक छ ।
नेपाल एउटा परिपक्व गणतन्त्रात्मक मुलुक बन्ने यात्रामा छ । यो यात्रामा भूतपूर्व सत्ताका प्रतिनिधिहरू, क्रान्तिकारी नेताहरू, नयाँ पुस्ता र चेतनशील नागरिक सबैले आ-आफ्नो भूमिका खेल्नुपर्छ । कुनै पनि व्यक्तिको विगतभन्दा उसको वर्तमान कत्तिको उत्तरदायी छ भन्ने कुरामा समाजले मूल्याङ्कन गर्नुपर्छ । यदि हृदयेन्द्र शाह भविष्यमा कुनै राजनीतिक महत्वाकाङ्क्षा राख्छन् भने त्यसलाई तिनै मूल्य, नैतिकता र जनसमर्थनको कसीमा जाँच गर्न सकिन्छ । तर केवल उनको नाम र वंशजका आधारमा ‘शत्रु’ ठान्नु भनेको अलोकतान्त्रिक सोच हो । उनका बाबु,बाजे, जिजु बाजेहरुले गरेका नराम्रा कर्महरूको दोषको भारी उनलाई बोकाउनु र त्यही दृष्टिकोणबाट मूल्यांकन गर्नु एउटा युवाको निर्दोशितामाथि न्यायसंगत हुँदैन ।
हामीले हिजो राजतन्त्र अन्त्य गऱ्यौँ, जनताको नाममा व्यवस्था परिवर्तन गऱ्यौँ, सुन्दर समाज निर्माणका लागि । त्यो विचार आज पनि हाम्रो लक्ष्य हुनुपर्छ । जनताको पक्षमा व्यवस्था हुन सुधार, न्याय, समावेशीता र विवेकयुक्त राजनीतिक व्यवहारको खाँचो हुन्छ । तर जब आफ्नै व्यवहार कट्टरपन्थी हुन्छ, विचार आक्रामक हुन्छ र प्रतिपक्षको उपस्थितिलाई शत्रु ठानिन्छ, तब लोकतन्त्रको आदर्श केवल नारामा सीमित हुन्छ।
हिजो जसरी राजतन्त्र निरंकुश हुँदै गयो र अन्ततः समाप्त भयो, यदि आजको गणतन्त्र पनि त्यही घृणा, हिंसा र दम्भको बाटोमा हिँड्ने हो भने यसको पनि अस्तित्व गुम्न सक्छ । लोकतन्त्र बचाइराख्न हाम्रा विचार, ब्यवहार, सोच र आचरण पनि लोकतान्त्रिक हुनु आवश्यक छ ।
प्रतिक्रिया