भोटेकुकुरको छाउरो- हृदु !

भोटेकुकुरको छाउरो- हृदु !


श्रृष्टिको उत्पत्ति कालदेखि नै मानव समाजको विकासक्रम चल्दै गयो । पाषाण युग जंगली युग ढुङ्गे युगहुँदै अनेक युग चले । शुरुवाती युगमा मानव-समाजमा मत्स्यन्यायको बोलवाला रह्यो । उसबेला ठुलाले सानालाई अर्थात् बलियोले कमजोरलाई थिचोमिचो गर्ने, दबाउने र समग्र समुहलाई नियन्त्रण गर्दै समाजलाई व्यवस्थित बनाइएको थियो भन्ने अध्ययनले देखाउँछ । जहाँ जंगली तथा बाह्य आक्रमणलाई मान्छेले समूह बनाएर भिड्दै परास्त गर्न पनि थाले । आफ्नो आवश्यकता पुर्ति गर्न समुहमा खेतिपाति उब्जनी गर्न थाले । यसकै विकसित रूप मानिस आपसमा मिलेर समुह बनाएर बस्न थाल्यो । त्यही समुह नै गाउँ, क्षेत्र, राज्यहुँदै देशको रूपमा रुपान्तरण हुँदै गयो ।

यसो गर्दा मानिसले सुरक्षित महसूस गर्न थाले । मानिस चेतनशील र विवेकशील भएकाले हरेक कुरालाई सुप्रबन्ध गर्दै समाजमा रमाएर ढुक्कले जीवनयापन गर्न थाल्यो । त्यतिबेलाको हरेक गाउँ-समाजमा रामराज्य कायम रहेको थियो भन्दा फरक पर्दैन । त्यस्तो रामराज्यमा चोरीचकारी केही हुँदैनथ्यो । घरमा तालाचाबी केहि लगाउनु पर्दैनथ्यो । केही कोही-कसैको कसैलाई डर÷भय थिएन । मुद्रा पैसा भन्ने के हो थाहै थिएन, अर्थात् नगद धनसम्पत्तिको प्रचलनै थिएन । बस्तुविनिमयका आधारमा आफ्ना आवश्यकता खाँचो टर्दो हो । यस्तो समाज व्यवस्थामा सुख-शान्ति अमनचयन कायम हुँदो हो भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

तर, समयक्रममा नगद मुद्राको आविष्कार भएपछि अल्छिपनाले ढेप्दै लगेर मान्छेमा पापीमनको बास हुन थाल्यो, जसले गर्दा काम गर्नुभन्दा द्रब्य संकलन गर्न थालियो । यही आर्थिक जोहो गर्ने प्रवृत्ति नै समाजमा विभेद, कलह वा झैझगडा, उचनीच जस्ता विवाद उत्पन्न गर्ने माध्यम बन्यो । परिणामतः सामाजिक शान्ति सु-व्यवस्था खल्बलिन पुगी समाजमा हत्याहिंसा र चोरीचकारीले प्रश्रय पायो र, पुनः बलियोले नै समाज कब्जा गर्न बाध्य पारियो । क्रमशः सुरक्षाका उपायका खोजी हुन थाले । यसकै उपज राजा, मन्त्री, सेना, प्रहरी निर्माण भए । अर्थात् ‘राजनीति’ शुरु भयो । यही राजनीतिले समाज जक्डिँदै–जक्डिँदै आजको अवस्थामा विश्व-समाज देखापरेको हो ।

राजनीति जन्मनुपूर्व घरको चौघेरा सुरक्षाका लागि चौकिदार भन्दा कुकुरले बफादारीपूर्वक सुरक्षा गर्थ्यो । कुकुरमा पनि भोटेकुकुर एक नम्बरमा गनिन्थ्यो । सुरक्षाका लागि भित्रबाट ढोकामा आग्लो (एक प्रकारको काठे चुक्कुल) लगाउनुका साथै भोटेताल्चा घरको ढोकामा झुण्डिन्थ्यो । भोटेकुकुरले आँगनमा बसेर घरको सुरक्षा गर्थ्यो । भोटे कुकुरले मान्छे धपाउने त कुरा छोडौँ – बाघ भालु चितुवालाई नै मारिदिन्थ्यो । अहिले पनि एकलास गाउँको त कुरै भएन शहरका ठुलठुला महल र हवेलीमा यही भोटेकुकुरले मालिकको रखवारी गर्छ । भलै, कुकुरै नपालेको भएपनि ‘कुकुरदेखि सावधान’ लेखेर ढुक्क भएका हुन्छन् मान्छे ! यो हो भोटेकुकुरको महत्व !

माउ भोटेकुकुरले घरको रखबारी गरिरहेको थियो । घर-समाज ढुक्कले रमाएर बसेको थियो । घरमा धन सम्पत्ति हिरा जवाहरत मनग्य थियो । घरको सम्पूर्ण कुराको रेखदेख भोटेकुकुरले नै गर्थ्यो । आफ्ना सारा परिवार निर्धक्कले धाक रवाफ लगाउँदै स्वाभिमानका साथ रमाएर बाँचिरहेका हुन्थे । छरछिमेकीहरू यो घरको उत्पत्तिकालदेखिको स्वतन्त्रता देखेर खपिनसक्नु इर्ष्या-डाहा गर्थे । मिलेर बसेको रमणीय सिंगो घरलाई दुश्मनहरू काँच्चै खान खोज्थे तर माउ भोटेकुकुरले शत्रुका कर्के नजर देख्नासाथै लखेट्थ्यो । भोटेकुकुरको तागत र चलाखीबाट आजित दुश्मनहरू भोटेकुकुरलाई सिद्ध्याउन ग्र्याण्ड डिजाइनहरू बनाइरहे । घरमा मेलमिलाप र एकता रहुञ्जेल त्यस्ता लुते ग्र्याण्ड डिजाइनहरू भुत्ते हुँदै लुप्त हुन्थे । भोटेकुकुरका सामुन्ने डिजाइनरहरू आँखा जुधाउन पनि सक्दैनथे । अर्थात्, जबसम्म भोटेकुकुर आँगनमा नाच्थ्यो त्यस्ता जाबा दुश्मनका ग्र्याण्ड डिजाइन पुच्छर लुकाएर भाग्थे ।

दुश्मनले विभीषणहरूलाई हातपार्न अनेक प्रयासहरू गर्न थाले । घरभित्रको एकतामा खलल पुऱ्याउन थाले । अर्थात् कसैगरि भोटेकुकुरलाई परास्त गर्न नसकेका दुश्मनहरू भोटेकुकुरकै घरमा विभीषणको खोजीमा लागे । भोटेकुकुरले घरभित्रै विभीषणहरूको जन्म भइसकेको छ भन्ने चालै पाएन । आफ्नै सन्तानले आफ्नै घरबारविरुद्ध शत्रुसँग साँठगाँठ गर्न थालेको भोटेकुकुरलाई थाहै भएन । भोटेकुकुरकै सामुन्ने दुश्मनहरू आउजाउ गर्न थाले । यसोगर्दा घरभित्रको सर्वस्व दुश्मनले थाहा पाइसकेको थियो । दुश्मनले कुलाङ्गार विभीषणलाई यो कुकुरलाई ठेगान लगाउन हामीलाई सहयोग गर, पछि तैंलाई घरको मालिक बनाइदिन्छु भन्दै मख्ख बनायो । विभीषणहरू दुश्मनका पछि लागे र भोटेकुकुरलाई समाप्त पारे । यिनले घर सम्हालेपछि यो घरको अवस्था के छ जगजाहेर छ ।

स्वाभिमानी भोटे कुकुरका मित्रहरू सदैव मित्रवतरूपमा आँगनमा आउँथे बस्थे । यही भोटे कुकुरले घरको मात्र नभइ सारा गाउँ र गाउँलेको मात्र होइन, अरु हितैषीको पनि रक्षा गर्थ्यो । सारा गाउँलेहरू भोटे कुकुरलाई साथ दिन्थे । कतै बाह्य दुश्मनले परैबाट आँखा लगायो भने कुकुरलाई जनाउ दिन्थे । कुकुरले ह्वाउँ गरेर गर्जंदाबित्तिकै परैबाट पराइहरू कुलेलम ठोक्थे । यो थाहा पाएर कुकुर हरदम झनै चनाखो भएर रहन्थ्यो । तर, वरपरका दुश्मनहरू भोटेकुकुर देखेर डाह गर्थे । त्यो कुकुरलाई मार्न पाए त्यो घर-गाउँको सबै लुट्न पाइन्थ्यो र हामीले रजाइँ गर्न पाइन्थ्यो भन्ने पाप बारम्बार दुश्मनको मनमा व्याप्त थियो । गाउँलेले दुश्मनको अभीष्ट थाहा पाएर भोटेकुकुरलाई जानकारी दिन्थे । यो जानकारी पाएर भोटेकुकुर रातदिन जागा रहन्थ्यो । आफ्नो घर-परिवार र समाजको रक्षार्थ ज्यानको पर्वाह गर्दैनथ्यो । बाघ-भालुलाई नटेर्ने भोटेकुकुरले जाबा परका दुश्मनलाई के गन्थ्यो ! अच्छ्युँ खाएँ बिच्छ्युँ खाएँ झुसे बारुला ! त्यस्तासँग ऊ कहिल्यै डगेन । उसको साहस र बहादुरी देखेर दुश्मनहरू संधै हार खाइरहे !

तर दुर्भाग्य ! घरको भेदी देशको चोर ! घरका दुश्मन घरमै जन्मे ! भनिन्छ नि- हे ईश्वर दुश्मनहरूसँग लड्न म एक्लै काफी छु तर आफ्नैबाट मलाई बचाउ ! यो लोकोक्ति भोटेकुकुरलाई पनि थाहा थियो । त्यस्तै आफ्नैले भोटेकुकुरलाई धोका दिए । घरमै विभीषणहरू जन्मन थाले । आफ्नै भाइ दुश्मनसँग मिलेपछि राबणले गर्ने के ! राबणको नाभीमा भएको अग्नि केवल विभीषणलाई मात्र थाहा थियो । त्यो अग्नि समन नगरेसम्म राबणको पराजय असम्भव थियो । विभीषणले यो गुह्य दुश्मनलाई थाहा दिएपछि बल्ल अग्न्यास्त्रको प्रहारद्वारा राबण ढलेको थियो । यसैगरी हाम्रो प्रिय भोटेकुकुर पनि दुश्मनसँग मिलेर ढलाइयो । माउ ढलेपनि धन्न छाउरो बाँचेर देखापरेको छ ! दुश्मनका मतियारहरूलाई छाउराले पक्कै चिनेको हुनुपर्छ । एकदिन माउ खाने दुश्मनका मतियारहरूलाई छाउराले माउ बनेर अवश्य ठेगान लगाउने विश्वास गर्न सकिन्छ !

ए ! देशका दुश्मन छौँडाछौँडी हो…, भोटेकुकुर जहाँतहीँ पाइँदैन ! हिमाली भेगमा मात्रै पाइन्छ । अझ कर्णालीमा पाइने भोटेकुकुरको छाउरोलाई अब्बल मानिन्छ । रारा र फोक्सुण्डो तालको कञ्चन चीसो पानी खाएर हुर्केको भोटेकुकुर त गोरखनाथले दिएर दहीखाने भन्दा शक्तिशालि हुन्छ । यार्सागुम्वाको जीवनबुटीले बनेको तिख्खर तीक्ष्ण र सौर्यवान् हुन्छ । आफ्नै घरलाई नरक बनाउने दुश्मनका हड्डी दोब्ऱ्याउने तागत र कला उसँग हुन्छ । देखेनौ त्यहाँ … दुश्मनले माउलाई किनारा लगाएपनि छाउरो भोटेकुकुर कर्णालीको थुम्कोमा आफ्नो घरको रखबारी गर्न सगरमाथा झैँ ठिङ्ग उभिएको ?!

दुश्मनको पछि लागेर ऐश-आराम गर्दै मिठो-मिठो खाएर बसेकाहरू भोटेकुकुरको छाउरो देखेर अत्तालिएका छन् । माउ भोटेकुकुर हराएर शोकाउँदै विरक्तिएको घरमा कर्णालीमा भोटेकुकुरको छाउरोले शीर ठाडो गरेको देखेर घरको वातावरण जाज्वल्यमान बनेको छ । भोटेकुकुरको घरमा हर्षबढाइँ छाएको छ । कर्णालीमा जान सहज छैन तर त्यहीँकी एउटी छौंडीले भोटेकुकुरको छाउरो गाउँ-गाउँ बस्ती-बस्तीमा घुम्दै रखबारी गर्दै गरेको थाहा पाएर उसको निंद हराम भएछ !

छौँडाछौँडीहरूको निंद हराम नै होस् ! कर्णालीमा झुल्केको छाउरो लरतरो र लुते छैन, भनेकै छौ यो भोटेकुकुरको छाउरो हो ! बुझिराख, अब पराईहरू र पराईको हजुरी र दलाली गरेर बाँचेका विभीषणहरूको नष्ट गर्न भोटेकुकुरको छाउरो आएको छ ! छौँडाछौँडीहरू जे-जे गर्नु थियो गरिसक्यौ… अब तिम्रा दिन गए ! भोटेकुकुरको छाउरालाई सम्मान गर यसैमा तिम्रो र हाम्रो घरको भलो हुनेछ, बुझ्यौ छौँडाछौँडी हो ?

घरभित्रको भण्डार बिघ्न पारेर सबै ढुकुटी विभीषणहरूले सकिसक्यौ । अझै कति बिघ्न पार्छौ ? तिम्रा सान-मानका लागि पुस्तौँपुस्ताका लागि जोहो गरिसक्यौ । घरका प्यारा छोराछोरी अर्काको घरमा धपाउन थाल्यौ । कतिको उतै जीवनलीला समाप्त भए । अर्काको घरबाट बन्दबाकसमा आउने मृत सन्तानहरू देखेर घरका सदस्यहरूले आँशुको नदी बगाएको धेरै भैसक्यो । हो, यस्तै देखेर भोटेकुकुरको छाउरोले जुम्लाबाट पृथ्वीनारायण शाहले झैँ औंलो ठड्याएको छ । दुनियाँको सामु मानसम्मान र प्रतिष्ठाले ऊँचो बनेको घर आज आएर ‘छिःछिः’मा परिणत गर्नेहरूलाई तह लगाउने छाँट यही छाउराको औंलाले सङ्केत गरेको छ । छाउरो तन्नेरी र परिपक्व हुन त देउ.. तिम्रा दुर्दशा बल्ल देखिन्छ ! माउ भोटेकुकुर खाने तिमीहरूको पनि हविगत सबै देखिइसकेको छ । अरुलाई खाने बाघले तिम्लाई राख्ला ? हेर्दै जाऊ ! तर त्यो भोटेकुकुरको छाउराको नाम के हो थाहा छ ? थाहा छैन भने जानीराख – ‘श्री ५ हृदयन्द्र वीर विक्रम शाह हो !’ छोटकरीमा मायालु भाषामा भन्नुपर्दा उसको नाम ‘हृदु’ हो हृदु ! सबैलाई चेतना भया ! श्री ॐ प्रभु !!

  • फ्लोरिडा (अमेरिका)बाट